logo-img

पूर्वाधारमा लगानी गर्न १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चारलनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट समेतको उपस्थितिमा अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्वसहमतिबमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्दै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाई तत्काल काम सुरु गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया छिट्टै टुङ्गो लगाई दर्ताको काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहने छ भने ८५ प्रतिशत सेयर विदेशमा रहेका नेपालीको हुनेछ । गैरआवासीय नेपालीको लगानीका लागि आइपिओ जारी गरिने जनाइएको छ । गैरआवासीय नेपाली संघका अनुसार लगानीका क्षेत्रबारे पनि प्रस्ताव आइसकेको र विदेशमा रहेका नेपाली नेपालमा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न उत्सुक छन् । 





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १६:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया