रंगशालालाई आर्थिक अभाव भएपछि धुर्मुसले थाले मेची-महाकाली अभियान


महत्वाकांक्षी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस'ले मेची-महाकाली अभियान थालेका छन्। 

धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष उनीसहितको टोलीले कञ्चनपुरबाट उक्त अभियान थाल्न लागेको हो। यो अभियान अन्तर्गत भोलि कन्चनपुरका विशेष कार्यक्रम गरिने भएको छ। धुर्मुससहितको टोलीलाई चितवनस्थित रंगशाला निर्माणस्थलबाट श्रमिकहरुले विदाई गरेका थिए। 

धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको रंगशाला निर्माणमा सबैको अपनत्व र योगदानका लागि उक्त अभियान सुरु गरिएको हो कट्टेलले बताए।

उक्त अभियान थालनी गर्दा मजदुरहरुले आफ्नो आम्दानीमध्ये ४ हजार ४ सय ५ रुपैयाँ दिएका थिए। मजदुरहरुले दिएको उक्त सहयोगले आफू भावुक भएको धुर्मुसले बताएका छन्। 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको घरदैलो भोलि मंगलबारदेखि कञ्चनपुरबाट सुरु हुने अध्यक्ष धुर्मुसले जानकारी दिए। अध्यक्ष धुर्मुसका अनुसार रंगशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरुको घरदैलोमा पुगेर सहयोग संकलन गर्न लागिएको हो।

‘रंगशालाभित्र निर्माण हुने सातै प्रदेशको विम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाको कक्ष निर्माण गरिने भएकोले हरेक जिल्लाले आ-आफ्नो जिल्लाको कक्ष निर्माण गर्न सहयोग रकम जुटाउने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो,’ उनले भनेका छन्। 



अभियानका क्रममा प्रत्येक जिल्लामा दुई-दुई दिनसम्म बसेर सहयोगी मन, संघसंस्था, वित्तीय संस्था, सहकारी, महिला तथा आमा समूह, विभिन्न समूह र स्थानीय सरकारसँग सहकार्य गरिने धुर्मुसले बताए।

घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै कलाकारहरु कुमार कट्टेल 'जिग्री', अर्जुन घिमिरे 'पाँडे, निगम हुमागाईं, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल छन्।



  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १३:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया