दुवै खुट्टा चल्दैनन् तर बेगमा दौडिरहेका छन् बेगबहादुर
फरकधार / २८ मंसिर, २०७७

बेगबहादुर तामाङ जन्मिएको नौ महिनासम्म ‘सामान्य’ थिए । घरमा दोस्रो सन्तानको आगमनले परिवारमा खुसियालीको माहोल थियो । उनका बाबुआमा सन्तान प्राप्तिले दिएको सुखको रसास्वादन गरिरहेका थिए । 



नौ महिनापछि ?

उनलाई एक दिन राति हनहनी ज्वरो आयो । बिहानसम्म दुवै खुट्टा चल्न छाडे । छोराको अवस्था देखेर आत्तिएको परिवार उपचारका लागि खोजखबर गर्न थाल्यो । 

उनी जन्मेको ठाउँ र समाजमा न त अस्पताल थियो न त बिरामी भएपछि अस्पताल लग्नुपर्छ भन्ने चेतना नै । त्यसैले, परिवारले धामीझाँक्रीलाई बोलाएर उपचार सुरु गर्यो । धामीले भनेबमोजिम कुखुरा चढाइयो । एकपछि अर्को गर्दै धामीझाँक्रीलाई बोलाएर पूजापाठ गरियो । तर, उनको अवस्था ज्युँका त्युँ रह्यो ।



यही सिलसिलामा तीन वर्ष बिते ।

‘बाबुआमालाई यसको भाग्य नै यस्तो हो लाग्यो होला ।’ केही दिनअघि ललितपुर महालक्ष्मीस्थानस्थित उनकै डेरामा भएको कुराकानीमा बेग २४ वर्षअघि फर्किए । बेग विसं २०५४ सालमा धादिङको तत्कालीन नेत्रवती गाविसमा जन्मिएका हुन् ।

छोराका खुट्टा नचले पनि परिवारले उनको जीवन रथलाई धकेल्न कहिल्यै छाडेन, परिवारले हसरसम्भव साथ दियो । बाबुआमाले उनलाई अरु सन्तानलाई झैँ समान व्यवहार गरे । अझ विशेष माया पनि । आफ्ना भाइबहिनीसँगै उनी स्कुल जान थाले ।

उनलाई भाइबहिनीसँँगै स्कुल भर्ना गरियो । उनलाई स्कुल जान सहज भने हुँदैनथ्यो । आउन–जान दैनिक ४ किलोमिटर घिस्रिनु पर्थ्यो । तर, उनमा पढाइप्रतिको भोक कति थियो भने हरेक दिन २ घण्टा घिस्ररै स्कुल जानु परे पनि त्यसलाई सहजै लिए ।

कक्षामा उनी मेधावी विद्यार्थी थिए । सधैं प्रथम हुन्थे । पढाइमा राम्रो भएकाले उनले साथीसँगीहरुको साथ र माया पाए । यसरी दुःखसुख गर्दै उनले पाँच कक्षासम्मको पढाइ पूरा गरे । उनी पढ्ने स्कुलमा योभन्दा माथिको पढाइ हुँदैन्थ्यो । 

उनी आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्थे । उनले त्यति बेला नै बुझिसकेका थिए, राम्रोसँग पढ्नु पर्छ, विद्या सबैभन्दा ठूलो हतियार हो ।

जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनको पढ्ने धोको पूरा भयो, त्यो पनि काठमाडौं गएर । उनकी फुपूकी छोरी गाउँकै स्कुलमा शिक्षिका थिइन् । उनको काठमाडौंका केही सामाजिक संस्थासँग राम्रो सम्बन्ध थियो । उनकै सहयोग र सिफारिसमा बेगको जीवनरथले काठमाडौंको यात्रा तय गर्यो ।

काठमाडौंको यात्रा गर्न पाउँदा उनी दंग थिए । उनलाई थाहा थियो, काठमाडौं सपना र अवसरको सहर हो । 

उनलाई ‘सेट जेभियर्स सोसल सर्भिस क्लब’ ले निःशुल्क खान, पढ्न र बस्ने व्यवस्था गरिदियो । उनी पाटन स्कुलमा कक्षा ६ मा भर्ना भए । होस्टलबाट स्कुलसम्म उनी ह्विलचेयर ढेल्दै जाने–आउने गर्न थाले । जाम र धूवाँधुलो चिलोल्दै स्कुल जान सजिलो थिएन, तैपनि उनी त पढ्न पाएकोमै धेरै खुसी थिए ।

उनलाई यहाँ पढ्न सहज भने भएन । ‘कहाँ मलाई त ए बी सी र क ख बाहेक केही आउँदैनथ्यो,’ उनी हाँसे, ‘म गाउँको स्कुलमा सधैं प्रथम हुन्थें, त्यसैले काठमाडौं गएर पनि राम्रो गर्न सक्छु भन्ने सोच्थेँ । तर, यति जानेर मात्र हुँदैन रहेछ ।’

कक्षा ६ को त्रैमासिक जाँचमा उनी धेरै विषयमा गुल्टिए । एक मनले त उनलाई लाग्यो, पढाइ धेरै गाह्रो कुरा रहेछ, म यहाँ पढ्न सक्दिनँ ।

तर, उनलाई यसो भनेर सुख थिएन । मान्छेसँग विकल्पको एउटा मात्रै ढोका खुला रहे उसले जसरी पनि त्यसमा राम्रो गर्नैपर्छ । उनीसँग पनि मिहिनेत गरेर पढ्नुको विकल्प थिएन । त्यसैले उनले खुब मिहिनेत गरे ।

उनको पढाइ राम्रो हुँदै जान थाल्यो । पढाइसँगै उनलाई यहाँको बसाइ पनि सहज हुँदै गयो । उनी बस्ने होस्टलमा अरु पाँच जना अपाङ्गता भएका व्यक्तिहरु थिए । उनीहरु बेगभन्दा सिनियर भए पनि उनलाई साथीजस्तो व्यवहार गर्थे ।

काठमाडौं आएपछि उनका खुट्टाको अपरेसन भयो । अपेरसन हुनुअघि पोलियोको सिकार भएका उनका खुट्टा सिधा हुँदैनथे । ‘अपरेसनपछि खुट्टा तन्काउन मिल्ने भए,’ उनले आफ्ना दुवै खुट्टा हातले तन्काउँदै देखाए, ‘‘यत्तिले मात्र पनि मलाई धेरै सहज भयो ।’

जीवनरथले उबड–खाबड पार गरेर समथर बाटोमा अगाडि बढ्न थालेको अनुभूति उनले गरे । यो रथ कक्षा १२ पास गर्दासम्म पनि यसैगरी चल्यो । प्लस टु पछि भने उनलाई अलिक गाह्रो भयो । कारण थियो, सहयोग गरिरहेको संस्थाले उनलाई सहयोग गर्न बन्द गर्नु ।

संस्थाले उनलाई ‘प्लस टु’ सम्म मात्र सहयोग गर्थ्यो । अब उनलाई के गर्ने कसो गर्ने भन्ने चिन्ताले सताउन थाल्यो । खानेदेखि लिएर हरेक थोकको बन्दोबस्त उनी आफैँले गर्नुपर्ने भयो ।

जीवन डिजेल सकिएको गाडी जस्ते भएको थियो । उनीसँग गाडी चलाउन चाहिने सीप र आत्मविश्वास मात्र थियो । के गर्ने कसो गर्ने भन्ने दोधारमा भए पनि उनी एउटा कुरामा भने स्पष्ट थिए, त्यो हो– अब जसरी भए पनि यहाँ संघर्ष गर्ने, फर्केर जानेबारे सोच्नै हुँदैन ।

त्यसैले उनी जीवनरथलाई घिसार्नै लागे । उनले सुरुमा आफ्नै ‘सानो’ किराना पसल गरे, तर उनी यसमा लामो समय टिक्न सकेनन् । त्यसपछि उनले यो गाह्रो समयमा होस्टल बस्दा सिकेको सीपको प्रयोग गरे ।

‘मैले होस्टल बस्दा कम्प्युटर सिक्न पाएको थिएँ,’ हँसिलो मिजासका बेगले सुनाए, ‘कम्प्युटर र ट्युसन पढाउन थालेँ ।’ यसबाट उनलाई केही पैसा आउन थाल्यो । बाँकी सहयोग उनले घरपरिवार र आफन्तहरुबाट जुटाएर ललितपुरमा एक जना दाइसँग डेरा लिएर बस्न थाले ।

उनी पाटन कलेजमा भर्ना भए । अहिले उनी स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । यहीबीचमा उनी बास्केटबल पनि खेल्न थाले ।

‘होस्टल बस्दा सिनियर दाइहरुमार्फत् ह्विलचेयर बास्केटबल खेल्न पाएको थिएँ,’ बेगले आफ्नो अनुभव सुनाए, ‘मैले जीवनमा म अब कुनै खेल खेल्न सकुँला भनेर सोचेकै थिइनँ ।’

उनी र उनका साथी मिलेर ‘जावलाखेल ह्विलचेयर बास्केटबल क्लब’ नाम राखेर अभ्यास गर्न थाले । उनीहरुलाई सेन्ट जेभियर्स स्कुलले अभ्यास गर्नका लागि ग्राउन्ड दिएर सहज बनाइदियो । बास्केटबल खेल्न थालेपछि उनले जीवनमा धेरै परिवर्तन महसुस गरेका छन् । तीमध्ये उनले भित्रैदेखि अनुभुति गरेको महत्त्वपूर्ण कुरा हो, अपाङ्गता भएका व्यक्तिहरु बाहिर निस्कनु पर्छ ।

‘बास्केटबल खेल्न थालेपछि मलाई राहत महसुस भयो । कोठमै बस्दा कहिलेकाहीँ फ्रस्ट्रेसन हुन्थ्यो । नकारात्मक सोचले दिमागमा आतंक मच्याउँथ्यो,’ उनले आफ्नो अनुभव सुनाए, ‘बाहिर आउन थालेपछि र खेल्न थालेपछि धेरै फ्रेस फिल हुँदोरहेछ ।’

उनी अहिले ‘हर्ब नेपाल’ नामक संस्थामा आबद्ध छन् । उनी यो संस्थाका जागिरे हुन् । अफिसको कामबाट फुर्सद पाएको र बिदाको दिन उनी साथीहरुसँग बास्केटबल खेल्न जान्छन् । यति मात्र होइन उनी बेलाबेला विभिन्न संस्थाले आयोजना गर्ने ह्विलचेयर म्याराथनमा पनि सहभागी हुन्छन् ।

उनी आफ्नो जीवनसँग एकदमै सन्तुष्ट छन् । परिवार पनि उनको प्रगति देखेर खुसी छ । उनी बेलाबेला घर जाँदा उनको सफलतामा परिवारसँगै उनका साथीभाइ पनि रमाउँछन् ।

उनी घरकै सबैभन्दा धेरै पढेका सन्तान हुन् । यो कुराले पनि बाबाआमाले उनलाई बेलाबेलामा भन्छन्, खुट्टा नचल्ने भएर के भयो त मेरो छोरोले घरमा सबैभन्दा धेरै पढेको छ ।

उनलाई यो कुराले पनि खुसी मिल्छ । ‘जीवनको अर्को नाम संघर्ष नै त हो । कसको जीवन पो सोचेजस्तो भएको छ र ? एकातिर शारीरिक अपाङ्गता सँग जुध्नु थियो अर्कोतिर सामाजि परिवेशसँग पौठेजोरी खेल्नै पर्ने बाध्यता थिए’, उनले मुहार हँसिलो बनाउँदै भने, ‘अन्य अपाङ्गता भएका व्यक्तिजस्तै मैले पनि धेरै समस्याहरुसँग सिँगौरी खेलेको छु ।’ 

चाहे त्यो कलेजमा अपाङ्गमैत्री भवन बनाउनु पर्छ भनेर विद्रोह गर्दा होस् या कोठा खोज्दा होस् । सार्वजनिक यातायातमा सयर गर्दा होस् या फुटपाथमा । उनले धेरै व्यवधान भोगेका छन् । अपाङ्गमैत्री नभएका सरकारी कार्यालयमा जानु पर्दा होस् । यी सबका बाबजुद उनी आफ्नो जीवनसँग खुसी छन् ।

भन्छन्, ‘जीवनमा गाह्रोसाह्रो सबलाङ्गलाई पनि छ । म अपाङ्ग भएर अलि धेरै संघर्ष गर्नुपरेको छ, त्यो छुट्टै कुरा हो । नत्र भने संघर्ष त सबैले गर्नु परेको छ ।’

बेगका ठूला सपना छैनन् । उनी आफूलाई खान र लाउन पुग्ने बन्दोबस्त गरेर सामान्य जीवन व्यतित गर्न चाहन्छन् । यसका लागि उनले योजना बनाएका छन्, छिट्टै आफ्नै व्यापार–व्यवसय गर्ने । यसबाहेक उनको एउटा अर्को चाहना पनि छ । त्यो हो, ‘आफूहरु जस्ता’ का लागि केही गर्ने ।

उनले सुख र दुःखलाई एकै सिक्काका दुई पाटा मानेका छन् । त्यसैले उनी जीवनमा आएका र आउने समस्याहरुसँग डराउँदैनन् । 

भन्छन्, ‘जीवन यस्तै हो, यसरी नै चलिरहन्छ ।’

उनलाई उनको जीवनमा खुसी थपिदिएकी छिन्, उनकी प्रेमिकाले । उनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनकी प्रेमिका सबलाङ्ग छिन् । उनीहरुबीचको सम्बन्धबारे दुवैको घरमा थाहा छ ।

अनि बिहे कहिले गर्नुहुन्छ त ?

‘बिस्तारै, सबै कुरा मिल्दै गएपछि’, प्रेमबारे कुरा गर्दा उनी लजाए ।

आफ्नो जीवनमा प्रेम गर्ने मान्छे हुनु भनेको जीवन पूर्ण हुनु हो ठान्छन्, उनी । 

‘जीवनमा माया गर्ने मान्छे हुनु भनेको जीवनको अर्थ भेट्नु हो । प्रेम खुसीको स्रोत हो’, उनले मिठो मुस्कान दिए ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार २०:२०:२९,   अन्तिम अपडेट : मंसिर २९, २०७७ साेमबार १३:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया