logo-img

भागरथी हत्यामा दोषी ठहरिएका दिनेशले फेरे बयान

बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्ट हत्या आरोपित दिनेश भट्टले आफ्नो बयान फेरेका छन् । उनलाई अदालतले दोषी ठहर्‍याई फागुन २६ गते बाल सुधार गृह दिपायलमा पुर्‍याएको थियो । 

बाल सुधार गृहमा रहेका दिनेशले आफ्नो बुवासँगको भेटमा अपराध अस्वीकार गरेका हुन् । दिनेशले आफूलाई जबरजस्ती घटना कबोल गर्न लगाइएको दाबी गरेका छन् । फोन सम्पर्कका क्रममा आफू घटनामा संलग्न नभएको बताएपछि दिनेशलाई भेट्न उनका बुवा बाल सुधार गृह पुगेका थिए ।

दिनेशका बुबा दीपकसँग भएको कुराकानीमा सुरक्षाकर्मी (गार्ड) को सामुन्ने नै घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर बयान दिन लगाएको बताएको उनका बुवा दीपकराज भट्टले बताएका छन् । दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन् । उनीहरूले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ ।



‘घाँटीमा चक्कु राखेर घटनाबारे बाहिर भन्यौ भने तिमी, तिम्रो बुवा र भाइलाई मार्छौँ भन्दै धम्की दिए । त्यसपछि मैले अपराध स्वीकारेको हुँ । मैले भागरथीलाई मारेको होइन,’ दिनेशको भनाइ उद्धृत गर्दै दीपकले भने, ‘उनीहरूले नै मलाई मोबाइल, ब्याट्री देखाएका थिए ।’ बाइकमा रहेका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशले बुवालाई सुनाएका थिए ।

यसअघि अभियुक्त किशोरले प्रहरी, सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधीशलाई दिएको बयानका बेला दीपक पनि सँगै थिए । त्यतिबेला उनले बुवाकै सामुन्ने भागरथीको हत्या र बलात्कार आफैंले गरेको बयान दिएका थिए । २१ माघमा सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको विद्यालयबाट घर फर्किने क्रममा बलात्कारपछि हत्या गरिएको थियो ।

उनको अर्को दिन घर नजिकैको स्थानीय लबलेक सामुदायिक वनमा शव भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ५ फागुनमा भागरथीका छिमेकी तथा उनकै विद्यालयको कक्षा ११ मा पढ्ने दिनेशलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।



उनले प्रहरी, परिवारका सदस्य, सरकारी वकिल, अदालतमा अपराध स्वीकारेको बयान दिएका थिए । त्यसपछि जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएपछि अभियुक्त दिनेशलाई २६ फागुनमा डोटी पुर्‍याइएको हो ।

परिवारले गरे बसाईंसराई



दीपकराज भट्ट परिवार २९ फागुनमा गाउँ छाडेर मधेशतिर झरेका थिए ।

भागरथी घटनामा १६ वर्षीय दिनेश मुछिएपछि उनको परिवारले गाउँ नै छाडेका हुन् । भागरथी हत्या प्रकरणमा छोरा पक्राउ परेपछि सृजित सामाजिक वातावरणले बसाई सर्नु परेको दीपकले दाबी गरेका छन् ।

‘दिनेशसँगैका साथीहरू, भागरथीको परिवार, गाउँलेहरूले हेर्ने दृष्टिकोणले गाउँमा बस्न मनले मानेन,’ उनले भने, ‘त्यसपछि घर, खेतीपाती, चौपाया त्यस्तै छाडेर तराई झरेँ ।’ दीपक २ छोरा, १ छोरी, श्रीमती, भाइ, भाइ–बुहारी र भाइको छोरीलाई लिएर पहाडबाट बसाई सरी महेन्द्रनगर आएका हुन् ।

उनीहरू अहिले कोठा भाडामा लिएर बसेका छन् । दिनेशलाई यस्तो दम्की दिएको खबर बाहिर आएपछि परिवार त्रसित भएको छ । ‘पहाड घरमा गहुँ काट्नु पर्ने भएको छ । अब केही दिनमा गहुँ काट्न गाउँ जाने सोचेको थिएँ’, दीपकले प्रश्न गर्दै भने, ‘तर अब कसरी जाने ? छोराले यस्तो कुरा भनेपछि डराएका छौँ ।’ दिनेशको परिवारले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानबिन हुनुपर्ने माग गरेको छ ।

के भन्छ प्रहरी ?

अभियुक्त दिनेशको पछिल्लो अभिव्यक्ति बाहिरिएसँगै स्थानीयले प्रहरीको अनुसन्धानमा प्रश्न उठाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह भने अपराधी आफू बच्नका लागि घटनालाई मोड्न खोजिरहेको बताए ।

‘परिवारका सदस्य, प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा साविती बयान दिएका छन् । तथ्य र प्रमाणले उनै एक्लैलाई इंगित गरेको छ’ एसएसपी सिंहले भने, ‘हामीले विभिन्न कोणबाट अनुसन्धान सकेर स–प्रमाण अदालतमा पेस गरेका हौँ । पछिल्लो पटक आएको कुरा अपराधी बच्नका लागि घटनालाई टुइस्ट गर्न खोजेको बाहेक केही होइन ।’

घटनास्थलको उपस्थिति, अभियुक्तले भनेको ठाउँमा भागरथीका सामान पाइनु, साविती बयान लगायत विभिन्न तथ्यले दिनेशलाई दोषी देखाएको उनको भनाइ छ ।

  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार २०:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया