'यो संसदीय व्यवस्था फेल भइसक्यो, जनमत संग्रहमा जाऊँ'
कुनै किसिमको हतियार नभएको स्पष्टीकरण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्न मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताएका छन्। 

सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि शनिबार काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘जनताको मत लिने गरौं। हरेक विषयमा जनमतसंग्रह गरौं भनेका छौं। यसले जनतालाई परिचालित गर्छ', उनले भने, 'पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ। यो प्रकरणको लोकतान्त्रिक समाज बनाऔं। अहिले हामी सरकारसँग छलफल गर्छौं। सेट अफ आइडिया छ। हामी राख्छौँ। खाका छ। हामी भन्छौं। नयाँ दिशामा जानुपर्छ।’

उनले जनमतसंग्रह गर्ने विषयमा अहिले नै भन्न असम्भव भएको उनले बताए। ‘सबै भन्न सम्भव छैन। खास-खास विषयमा हुन्छ। अहिले हामी सरकारसँग छलफलमा छौं। संसदीय व्यवस्था भन्दा पनि लोकतन्त्र मूल कुरा हो। यसको विकसित कुरा गरेका छौं,' उनले भने। 

आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकाले यो विषयमा आफ्नो पार्टीका धारणाहरू छिट्टै सार्वजनिक गर्ने उनले बताए। अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उनले बताए। 

‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो। अहिले दलभित्र तनाव पैदा भएको छ। लडाइँ चलिरहेको छ', उनले भने, 'अदालतले संसद् पुनःस्थापना गरेको छ। अहिले दलभित्र लडाइँ चलिरहेको छ।’

आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको बताउँदै बास्तोलाले अहिले आएर त्यो कुरा पुष्टि भएको  बताए।



उनले सरकार र आफूहरूबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गरे। ‘सरकारले वार्ता गरौं भन्यो, पछिल्लो चरणमा वार्ताको माध्यमबाट सहमति भयो। हामी निष्कर्षमा पुग्यौं। तीन बुँदे सहमति गरेका छौं,' उनले भने, 'हाम्रो महासचिव र प्रधानमन्त्रीले प्रष्टसँग सहमति कार्यान्वयन हुन्छ भनेर आफ्नो कुरा राख्नुभएको छ। उहाँहरुले इमानदारिताका साथ सहमति कार्यान्वयन गर्छौं भन्नुभएको छ।’

बास्तोलाले आफूहरूसँग हतियार नभएको पनि स्पष्टीकरण दिए। तपाईंहरुसँग भएको हतियार कहाँ छ? भन्ने प्रश्नमा उनले भने,‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन। हामीसँगको कुरा छैन त्यो।'



बास्तोलाले आफूहरुले हतियार लिएर नलडेको बताए। 'हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होइन। सशस्त्र विद्रोहको कुरा पनि होइन। हामीले भनेको त एकीकृत जनक्रान्ति हो', उनले भने, 'वैज्ञानिक समाजवाद स्थापना गर्नै हो। क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो। देश धनी भयो हरेक नागरिक धनी हुन्छन्।’ 

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार २१:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया