logo-img

‘स्वाधीन मधेस जनअभियान’ को उद्घोष

डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएका प्रभावशाली नेता कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’को उद्घोष गरेका छन् ।

जनकपुरमा आइतबार पत्रकार सम्मेलन गरी नेता महतोले जनअभियानको उद्घोष गरेका हुन् । अलग मधेस देशका लागि संघर्ष गर्दा पटक–पटक मुद्दा झेलेका उनले अब नेपालभित्रै स्वतन्त्रता खोजिने बताएका छन् ।

‘स्वतन्त्रता भनेको भूमिको स्वतन्त्रता होइन’, उनले भने, ‘मधेसी जनतामाथि राज्यद्वारा लादिएको दोहन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार र अनियमितताबाट हुने पूर्ण मुक्ति नै स्वतन्त्रता हो । मधेसले चाहेको सोही मुक्ति र स्वतन्त्रतालाई मधेसी जनताले स्वाधीनता मानेको छ ।’

‘स्वाधीन मधेस जनअभियान’ एक स्वतन्त्र राजनीतिक अभियान भएको भन्दै यसले राष्ट्र (जनता) मुक्तिको वकालत गर्ने बताए । उनले भने, ‘यो अभियान एक बौद्धिक, वैचारिक र भौतिक आन्दोलन पनि हो ।’ मधेससँग राज्यले विभिन्न समयमा गरेको सम्झौताको कार्यान्वयन र मधेसका लागि गद्दार गरेकाहरूको भण्डाफोर यो अभियानले गर्ने उनको भनाइ छ ।

संयोजक महतोले काठमाडौं र मधेसबीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने सहितका ५० बुँदे राजनीतिक अवधारणा समेत सार्वजनिक गरेका हुन् । मधेसको जल, जंगल र जमिनको रक्षा तथा पर्यावरणको सुरक्षा गर्नुपर्ने माग समेत गरेका छन् ।

राजनीतिक अवधारणामा राजनीतिकर्मीका लागि उमेर हदको सीमा लागु गर्नुपर्ने, देश वैदेशिक ऋण मुक्त हुनुपर्ने, कृषिको व्यावसायीकरण तथा हरेक घरमा कम्तीमा एक जनालाई रोजगारको व्यवस्था गर्नुपर्ने सहितका मुद्दा समेटिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १८:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया