logo-img

मप विश्वविद्यालय ‘स्कुल अफ ल’को प्रवेश परीक्षा विवादित, नयाँ परीक्षाका लागि सूचना जारी

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी)को नयाँ भर्नाका लागि भएको प्रवेश परीक्षा विवादमा परेको छ । फागुन १७, १८ र १९ गते लिखित र मौखिक परीक्षा हुनुपूर्व नै प्रश्नपत्र बाहिरिएको भन्दै अनुत्तीर्ण भएका विद्यार्थीले पुनः परीक्षा गराउन माग गरेका थिए । 

विद्यार्थीहरुले पक्षपातपूर्ण व्यवहार भएकाले छानबिनको माग गर्दै दिएको पत्रका आधारमा विश्वविद्यालयले २५ फागुनमा छानबिन समिति गठन गरेको थियो । समितिमा परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीको संयोजकत्वमा उपप्रााध्यापक नरेन्द्र साउद र अधिवक्ता दुर्गा सापकोटा सदस्य थिए । 

छानबिन समितिको प्रतिवेदनका आधारमा बुधबार क्याम्पस प्रशासनले सो परीक्षा रद्द गरेर परीक्षाको नयाँ मिति तोकेर सूचना जारी गरेको छ । क्याम्पस प्रशासनले विनाकारण प्रवेश परीक्षा रद्द गरेको भन्दै उत्तीर्ण विद्यार्थी उपकुलपतिको कार्यालयमा धर्नामा बसेका छन् । 



छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी सानो सूचनाको भरमा परीक्षा रद्द गर्न नमिल्ने उनीहरुको भनाइ छ । बुधबार राति अबेरसम्म धर्नामा बसेका विद्यार्थी बिहीबार पनि धर्नामा छन् । आन्दोलनरत विद्यार्थीको नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले ऐक्यबद्धता जनाएका छन् । 
 
नेपाल विद्यार्थी संघका नेता राजन केसीले आफ्ना स्वार्थ पूरा गर्न छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी सूचनाका भरमा परीक्षा रद्द गरिएको आरोप लगाए । ‘छानबिन समितिले ७२ पृष्ठ लामो प्रतिवेदन बुझाएको सुनेका छौँ । तर, त्यो हामीलाई उपकुलपति कार्यालयले उपलब्ध गराएको छैन । किन परीक्षा रद्द गरियो भन्दा विश्वविद्यालय प्रशासन मौन छ ।’

यसअघि विद्यार्थीले बुधबार ल क्याम्पसमा तालाबन्दी गरेका थिए । सो ताला क्याम्पस प्रशासनले फुटाएको थियो । 

विश्वविद्यालयले छानबिन समितिको प्रतिवेदनका आधारमा भन्दै ‘स्कुल अफ ल’का निर्देशक अर्जुन एइडी र उप–प्राध्यापक सुजन पन्तलाई कारबाही गरेको छ । एइडीको ठाउँमा विश्वविद्यालयले उपेन्द्र बहादुर विकलाई नियुक्त गरेको छ । विनाविज्ञापन पहुँचका आधारमा नियुक्ति गरिएको भन्दै विद्यार्थीले त्यसमा पनि विरोध जनाएका छन् । 



तत्काल परीक्षा गराउन माग

‘स्कुल अफ ल’को प्रवेश परीक्षाको नतिजा आएदेखि नै असन्तुष्ट रहेका अनुत्तीर्ण विद्यार्थीले तत्काल पुनः परीक्षा गराउन माग गरेका छन् । फागुन २१ गते परीक्षाको नतिजा आए यतादेखि नै पुनः परीक्षा गराउन माग गर्दै आएका विद्यार्थीले परीक्षा रद्द गरेर पुनः गराउने निर्णयलाई स्वागत गरेका छन् । 



बिहीबार ज्ञापन पत्र बुझाउँदै संघर्ष समितिका संयोजक कलम थापाले खारेज गरिएको प्रवेश परीक्षा छिटोभन्दा छिटो नयाँ मिति तोकेर सञ्चालन गर्नुपर्ने बताए । प्रवेश परीक्षाको प्रश्नपत्र निर्माण गर्ने र अन्तर्वातामा रहने प्राध्यापक कुनै पनि निजी कलेजमा संग्लग्न नभएको हुनुपर्ने उनीहरुको माग छ । 

  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १९:६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया