logo-img

सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति महासंघको असहमति

काठमाडाैं– नेपाल पत्रकार महासंघले संघीय संसद्को राष्ट्रिय सभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ।

महासंघले लोकतन्त्रमा सरकार आफैंले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी मान्यता एवम् सार्वजनिक सेवा प्रसारणका आधारभूत सिद्धान्तविपरीत सरकारी स्वामित्व र नियन्त्रणमा राख्ने प्रस्तावसहित यही असार २६ गते सरकारले दर्ता गरेको विधेयकप्रति असहमति जनाएको हो।

महासंघले आज विज्ञप्ति जारी गरी सुझावका रूपमा प्रस्तुत गरेको विधेयक मस्यौदालाई पूरै बेवास्ता गरी सरकारले सरोकार पक्षसँग छलफल र सहमति बिना संसदमा दर्ता गरेको उक्त विधेयकमा व्यापक सुधार र परिमार्जन गरेर मात्रै अघि बढाउनसमेत माग गरेको छ।



यही असार १४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सरकारलाई महासंघ आफैंले तयार गरेको नेपाल सार्वजनिक सेवा प्रसारण विधेयकको नमूना मस्यौदा हस्तान्तरण गरेको थियो। 

सरकारले यसअघि पटकपटक सरकारी स्वामित्वमा रहेका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारी स्वामित्वबाट अलग गरी जनताको स्वामित्व कायम गर्ने तथा संघीय संसद्प्रति जवाफदेही हुने गरी सार्वजनिक सेवा प्रसारणका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो।

प्रस्तुत विधेयकमा नाम सार्वजनिक सेवा प्रसारण राखिए पनि त्यसको परिभाषा, गठन विधि, उद्देश्य, संरचना, नियुक्ति प्रक्रिया, प्रतिनिधित्व तथा काम कर्तव्य अधिकारलगायत उल्लिखित धेरै प्रावधानहरूले सार्वजनिक सेवा प्रसारणका मान्यतालाई अंगीकार गर्न नसकेको महासंघकाे ठहर छ।



विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा भएका प्रावधानले अहिले सरकारी स्वामित्वमा सञ्चालित रेडियो नेपाल र नेपाल टेलिभिजनलाई थप सरकारी नियन्त्रण कायम राख्ने र सरकारप्रति अझ बढी बफादार बनाउन खोजेको देखिन्छ, सरकारका मन्त्री वा राज्यमन्त्री सार्वजनिक सेवा प्रसारण परिषद्को अध्यक्ष हुने, सचिव र सरकारले नियुक्ति गरेका व्यक्तिहरू सदस्य रहने, सेवा प्रसारणलाई नेपाल सरकारले निर्देशन दिने तथा नेपाल सरकारले नियम बनाउनेलगायतका प्रावधानले सरकार प्रसारण माध्यममा थप नियन्त्रण कायम गर्न चाहन्छ भन्ने स्पष्ट हुन्छ।’



  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २१:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया