राष्ट्रपतिबारे झन् आक्रोशित रामकुमारी : प्रतिगामीको न लिंग हुन्छ न जात र धर्म
भनिन् : आमाको जवानी माग्नेहरू विदेशी विश्वविद्यालय पढ्थे

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथिको आक्रोश अझै रोकेकी छैनन्। राष्ट्रपति पुत्री उषाकिरण भण्डारीले आफूलाई लक्षित गर्दै भावुक सन्देश सामाजिक सञ्जालमा लेखेपछि झाँक्रीले त्यसको जवाफ तत्कालै दिएकी हुन्।

उषााकिरणले भनेकी थिइन्, 'यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथीभन्दा माथि तपाईंको सपना, महत्वाकांक्षा हो भने ठाउँ साटौँ तपाईं उहाँको सिन्दुर पोते रातो सारी, हाम्रो बुवा, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ लिएर जानुस्।'

उषाकिरणलाई जवाफ फर्काउँदै झाँक्रीले झन् कडा शब्दसहित सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी छन्। 'यो व्यवस्थाविरुद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो? त्यसविरुद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म', उनले भनेकी छन्, 'लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा  लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।'

उनले आफूहरु कलिलै हुँदा देशमा परिवर्तन र रुपान्तरणका लागि लडेको दाबी गरेकी छन्। 'हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरका लागि लडेका थियौँ। सपना थियो, जनताको सुख र समृद्धि', उनले अगाडि भनेकी छन्, 'त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो। आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौँ- क्रान्ति गर्यौ यो व्यवस्था  ल्यायौं। तर तर यो व्यवस्थाविरुद्ध संविधानको धज्जी उडाउने काम भयो।'

उनले अहिलेको लडाइँ जवानी र विधवाको सवालमा मात्रै नभएको बताएकी छन्। 'जवानी र विधवाको सवाल होइन यो। त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ? अझै पनि भावनाको  कुरा गरेर फाइदा लिने?', उनले अगाडि भनेकी छन्, 'बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला  हामी हजारौं-लाखौंको सपनाका लागि लड्दै थियौं। आमा-बुबाको राजनीतिको ब्याज मिहिनेतबिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो?'



 



  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १६:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया