'प्रचण्डलाई नेता मान्‍न सकेनौँ, ओली समूहमै फर्कियौँ'

पूर्वमन्त्री एवम् नेकपाका नेता शेरबहादुर तामाङ दम्पती केपी शर्मा ओली नेतृत्वकै नेकपामा फर्किएका छन्। दुई महिनाअघि प्रधानमन्त्री ओली समूहलाई छाडेर पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहमा लागेका नेता तामाङ र पत्नी एवम् प्रदेश १ की सांसद उषाकला राई शनिबारदेखि ओली समूहमै फर्किएका हुन्।

'पुष्पकमल दाहाललाई नेता मानेर हिँड्न सकिएन, उहाँमा देशलाई अघि बढाउन सक्ने भिजन र विचार पनि देखिएन', तामाङले फरकधारसँग भने, 'माओवादीको विचार अनुसार कम्युनिष्ट पार्टी हाँक्न सक्ने अवस्था पनि देखेनौँ, त्यहीकारण हामी ओली समूहमै फर्किने निर्णयमा पुग्यौँ।'

नेता तामाङले यो दुई महिनाबीचमा प्रचण्ड-नेपाल समूहका कार्यक्रममा देखिए पनि अब ओली समूहमै रहेर सक्रिय हुने तामाङले बताए। 'प्रचण्डजीमा देशलाई विकास र समृद्धितर्फ लैजाने कुनै नीति पनि देखिएन, सत्ता स्वार्थ मात्रै देख्यौँ', उनले भने, 'हामीले धेरै सोची बिचारी यो कदम चालेका हौँ। अहिले नेकपा एउटै छ, समूह मात्रै दुईवटा हुन्। हामीले धेरै विचार गरेर ओली समूहमै रहने निर्णय लिएका हौँ।'

तामाङले आफूहरू कुनै पदको लोभमा समूह नफेरेको बताए। 'माओवादीको दृष्टिकोण मात्रै त्यहाँ देखियो तर व्यवहारमा प्रचण्डमा देशलाई अगाडि बढाउने कुनै योजना रहेनछ', उनले भने, 'हामी पदको प्रलोभनमा परेर ओली पक्षमा आएका होइनौँ। पूर्वएमालेका धेरै साथीहरू अझै मूल पार्टीमै फर्किनुहुन्छ।’

नेकपा दुई समूहमा विभाजित भएपछि तामाङ दम्पती सुरुमा ओली समूहमै रहेर लगत्तै प्रचण्ड–नेपाल समूहतिर लागेका थिए। तामाङ दम्पती ओली समूहमा फर्किएपछि उनीहरुको भूगोलमा ओली पक्ष उत्साहित देखिएको छ। 





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १५:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया