logo-img

भागरथीका आफन्तको प्रश्न : हत्यारा त पत्ता लाग्यो, अनि बलात्कारी खोइ त ?
भन्छन्– बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा १६ बर्षीय युवक पक्राउ परे पनि आफन्तले अझै शव बुझ्न मानेका छैनन् । भारगरथीको  शव जिल्ला अस्पताल बैतडीमा नै छ ।

अपराधी भनेर सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ । ‘दिनेशले हत्या मात्रै गरेको स्विकारेको छ, तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ’, भागरथीका काका शिवराज भट्टले भने, ‘परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ ।’

पक्राउ परेका युवकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले आफन्तसँग निरन्तर छलफल भइरहेको बताए । आफन्तलाई विश्वस्त पार्न अभियुक्तसँग भेटसमेत गराएको उनले जानकारी दिए ।



गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जंगलमा निर्वस्त्र र बीभत्स अवस्थामा उनको शव फेला परेको थियो । यता, भागरथीको शव भेटिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्तबुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन् । 

भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताइन् ।  
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीसँगै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलगायतको टोली खटिएको थियो । आरोपित युवकमाथि अझै थप अुनसन्धान भइरहेको छ । बिहीबार आरोपितको भनाइका आधारमा भागरथीले लगाउँदै आएको घडी घटना भएको क्षेत्रमा फेला परेको छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार २१:१२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया