logo-img

मिटर ब्याजको ठगी धन्दा : १५ लाखको ब्याज १ करोड १० लाख
सर्वसाधारणसँग मिटर ब्याज असुली ठगी गर्ने मिन्टु(रातो) र उनका सहयोगी एजाज ।

पात्र नं १

मोरङ रंगेली नगरपालिका–२ का जागेश्वर केवटले पाँच वर्षअघि विराटनगरका मिन्टु भनिने सञ्जयप्रसाद रौनियारसँग घरखर्च चलाउन १० लाख ऋण लिएका थिए।

ऋण लिँदा उनले मोरङ रंगेली–८ आपगाँछीमा रहेको ३ कठ्ठा ५ घुर जग्गा धितो राखेका थिए। केवटले हालसम्म साहुकार मिन्टुलाई सावा ब्याज गरी ४९ लाख तिरेका छन। तर उनले धितो राखेको आफनो जग्गा फिर्ता पाएका छैनन्। साहुकार मिन्टुले जग्गा अझै ४८ लाख तिरेपछि मात्रै जग्गा फिर्ता गर्ने बताउदै आएका छन्। मिन्टुसँग लिएको ऋणका कारण केवट घर न घाटको भएका छन्।  

पात्र २

मोरङ धनपालथान–१ का युनुस हुसैन, जसले छोरा मन्जरलाई विदेश पठाउन ११ कट्ठा जग्गा धितो राखेर सात वर्षअघि साहुकार मिन्टुसँग ६ लाख रुपैयाँ ऋण लिएका थिए। उनले अहिलेसम्म ११ लाख रुपैयाँ तिरिसकेका छन्। तैपनि मिन्टुले जग्गा फिर्ता दिएका छैनन्। हुसैनले साँवा–ब्याज गरेर तिर्नुपर्ने रकम ६५ लाख पुर्‍याएका छन्। 
साहुले ऋण लिँदा ९ लाखको झुटो कपाली तमसुक बनाएकाले त्यसकै आधारमा उल्टै ऋण लिएर नतिरेको भन्दै युनुस हुसैनविरुद्ध साहुले लेनदेन मुद्दा हालिदिएका छन्। 

पात्र ३



 मोरङ धनपालथान गाउँपालिका–७ कमलपुरका विनोदकुमार सिंहको अवस्था पनि उस्तै छ। विनोदका बाबु भूपेन्द्र सिंह र उनकी पत्नी खगनी देवीले ०६९ सालमा नौ कट्ठा ३ धुर जग्गा राजीनामा पास गरिदिएर साहुकारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए। मिन्टुले झुक्याएर आठ लाख ऋण लिएको कपाली तमसुक बनाए। मासिक सयकडा तीनको ब्याजदरमा लिएको ऋण चुक्ता गर्न सिंह परिवारले १२ लाख रुपैयाँ तिरिसक्यो तर धितो फुकुवा भएन।

साहुकारले ऋणको साँवा–ब्याज गरेर ३५ लाख रुपैयाँ पुर्‍याएका छन्। ऋणकै तनावबीच ०७३ सालमा भूपेन्द्र र ०७६ सालमा खगनीको मृत्यु भइसक्यो।उनीहरूका ३५ वर्षीय छोरा विनोद अहिले पनि निरन्तर मिन्टुलाई ब्याज तिरिरहेका छन्। नतिरे धितो हडप्ने र मुद्दा लगाउने धम्की साहुकारले दिइरहेका छन्।



पात्र ४

विराटनगर १० की संगीता कामतले घरायसी समस्यालाई टार्न साहुसँग ऋण लिएकी थिइन्। तर साहुकरलाई पटक–पटक रकम तिरेपनि साहुकारले धितो फुकुवा गरिदिनुको साटो साँवा–ब्याज झन्झन् बढाइरहेका छन्। नतिरे मुद्दा हाल्ने धम्की दिइरहेका छन्।

अहिले विराटनगर र आसपास गाउँका साजिद मियाँ, फिरोज खातुन र हरिलाल गनगाईले पनि ऋणभन्दा तेब्बर–चौब्बर रकम साहुकार मिन्टुलाई बुझाइसकेका छन्। तर, साहुकारले धितो फुकुवा गरिदिनुको साटो साँवा–ब्याज झन्झन् बढाइरहेका छन्। नतिरे मुद्दा हाल्ने धम्की दिइरहेका छन्।

माथि उल्लेखित पात्र मिटर ब्याजका कारण साहुकार मिन्टुबाट पीडित प्रतिनिधि पात्र मात्रै हुन्। साहुकर मिन्टुले यसैगरी ठगी गरेको भन्दै अहिलेसम्म २१ जना पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गरेका छन्। 

१५ लाखको ब्याज १ करोड १० लाख 

विराटनगरका विराटनगर–९ घोघापुलका ४२ वर्षीय मिन्टु भनिने सञ्जयप्रसाद रौनियार विगत १० वर्षदेखि मिटर ब्याजको धन्दा चलाउँदै आएको खुलेको छ। मिन्टु र उनका एजेण्ट एजाज अहमद पक्राउ परेपछि मिटरब्याजको धन्दाबारे थप खुलासा हुँदै गएको प्रहरीले जनाएको छ।  

प्रहरीको अनुसन्धानबाट १० वर्षको अवधिका उनीहरुले मिटर ब्याजमा रकम दिएर सर्वसाधारणबाट करोडौँ असुलिसकेको खुलेको छ। मिन्टुले एक सर्वसाधारणलाई दिएको १५ लाखको ब्याज १ करोड १० लाखसम्म तिर्दा पनि धितो राखेको जग्गा फिर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मोरङ प्रहरीले मिटर उनीहरुको धन्दाको गहन अनुसन्धान पश्चात शुक्रबार मिन्टु र एजेण्ड एजाज अहमदलाई ठगी मुद्धा दर्ता गरेको छ। उनीहरुलाई जिल्ला अदालत मोरङले पाँच दिनको म्याद थप परेको  जिल्ला प्रहरी कार्यालयले मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

प्रहरीले मिन्टु र एजेन्ट एजाज अहमदलाई पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा एक साताअघि नियन्त्रणका लिएको थियो।प्रहरी उपरीक्षक खड्काका अनुसार उनीहरुले ऋणीले भने बमोजिम रकम नतिर्दा यातनासमेत दिने गरेको अनुसन्धानबाट खुलेको छ। 

मिन्टुका एजेन्ट एजाजको टिमले ऋणीलाई अपहरण शैलीमा आँखामा पट्टी बाँधेर लगी चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाउने गरेको अनुसन्धान क्रममा फेला परेको खड्काले बताए। 

यसरी खुल्यो पोल

विराटनगर–१५ रानीका रामकिशोर ठाकुरले एक वर्षअघि विराटनगर–९ घोघापुलचौकका एजाज अहमद समूहसँग १५ लाख रूपैयाँ ऋण लिएका थिए। ३ मासिक सयकडा ३ को ब्याज तोकिएको थियो। 

ऋण लिँदा नै एजाजको समूहले २० लाख रुपैयाँको कपाली तमसुक बनायो। ठाकुरका अनुसार आफूले विभिन्न समयमा एजाजको समूहलाई १५ लाख रूपैयाँ दिएपनि समयमा ऋण नतिरेको भन्दै साँवा कबोल गरेभन्दा बढी पैसा तिर्न दबाव दिएका थिए।

गत २५ मंसिरमा विराटनगरस्थित रोडशेषचौकमा एजाजसहित चारजनाको समूहले ठाकुरलाई अपहरण शैलीमा आँखामा पट्टि बाँधेर बा.१८ च ८९९५ नम्बरको कारमा राखेर लिएर गए।  उनीसँग भएको २ लाख रूपैयाँ लिए। अनि ६० लाख र ५० लाखको चेकमा जबरजस्ती हस्ताक्षर गराए। ‘चेकमा उल्लेख भएको मितिमा पैसा जम्मा गरिसक्नू भन्दै मानसिक यातना दिएर मलाई छोडिदिए।’ ठाकुरले भने। 

ठाकुरको ब्याज १ करोड १० लाख रुपैयाँ भएको भन्दै कामना विकास बैंकको ५० लाख पुस ८ गते मितिमा र ६० लाखको माघ १० गतेको मिति राखी जबरजस्ती हस्ताक्षर गराएको ठाकुरको भनाइ छ।

ठाकुरले एजाजको समूहले मानसिक तनाव दिएको भन्दै पुस १ गते मोरङ प्रहरीमा उजुरी दिएका थिए। उजुरी परेको पाँच दिनपछि ६ पुसमा एजाजलाई मोरङ प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। 

एजाजले अन्य तीन जनाबाट मिटर ब्याजमा लगाएको पैसा असुली गरेको आरोप छ। पीडितको उजुरी परेपछि विराटनगर–९ का ३५ वर्षीय तनवीर खान, सोही ठाउँका ३५ वर्षीय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षीय सावन दास फरार छन्।

उनीहरूले एजाजमार्फत् मिटरब्याजमा लगाएको पैसा असुली गरेको आरोप छ। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको छ। 

  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १५:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया