इस्लाममाथि फ्रेन्च राष्ट्रपतिको टिप्पणी, विभिन्न देशले बनाए उनलाई 'निशाना'

फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोनविरुद्ध अब विश्वका विभिन्न देशमा आलोचनात्मक टिप्पणी हुन थालेको छ । केही देशहरुमा उनको विरुद्धमा प्रदर्शन समेत हुन थालेको छ । 

पैगेम्बर मोहम्मदको विवादित कार्टुन देखाउनले निर्णयको बचाव गरेका कारण अब अरब देशमा म्याक्रोनको खुलेर आलोचना हुन थालेको हो । 

सोमबार पाकिस्तान तथा इरानको संसदमा पनि एउटा प्रस्ताव पारित गरिएको छ जसले म्याक्रोनको खुलेर आलोचना गरेको छ । कतिसम्म भने पाकिस्तानले त फ्रान्सबाट आफ्ना राजदूत फिर्ता बोलाउने समेत भएको छ ।

उता, इरानको संसदले अभिव्यक्ति स्वतन्त्रताको नाममा पैगम्बर मोहम्मदको अपमान फ्रेन्च सरकारले गरेको भन्दै निन्दा गरेको मात्र होइन, यसमाथि आवाजसमेत उठाएको छ । 

पछिल्ला दिन फ्रेन्च राष्ट्रपति इमयानुएलले मोहम्मदको कार्टुन बनाउने र देखाउने एक फ्रेन्च शिक्षकको निर्णयलाई समर्थन गरेका थिए । स्यामुएल पेटी नामका यी शिक्षकको पछि हत्या गरिएको थियो । यसपछि फ्रान्समा निकै ठूला आन्दोलन यो विषयमा सुरु भएका छन् । 

शिक्षकमाथिको त्यो आक्रमणमलाई इम्यानुएलले इस्लामिक आतंकवादी आक्रमण मात्र भनेका थिएनन्, यसले इस्लामलाई अब संकटमा पुर्याउने पनि बताएका थिए । 



त्यसपछि फ्रान्समा थप आन्दोलनका कार्यक्रमहरु अगाडि आएका छन् । 

फ्रान्समा पछिल्ला दिन विभिन्न संगठनले आन्दोलन गर्न थालेपछि त्यहाँको सरकारले ती संगठनविरुद्ध कडा कदम अपनाउन थालेको छ । 



एकातिर इम्यानुएलको अभिव्यक्तिको विरोध फ्रान्समा नै हुन थालेको छ भने अर्कोतिर उनको विरोधमा विभिन्न देशहरुले पनि विरोध प्रदर्शन गर्न थालेका छन् । 

बंगलादेशको राजधानी ढाकामा समेत मंगलबार ठूलो संख्यामा म्याक्रोनको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार हजारौँ मानिसहरुले फ्रान्सका सामानको बहिस्कारको माग गरेका छन्, इम्यानुएलको पुतला जलाइएको छ । टर्कीले पनि अब फ्रान्सका सामानहरु तथा उत्पादनलाई बहिस्कार गर्ने निर्णय गरेको छ । 

टर्कीका राष्ट्रपतिले समेत फ्रान्सले इस्लाममाथि दमन गर्ने हो भने फ्रान्सका सामान तथा उत्पादन बहिस्कार गर्नु नै उचित भएको टिप्पणी गरेका छन् । 
 

इरानी संसदको तर्फबाट जारी गरिएको विज्ञप्तिमा पनि फ्रेन्च राष्ट्रपतिको यो अभिव्यक्ति ठूलो षडयन्त्रको हिस्सा भएको र यसले इस्लामप्रतिको आकर्षण रोक्न खोजिएको भन्दै यसको विरोध गरेको छ । मोहम्मदको अपमानविरुद्ध आफूहरु एक हुने पनि बताइएको छ । 

इरानको विदेश मन्त्रलायले फ्रेन्च कूटनीतिज्ञलाई बोलाएर यसबारे स्पष्टिकरण सोधेका छन् । पाकिस्तानले पनि त्यहाँ रहेका फ्रेन्च कुटनीतिज्ञलाई बोलाएर यसबारे आफ्नो असन्तुष्टि दर्शाएको मात्र छैन, राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । 

पूरै विश्वलाई म्याक्रोनविरुद्ध उतारेको यो घटना चाहिँ के हो त ? 

फ्रान्सको व्यंग्य पत्रिका चार्ली एब्डोले सन् २००६ देखि बारम्बार पैगम्बर मोहम्मदको कार्टुन छापिरहेको छ । तर, यसपटक यस्तै कार्टुनका कारण निकै ठूलो विरोध भएको छ । सन् २०१५ मा बन्दकुधारीले चार्ली एब्डोको कार्यालयमा आक्रमणसमेत गरेका थिए । त्यति बेला त्यहाँ कार्यरत १२ जना मारिएका थिए ।

यो घटनामा अहिले पनि विभिन्न मुद्दा चलिरहेको छ । यसपटक सेप्टेम्बरमा फेरि चार्ली एब्डोले पैगम्बर मोहम्मदको कार्टुन छाप्ने फैसला गरेको थियो । 

त्यही महिना फेरि यो पत्रिकाको कार्यालयनजिकै आक्रमण भयो । आक्रमणमा दुई जना गम्भीर घाइते भए । 

१६ अक्टोबरमा स्यामुएल पेटी नामका एक शिक्षकको हत्या गरियो । पेटीले पैगम्बर मोहम्मदको एक विवादास्पद कार्टुन देखाएका थिए । 

उनको हत्यापछि म्याक्रोनले कट्टरवादी इस्लामविरुद्ध कडा हुने र देशमा धर्मनिरपेक्षताको रक्षा गर्ने बताएका थिए ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १६:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया