logo-img

प्रहरीले सार्वजनिक गरेका युवक नै ‘हत्यारा’ भएकोमा विश्वस्त छैनन् भागरथीकी आमा
शव नउठाउने परिवारको अडान यथावत्

बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै अन्दाजी १८ वर्षीय युवकलाई सार्वजनिक गरेको छ। तर, भागरथीकी आमा द्रोपती भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका युवक हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छिन्। 

बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम राज सुवेदीले जिल्ला प्रहरी कार्यालय बैतडीमा आरोपित सार्वजनिक गरिरहँदा नेपाली कांग्रेसका नेता एनपी साउदसहितका कांग्रेस नेता भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए।

नेता साउदसहितको टोलीसँगको भेटमा भागरथीकी आमा द्रोपतीले भनेकी छन्, ‘घटना भएको दिन ऊ (दिनेश) चार बजे घाम छँदै घर आएको हो। उसलाई मैले मेरा भागा (भागरथी) आइनन् भनेर सोधेकी हुँ, उसले देखिनँ भन्यो। आज उही मान्छे मैले गरेको हुँ भन्दै छ। ऊ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ। बाजे–बाजे भाइ हुन्। छोरी जेठी हो, ऊ (किशोर) कान्छो हो। ऊभन्दा छोरी ठूली थिई। एक्लैले कसरी मार्याे भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे !’ 



द्रोपतीले प्रहरीले हत्यामा संलग्न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका युवक (दिनेश भट्ट) एक्लैले भागरथीको हत्या नै गरेको भए उसलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन्। ‘त्यसले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ’ भागरथीकी आमाले भनेकी छिन्। कसैले सिकाएर उसलाई भन्न लगाएको भागरथीकी आमा द्रोपतीले नेता साउदसँगको भेटमा भनेकी छिन्। 

शव नउठाउने परिवारको अडान यथावत्



भागरथीको बलात्कारपछि हत्यामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक नगरेसम्म शव नउठाउने परिवारले अडान यथावत् राखेका छन्।

मृतकका काका नाता पर्ने शिवराज भट्टले प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका व्यक्तिले दिएको भनिएको साबिती बयानमा विश्वस्त नरहेका कारण तत्काल शव नबुझ्ने बताए। ‘प्रहरीले सार्वजनिक गरेको अभियुक्तप्रति विश्वसनीय प्रमाण प्रस्तुत नगरेकाले शव नबुझेका हौँ,’ उनले भने।



प्रहरीले बुधबार दिउँसो भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोगडाकेदार गाउँपालिकाकै दिनेश भट्ट (प्रहरीकै शब्दमा) लाई सार्वजनिक गरेको थियो। प्रहरीले सार्वजनिक गर्दा ती किशोरको अनुहारमा नकाव लगाइएको थियो। प्रहरीले ती किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिकव् हुन सक्ने ठानेर नाम पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले बुधबार साँझसम्म मृतकका आफन्तले शव नबुझेको जानकारी दिए। ‘आज बुझेका छैनन्, भोलि सम्म बुझ्छन् कि,’ उनले भने।

के प्रमाणका आधारमा प्रहरीले पक्राउ गर्‍याे ?

बैतडीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीलाई सोधेका थिए, ‘युवक पक्राउ गर्नुको ठोस प्रमाण चाहिँ के छ ?’

पत्रकारको प्रश्नमा डिआइजी सुवेदीले प्रहरीको अनुसन्धानमा शंका नगर्न र कुनै त्रुटि नराखी, घटनास्थलको मसिनो अनुसन्धानपछि आरोपित किशोरलाई नियन्त्रणमा लिएको जवाफ दिएका थिए।

गत माघ २१ गते स्कुलबाट फर्कने क्रममा बेपत्ता भएकी भट्टको भोलिपल्ट घर जाने सडक छेउको जंगलमा शव भेटिएको थियो। डिआइजी सुवेदीलाई फेरि पत्रकारले प्रश्न गरे, ‘सञ्चारमाध्यममा आरोपितले आफूले हत्या मात्र गरेको स्विकारेको छ, तर बलात्कार नगरेको बयान दिएको भनेर आएको छ, साँचो के हो ?

सुवेदीले आरोपितले दाबी गर्न सक्ने, तर त्यसलाई प्रमाणले झुटो ठहर गर्न सक्ने जवाफ दिए। प्रहरीले मृतक किशोरीको भेजाइनल स्वाब फरेन्सिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइसकेको छ। यसबाट भेजाइनल स्वाबमा पुरुषको ‘वीर्य’ भए–नभएको र भए त्यसको डिएनए पत्ता लाग्नेछ। प्रहरीले पक्राउ परेका किशोरको डिएनए पनि परीक्षणका लागि पठाएको छ। डिएनए मिले प्रहरीलाई दाबी पुष्टि गर्न सजिलो हुन्छ। तर नमिले ?

डिआइजी सुवेदी बलात्कार गरेको पुष्टि हुन डिएनए नै मिलेको हुनु नपर्ने दाबी गर्छन्। ‘कानुनमा बलात्कार भएको पुष्टि हुन आरोपितसँग डिएनए मिलेकै हुनुपर्छ भन्ने लेखिएको छैन। योनिमा छोए मात्र, अन्य वस्तु घुसारे पनि बलात्कार हुन्छ भन्ने कानुनी व्याख्या छ,’ डिआइजी सुवेदीले भने। 

यतिबेला घटना हुँदा आरोपित युवकले लगाएका कपडा र उनीसँग मृतक किशोरीले छाडेका प्राविधिक प्रमाणको खोजी प्रहरीले गरिरहेको छ। जसको प्राविधिक परीक्षणपछि  बलियो प्रमाण बन्न सक्ने बुझाइ प्रहरीको छ।

  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार १९:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया