आमालाई मिर्गौला दिएकी सिर्जना...

काठमाडौं–प्रेम के हो ?

प्रेमबारे सबका आआफ्नै परिभाषा र अनुभव हुन्छन्। २४ वर्षीया सिर्जना गुरुङको पनि आफ्नै बुझाई र परिभाषा छ, प्रेमबारे। 

उनलाई लाग्छ– आफूलाई अरुमा पाउनु प्रेम हो।

लाग्ने मात्र होइन, उनले त प्रेमको यो परिभाषालाई व्यवहारमा समेत चरितार्थ गरिसकेकी छिन् । हो, उनले आफूलाई आमामा पाइन् र आफ्नो एउटा मिर्गौला दिएर उनलाई नयाँ जीवन दिइन्। 

वसन्तपुर दरबारक्षेत्रबाट असनतर्फ जाने छेउमा महादेवको मन्दिर छ । सानो पशुपति भनेर समेत चिनिने त्यही मन्दिरको मुलद्वारबाट बायाँपट्टि छ सिर्जनाको पसल। दुईटा टेबललाई जोडेर बनाइएको उनको पसलमा पूजाका लागि प्रयोग गरिने फूल, बेलपत्र, माला, धूप, वत्ति, दियो, तेल, दूध यस्तै यस्तै सामान पाइन्छ । 

आमा र बिहिनीसँगै सिर्जना हरेक बिहान ६ बजे आइपुग्ने गर्छिन् त्यो ठाउँमा । महानगर प्रहरीहरूले हटाउन उर्दी जारी नगर्दासम्म चल्छ उनीहरुको पसल ।



भ्यालेन्टाइन सप्ताह सुरु भएदेखि पूजाका फूलसँगै गुवाबका फूल पनि थपिएको छ, उनीहरुको पसलमा। केही वर्षअघि अध्ययन छोडेदेखि उनको दैनिकी नै बनेको छ, यो। तर, यो पसलमा अधिकांश समय उनकी आमा केशमाया बस्छिन्। केशमायाले यस ठाउँमा पसल थाप्न थालेको २२ वर्ष भइसक्यो । यसैबाट उनका परिवारको गुजारा चलिरहेको छ। 

सिर्जनाले हामीसँग बोल्न धक मानिन्। उनकै शब्दमा भन्नु पर्दा लाज मानिन्। त्यसपछि हामीले उनको समर्पणको कथा लेख्न उनकी आमा केशमायाको सहयोग लियौँ।
० 
पाँच वर्षअघि केशमायाको स्वास्थ्यमा एकाएक समस्या देखियो। त्यसो त अघिपछि पनि सानातिना समस्या त पहिले पनि देखिइरहन्थे। तर, त्यो समस्या सदाको भन्दा फरक थियो। उनको रक्तचाप एकाएक बढ्यो। सुरुका केही दिन त उनले त्यति वास्ता गरेकी थिइनन् । बिस्तारै उनको स्वास्थ्य अवस्था खस्कँदै जान थाल्यो।



उनी छाउनीस्थित सेनाको अस्पताल गइन् । चेकजाँचपछि उनलाई औषधि दिइयो। औषधि सेवन गर्न थालिन्। केही महिना काम गरेको औषधिले बिस्तारै काम गर्न छाड्यो। 

रोगको निदानका लागि केशमायाले घरेलु उपचार पनि अपनाइन । उनलाई एकजना दाइले सल्लाह दिए–चिराइतो भन्ने एउटा जडिबुटी हुन्छ, त्यसलाई पानीमा हालेर हरेक दिन बिहान खानापछि खाने गर्नू।

उनले चिराइता किनेर ल्याइन् र सल्लाह बमोजिम खान थालिन्। समस्या बीसको उन्नाइस भएन बरु झनझन बढ्दै गयो। 

‘म हरेक दिन बिहान एक गिलास खाएर पसल खोल्न आउँथेँ,’ केशमायाले भनिन्, ‘भोकै पेटमा खानु हुँदैन रहेछ। मलाई थाहै भएन।’

खाना नरुच्ने, बान्ता आउने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्याहरु देखिन थाले। स्वास्थ्य निकै बिग्रिँदै गएपछि उनलाई अस्पताल लगियो।
अस्पतालमा थाहा भयो, उनका दुवै मिर्गौला खराब भएका रहेछन्। 

त्योबेला उनका श्रीमान रोजगारीका लागि मलेसिया गएको ८ महिना भएको थियो। नेपाली सेनाका जागिरे उनका श्रीमान् अवकाश लिएर मेलेसिया गएका थिए।

केशमायाले आफ्नो दुवै म्रिगौलाले काम गर्न छाडेको जानकारी श्रीमान्लाई दिइन्। उनका श्रीमान् नेपाल आउने तयारी गर्न थाले। तर कम्पनीले फर्किने अनुमति दिएन। भागेर आउन उनीसँग पैसा थिएन। 
‘यहाँबाट मैले ८५ हजार पठाएर उहाँलाई नेपाल झिकाएँ।’ केशमायाले भनिन्। 

केशमायालाई श्रीमानले नै मिर्गौला दिन निर्णय गरे । रगत मेल खान्छ कि खाँदैन भनेर उनका श्रीमानको रगत र आवश्यक परीक्षण गरियो। सबैकुरा मिल्यो। केशमायाको साप्ताहिक रुपमा डाइलासिस भइरहेको थियो, छाउनी अस्पतालमा। 

सबै कुरा मिलेकोमा उनीमा केही आशा पलाउन थाल्यो। तर, शरीरमा प्रोटिनको कमी भएकाले उनले मिर्गौला दिन नमिल्ने अस्पतालको रिपोर्टले देखायो। परीक्षण गर्नमै एक वर्ष बितिसकेको थियो। साढे २ लाख पनि सकियो। 

उसै यस्तो अप्ठेरो समस्या, त्यसमाथि आर्थिक भार थपिँदै गइरहेकाले परिवारलाई झनै चिन्तित बनाउन थाल्यो। 

केशमायालाई लाग्थ्यो, आफू मरेपछि सन्तानको बिचल्ली हुन्छ, उनीहरुको भविष्यकै लागि भए पनि आफूले बाच्नैपर्छ। त्योबेला उनका तीन सन्तान मध्ये जेठी छोरी २० वर्षकी थिइन्, अर्की छोरी १८ वर्ष र छोरा १४ वर्षका थिए। सबै पढिरहेका थिए। उनको आत्मबल दिनदिनै कम भइरहेको थियो। 

पसल र श्रीमानको पेन्सनबाट जेनतेन घर चलिरहेको थियो। औषधि उपचारमा धेरै पैसा खर्च भइरहेको थियो। परिवारलाई आर्थिक समस्याले गाँज्दै लग्यो । 

केही महिनापछि केशमायाका लागि एउटा शुभ समाचार आयो। श्रीमानकी बहिनी मिर्गौला दिन राजी भइन्। उनकी नन्द लमजुङ बेसिसहरबाट काठमाडौं आइन्। आवश्यक सबै जाँचहरू गरिए। सबै कुरा मिल्यो। अप्रेशन गर्न सबै तयारी भइसकेको थियो। तर नन्दको घरबाट उनलाई धम्की आयो। 

‘उनका सासूससुराले हामीलाई फकाइफुल्याइ मिर्गौला मागेको आरोप लगाए,’ केशमायाले सुनाइन्, ‘मिर्गौला माग्यौ भने मुद्धा हालिदिन्छु भने।’

यो कुराले उनमा अब बाँच्छु भन्ने आशा  हराएर गयो। उनी बिस्तारै मृत्युलाई स्वीकार्न थालिन्। ‘अब डाइलासिसले जति बाँच्छु बाँच्छु, मेरो नियति नै यस्तै रहेछ भनेर स्वीकार्छु’ केशमाया त्यो बेला आफ्नो मनमा खेलेका तर्क सुनाउँछिन्।

डाइलासिस गर्न पनि सजिलो थिएन। श्रीमान सेना भएकाले उनलाई छाउनी अस्पतालले सहयोग त गथ्र्यो, तर त्यो पर्याप्त थिएन, त्यो पैसाले वर्षको चार महिना मात्रै डाइलासिस गर्न पुग्थ्यो। ‘अहिले निशुल्क भएको छ, त्योबेला धेरै पैसा लाग्थ्यो,’ उनले सम्झिइन्, ‘सबै पैसा मेरै औषधि र उपचारमा खर्च भइरहेको थियो।’
जब आफूलाई मृत्यु घेरिरहेको सोच्थिन् उनलाई हरेक पटक सन्तानको चिन्ताले सताउँथ्यो।

‘आफू बितेपछि छोराछोरीको के हविगत होला भनेर सम्झिदै भक्कानिएर रुन्थेँ,’ यति भन्दा उनका आँखा आँसुले टिलपिल भए ‘आफ्नो जीवनभन्दा सन्तानको भविष्यले धेरै सताउने रहेछ आमालाई।’

यसैगरी दिनहरू बितिरहेका थिए। एकदिन कान्छी छोरी सिर्जनाले निर्णय लिइन्–आमा म तपाईंलाई किड्नी दिन्छु।
तर, यो कुरा केशामायालाई मञ्जुर भएन। उनलाई लाग्यो–भर्खर १८ वर्ष लाग्दै गरेकी छोरीको किड्नी लिँदा उसको पूरै जीवन बर्बाद हुन्छ। ‘उसको सम्पूर्ण जीवन उसको अगाडि छ। पढ्न बाँकी छ, विवाह गर्न बाँकी छ, सन्तान पाउँन बाँकी छ,’ उनले भनिन्, ‘भर्खरै युवती भइरहेकी छोरीको किड्नी लिनु पाप हो भन्ने लाग्यो।’

सिर्जनाले जिद्धि गरी नै रहेकी रहिन् । आफू मर्नु परेपनि मर्छु तर छोरीको जीवन बर्बाद गर्नु हुँदैन भन्ने कुरामा केशमाया अडिग रहिन्। ‘उसको बिहे भएको छैन । बिहे भएपछि श्रीमानले थाहा पायो भने उसलाई छोडिदिन्छ। कसैले उसलाई बिहे नै गर्दैन।’ उनले त्यो बेलाका चिन्ता सुनाइन्।

सिर्जनाको निरन्तरको जिद्धिपछि उनले डाक्टरसँग सल्लाह गर्ने निर्णय गरिन्। डाक्टरले त्यस्तो केही फरक नपर्ने र एउटा मिर्गौलाले पनि मान्छे लामो समय राम्रोसँग बाँच्न सक्ने बताएपछि केशमाया छोराबाट मिर्गौला लिन राजी भइन्। 

तै पनि मनले त मानिरहेको थिएन, कतै म छोरीको जीवनमाथि घात गरिरहेको छु कि भन्ने चिन्ताले सताइरहेको थियो उनलाई।

सबै जाँचहरू भए। सबै कुरा मिल्यो । स्वदेश, विदेशमा रहेका आफन्तहरुले सहयोग गरे । केही महिनामै अप्रेशन भयो। छोरीको एउटा मिर्गौला आफ्नो शरीरमा धारण गरेर नयाँ जीवन पाइन केशमायाले। 

आज उनी स्वस्थ्य जीवन बाँचिरहेकी छन्। तर घरीघरी छोरी सिर्जनाको भविष्यको चिन्ताले सताइरहन्छ। केही प्रश्न उनका सामु बारम्बार खडा भइरहन्छन्– छोरीको वैवाहिक जीवन कस्तो होला ? उसको स्वास्थ्य कस्तो होला ?

उनी हरेक पटक भगवानसँग प्रार्थना गर्दा छोरी सिर्जनाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छिन्। ‘हरेक पल उसको भविष्यको चिन्ता हुन्छ,’ आँसु पुच्छदै उनले भनिन्, ‘उसको भविष्य राम्रो होस् भनेर भगवानसँग प्रार्थना गरिरहन्छु।’

छोरी सिर्जनालाई भने यसमा कुनै चिन्ता छैन। आफ्नो कारणले आमालाई बचाउन सकेकोमा नै जीवनका सारा खुसी प्राप्त भएको अनुभूति छ उनमा। एक सन्तान हुनुको नाताले आमाप्रतिको कर्तव्य निर्वाह गर्न सकेकोमा मख्ख छिन् सिर्जना ।

‘सन्तानलाई बचाउँन एउटी आमाले जे कर्तव्य निर्वाह गर्छिन्, त्यसरी नै आमालाई पर्दा सन्तानले बचाउनु पर्ने कर्तव्य हुन्छ,’ आमालाई काम सघाइरहेकी सिर्जना भन्छिन्।

सिर्जनालाई आफ्नो भविष्यको चिन्ता छैन। जति उनकी आमालाई उनको चिन्ता छ। ‘भविष्यको चिन्ता त सबैलाई हुन्छ नि होइन र?’ सिर्जना प्रश्न गर्छिन्, ‘आमा बेकारमा धेरै सोच्नुहुन्छ। कसैले बिहे नगरे तपाईंसँगै बसौँला नी हुँदैन आमा?’

सिर्जना आफूलाई विशाल र निश्चल मान्दिनन्। ‘मैले आमा रोएको, आमालाई पीडा भइरहेको देख्न सकिरहेको थिइनँ,’ उनले भनिन्, ‘आमा नहुन भएको भए हामी कसरी हुन्थ्यौँ र ?’

 ‘मलाई लाग्यो जसरी भए पनि आमालाई बँचाउनु पर्छ। उहाँलाई किड्नी दिँदा मान्छेहरुले मलाई ठूलो मुटु भएकी मान्छे रहेछ भन्छन् भनेर दिएको होइन। आमालाई बाँचेको देख्न मन थियो।’ सिर्जना सरल उत्तर दिन्छिन् । 

सिर्जनाले पढ्न छाडिसकेकी छिन्। उनलाई पढेर पनि कामै गरेर खाने हो भन्ने लाग्छ। ‘जे गरे पनि मान्छेले खान काम गर्नु पर्छ। मलाई पनि त्यस्तै लाग्यो। पढेको भए अलि सजिलो हुन्थ्यो होला तर पनि ठीकै छ।’ उनी सन्तुष्ट छिन्।

केशमाया गुरुङको जीवनको आधाभन्दा बढी समय मन्दिर अगाडि फूल बेचेर बित्यो। यतिको समय मन्दिर अगाडि रहेर पुकार्दा पनि भगवानले आफ्नो कुरा नसुनि दिएकोमा उनलाई नराम्रो लागेको छ। बिस्तारै भगवानप्रतिको आस्था कम भइरहेको छ। 

‘जीवनभर मन्दिर बाहिर बसेर व्यापार गरेँ। यो पनि त एउटा प्रार्थना जस्तै हो नि, खै भगवानले मेरो पुकार सुन्नु भएको?’ उनी प्रश्न गर्छिन्, ‘भगवान किन यति निष्ठुरी हुन्छन्, किन मेरो दुःख र पीर बुझ्दैनन् ?’

उनलाई दिनप्रतिदिन भगवानप्रति वितृष्णा जागिरहेको छ। एक वर्ष पहिले छोरालाई बाथरोग भएपछि त उनी भित्रैबाट टुटेकी छिन्। दुःखमाथि दुःख थपिएको छ। उनको छोरा बाथ रोगले थला परेको एक वर्ष भयो।

‘बाबु हिँड्नै सक्दैन । धेरै अस्पतालहरू लगिसकेँ, निकै भइरहेको छैन।’ उनी भन्छिन्।

डाक्टरले केही वर्षसम्म पनि राम्रो नभए हड्डी फेर्नुपर्ने सल्लाह दिएका छन्। तर त्यो गर्न उनीहरुको आर्थिक ल्याकतले भ्याउँदैन। अप्रेसन गर्न दश लाख रुपैयाँ लाग्छ।
‘पच्चीस वर्ष पुगेपछि मात्रै गर्न मिल्छ रे अप्रेशन। म पैसा त जसोतसो जोड्थेँ, तर डाक्टरले राम्रो हुने ग्यारेन्टी दिन सक्नुहुन्न।’ उनले दुःख पोखिन् ।

अहिले उनलाई पैसाको धेरै खाँचो छ। उनका श्रीमानले घरमा सम्पूर्ण समय दिनु परेकाले आय आर्जन काम गर्न पाएका छैनन्। सहयोग पनि धेरै सँग लिइसकेकाले अब माग्न गाह्रो छ ।

त्योभन्दा ठूलो डर उनलाई के कुराको छ भने आफ्ना समस्याबारे भन्दा कसैले पत्याउँदैनन् कि भन्ने ।

‘मैले जीवनमा जस्ता कुराहरु भोगेकी छु, जस्ता समस्याहरूसँग जुधेकी छु, त्यो अरुलाई सुनाउँदा सुन्नेहरूले विश्वास गर्दैनन् होला,’ उनी आफ्नो नियतिलाई जिस्क्याउँदै हाँस्छिन्, ‘मेरो जीवन त पूरै फिल्म जस्तै छ। अब त कसैलाई सुनाए भने पनि एउटा मान्छेले यति दुःख पाउँछ र ? भनेर विश्वास गर्दैनन् होला। तपाईंलाई त विश्वास भयो नि?’ उनी प्रश्न गर्छिन् ।

फर्किनै लाग्दा सिर्जनासँग एउटा प्रश्न सोध्यौँ । 

प्रेम के हो सिर्जना ?
‘प्रेम के हो त थाहा छैन सर,’ उनले हाँस्दै भनिन्, ‘तर आमालाई आफूले बचाउन सकेकोमा धेरै खुसी लाग्छ।’
आफूले दिएर राम्रो हुने भएको भए भाइका लागि पनि उनी आफ्ना खुट्टा दिन तयार छिन्। 

‘भाइलाई मेरो हड्डीले निको नहुने रहेछ नत्र म भाइलाई पनि खुट्टा दिन्थेँ ।’ उनले भन्छिन् । 
ओहो, कति महान हृदय सिर्जना तिम्रो !

  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १४:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया