इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुल घरेलु मैदानमा पराजित

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुल घरेलु मैदानमा पराजित भएका छन् । सिटी घरेलु मैदानमा भएको म्यानचेस्टर डर्बीमा पराजित भएको छ भने लिभरपुल फुलहमसँग पराजित भएको छ । 

सिटीको २१ खेलको अपराजित यात्रामा म्यानचेस्टर डर्बीमा पूर्णविराम लागेको छ । जसमा युनाइटेडले सिटीलाई दुई शून्यले हराउँदै उपाधिको होडमा रहेको पेप ग्वार्डिओलाको टिमको अपराजित यात्रामा पूर्णविराम लगाउन सफल भयो ।

सिटीको घरेलु मैदानमा युनाइटेडका लागि ब्रुना फर्नान्डेज र लुकी साले एकएक गोल गरे । खेलको पहिलो मिनेटमा नै युनाइटेडका लागि पेनाल्टीमार्फत गोल गर्दै ब्रुनाले टोलीको अग्रता बनाए । खेलको ५०औँ मिनेटमा युनाइटेडले अन्तर २-० मा पुर्यायो । मार्कस रासफोर्डको क्रसमा लुकीले गोल गर्न सफल भए । 

डर्बीको जितपछि युनाइटेड २८ खेलमा ५३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको सिटीको समान खेलबाट ६५ अंक छ । डर्बीको हारपछि सिटीले अग्रता बढाउने मौका गुमाएको छ ।

यता लिगको साविक विजेता लिभरपुल पनि घरेलु मैदानमा पराजित भएको छ । गएरातिको खेलमा लिभरपुल फुलहमसँग १-० गोल अन्तरले पराजित भएको हो ।



लिभरपुलको घरेलु मैदानमा फुलहमलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे । लेमिनाले खेलको ४५औँ मिनेटमा गरेको एकमात्र गोल जितका लागि पर्याप्त बन्यो । 

फुलहमसँगको हारसँगै लिभरपुल घरेलु मैदानमा लगातार छैटौँ खेलमा पराजित भएको छ । यता फुलहमले सन् २०१२ पछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा हराएको हो ।



जितपछि फुलहम २६ अंक जोडेर लिगको १८औँ स्थानमा रहेको छ । लिभरपुल ४३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार ६:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया