खुला राजनीतिमा आएपछि प्रचण्डसँग लडाकुको हिसाब खोज्‍न थाले विप्लव (भिडियोसहित)
लडाकुलाई आएको १९ अर्बमा भ्रष्टाचार गरेको आरोप

खुला राजनीतिमा आएसँगै नेपाल कम्युनिस्ट नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालीन माओवादी लडाकुको नाममा सरकारले दिएको अर्बौं रुपैयाँको हिसाब खोज्न थालेका छन्। 

१० वर्ष जनयुद्ध लडेका तत्कालीन माओवादी लडाकुको शिविरका लागि सरकारद्वारा विनियोजित १९ अर्ब रुपैयाँको हिसाबकिताब विप्लवले खोज्न थालेका हुन्। करिब २० हजार लडाकुका लागि सरकारले दिएको १९ अर्ब रुपैयाँको हिसाबबारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विप्लवले प्रश्न उठाएका छन्। 

फागुन २१ मा सार्वजनिक भएपछि दुई दिन संघीय राजधानीमा बसेर विप्लव देश दौडाहामा निस्किएका छन्। नवलपरासीमा पहिलो पटक सार्वजनिक रुपमा देखिएर काठमाडौंमा सार्वजनिक भएका विप्लव सबैभन्दा पहिले गृहजिल्ला कपिलवस्तुको आफ्नो गाउँ शिवगढी पुगे। सोमबार शिवगढीमा पार्टीनिकट अखिल नेपाल राष्ट्रिय महिला संघ क्रान्तिकारीको सम्मेलनलाई सम्बोधनका क्रममा विप्लवले अब प्रचण्डले १९ अर्ब रुपैयाँको हिसाब देखाउनुपर्ने माग गरे। 

'ब्यारेकमा रहेका जनमुक्ति सेनाको पैसा भ्रष्टाचार भएको छ। हरेक सदस्यबाट ५ हजार रुपैयाँ काटेर क्रान्तिका लागि देऊ भन्दै १९ अर्ब रुपैयाँ आफैं खाएका छन्', प्रचण्डप्रति आक्रमक बनेका विप्लव भन्छन्, 'जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार र जनताले अब त्यो पैसाको एक एक हिसाब गर्ने छन्।'

उनले १९ अर्बको कुरा लामो समयदेखि उठ्दै आएको बताए। ‘जनमुक्ति सेनाका लागि खर्च गर्न आएको १९ अर्ब कस्ले खायो? ,’ प्रचण्डतिर लक्षित गर्दै विप्लवले भने,‘बजारमा १९ अर्ब रुपैयाँ भ्रष्टाचारको कुरा उठेको छ।’ 



आफूहरु माओवादीमा रहँदा पनि यसबारे पटक पटक आवाज उठाएको उनले सम्झाए। ‘हामीले त्यसविरुद्ध लड्यौँ र आवाज पनि उठाएका थियौँ', उनले भने। 

सम्बोधनका क्रममा विप्लवले प्रचण्ड र केपी शर्मा ओलीको नामै तोकेर दुवैले एक अर्कामाथि भ्रष्टाचारको आरोप लगाइरहेको बताए। विप्लवले आफूहरु भ्रष्टाचार र बेथितिविरुद्ध लडिरहेको पनि जानकारी दिए।



विप्लवले आफूहरु सेना-प्रहरीविरुद्ध नलडेको पनि स्पष्टीकरण दिए। 'हामीले सेना र प्रहरीलाई भन्यौं तपाईहरुविरुद्ध यो लडाइँ होइन', उनले भने, 'देशलाई लुट्नेविरुद्ध, भ्रष्टाचारीविरुद्ध यो लडाइँ हो ।’ 

प्रचण्ड सकिएको तर्क

विप्लवले पुष्पकमल दाहालको राजनीतिक अस्तित्व सिद्धिएको पनि बताए। उनले राजनीतिक रुपमा प्रचण्डको औचित्य अब सकिएको बताए।

विप्लवले आफ्नो पार्टीका एकजना नेतालाई बोलाएर २० वर्ष आफूलाई कसैले हल्लाउन नसक्ने भन्दै धम्की दिएको पनि उनले खुलासा गरे। 'प्रचण्ड कमरेडले हाम्रा एकजना नेतालाई बोलाएर २० वर्ष म केही हुन्‍न, मलाई कसैले हल्लाउन सक्दैन भनेछन्', विप्लवले अगाडि भने, 'तर हामीले छाडेको २० महिनामै प्रचण्ड त धुलोपिठो भए नि!'

भिडियो

प्रचण्डको एक अपीलमा हजारौँ युवा मर्न तयार भएको उनले स्मरण गरे। 'प्रचण्ड उभिँदा देश हल्लिन्थ्यो। प्रचण्डको एक अपीलमा हजारौँ युवा-युवती सहिद हुन तयार हुन्थे', उनले भने, 'तर अहिले उनको हैसियत माधव नेपालबिना कमण्डलु बोक्ने भएको छ।'

विप्लवले प्रचण्डले माधव नेपाल नभए आफू कमण्डलु बोक्ने भइसक्थेँ भनेको स्मरण गर्दै उक्त दाबी गरेका हुन्। 'माधव नेपाल नभएको भए त म कमण्डलु बोक्ने जोगी भइसक्थेँ भनेर प्रचण्डजीले भन्नु भएछ', उनले भने, 'आफ्ना सहिद परिवार छाड्ने, बेपत्ता परिवारलाई छाड्ने, किसान मजदुरको झुपडी बिर्सिने अनि अनि माधव नभए त जोगी हुन्थेँ भन्‍ने? यो प्रचण्ड सिद्धिएको होइ कि होइन?'

  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १६:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया