'ओलीले बालुवाटारमा हाम्रो अपमान गरे, धुम्बाराहीमा ताला लगाए'
ओलीमा कम्युनिष्ट चरित्र नै छैन, षडयन्त्र गर्न माहिर छन्

२३ फागुनमा सर्वोच्च अदालतको फैसलाले झण्डै तीन वर्षपछि नेकपा एमाले फेरि अस्तित्वमा आएको छ। तर, एकीकृत शब्दबाट नाम सुरु हुने यो पार्टीमा  झगडा यस्तो अवस्थामा पुगेको छ, अब नेताहरुले एकअर्कासँग डिभोर्स गर्दैछन्। अहिले उनीहरु उनीहरु व्यक्तिगतस्तरमा झरेर आरोप प्रत्यारोपमा व्यस्त छन्। सर्वोच्चको फैसलाले एउटै पार्टीमा भए पनि नेकपामा केपी शर्मा ओली र माधवकुमार नेपाल-झलनाथ खनालका अभिव्यक्तिले उनीहरु दुई ध्रुवमा पुगेका छन्। नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दीमा लागेका नेताहरुमध्ये एकजना हुन् अष्टलक्ष्मी शाक्य। एमालेमा नेपाल समूहकी प्रभावशाली नेतृ शाक्य पछिल्लो समय खरो शैलीमा ओलीविरुद्ध लागेकी छिन्। उनले आफूलाई ओलीले नै मुख्यमन्त्री बन्न नदिएको आरोप पनि लगाएकी छन्। ओलीका कारण आफू निरन्तर अन्यायमा परेको बताउँदै आएकी नेतृ शाक्यसँग फरकधारका रुपक चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

हिजो नेपाल कम्युनिस्ट पार्टीमा हुँदा होस् या आज एमाले हुँदा नै प्रधानमन्त्री तथा तपाईंकै पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति तपाईंहरु निकै आक्रामक हुनुहुन्छ। के ओलीसँग मिल्ने सबै ढोका बन्द भएका हुन् ?

ढोका सबै बन्द भएको पनि होइन। हामीले अदालतको निर्णय मान्नै पर्छ, अदालतको निर्णयलाई सम्मान गर्नैपर्छ। २३ फागुनमा सर्वोच्चले जे निर्णय गर्यो, त्यसले हाम्रो पार्टी एमालेलाई पुरानै अवस्था फर्काइदिएर केपी ओलीलाई पुरानै अध्यक्षमा फर्काइदियो। हामीलाई त अब उहाँले स्वीकारेर खुसीसाथ बैठक बसौँ भन्ने सन्देश पठाउनु पर्ने थियो। तर, उहाँले उल्टै हामीलाई पदाधिकारीबाट निकालिदिएर बैठकमा नआओस् भन्ने ढंगमा अगाडि बढ्नु भयो।

यसको अर्थ हो, उहाँ एकलौटी ढंगले अगाडि बढ्नुभयो। एक पक्षीय हिसाबमा अगाडि बढ्नु भएको छ। उहाँले जे गर्नुभएको छ, त्यो सबै एकलौटी गर्नुभएको छ। अनि हामीसँग उहाँका असमझदारी थप बढ्दै गएका छन्। यो सबै हुनुको मुख्य कारक नै ओली हो। उहाँ मनोमानी ढंगमा एकतर्फी रुपमा अगाडि बढ्न थालेपछि हामीले आफ्ना शक्तिहरूलाई सुरक्षित राखेका छौँ, त्यसलाई एकतावद्ध र सुदृढ गर्न हामी लागेका हौँ। फलस्वरुप हामीले राष्ट्रिय भेला गर्यौँ। संगठनहरुको पनि भेला गरिरहेका छौँ। कम्तीमा पनि संगठन बनाइराख्नु पर्छ, छरपस्ट बनाउन हुँदैन भनेर हामी लागेका हौँ। तर, केपी ओलीले त हाम्रो अस्तित्व नै स्वीकार गर्नु भएको छैन। मैले माधव कमरेडलाई सोधेकी थिएँ- के उहाँको फोन आएको छ ? उहाँले छैन भन्नुभयो। निरंकुशता, एकलौटी शैलीमा समस्या बढाएर उहाँ अगाडि बढ्नु भएको छ। यसले थप जटिलता बढाउँदै लगेको छ।

दूरी बढ्दै जाँदा २०५४ सालमा जस्तै यसपटक पनि एमाले विभाजित हुन्छ भन्ने अनुमान हुन थालेका छन्। अब कहिले फुट्ला त एमाले ? कहिले बन्लान् दुई पार्टी ?

हो, एउटा पार्टी निर्माण हुन जति गाह्रो छ, फुट्न त्यति गाह्रो छैन। नेतृत्वले आआफ्नो स्वार्थमा काम गर्न थालेपछि पार्टी फुट्न कति समय लाग्छ र ? २०५४ सालमा पनि त पार्टी क्षणभरमै फुटेको हो। तर, पछि त्यसलाई पुनः संगठित गर्न निकै जटिल भएको थियो, निराशा बढेको थियो। त्यसले पार्टीलाई छिन्नभिन्न बनाएको थियो।



यसको अर्थ, निर्माणका लागि जति कठिन छ, त्यति फुट्न कठिन छैन, सहज छ। निर्माणका लागि जति त्याग गर्नुपर्छ, फुट्नका लागि त्यस्तो ठूलो त्याग चाहिँदैन। हामीले अहिले पनि त्यही कुरा भनिरहेका छौँ। माधव कमरेडको, झलनाथ कमरेडको तर्फबाट पनि हामीले भनिरहेका छौँ कि हामीले पार्टीमा दुःख गरेका छौँ, त्याग गरेका छौँ। त्यसैले पनि हामी अहिले फुट्न चाहँदैनौँ। यसबीचमा हामीले धेरै दुःख, संघर्ष र बलिदान गरेका छौँ। त्यसैले पनि अहिले पार्टी फुट्नु हुँदैन। यो पार्टीले लामो इतिहास बोकेको छ। कमरेड पुष्पलालको पालादेखि लगातार आन्दोलन गरेर अघि बढेको पार्टी हो। त्यसैले पनि हामी अहिले फुट्न चाहँदैनौँ, एकजुट भएर हामी अगाडि बढ्नु पर्छ।

तपाईंहरु यसो भन्नुहुन्छ। तर, पार्टी अध्यक्ष केपी शर्मा ओली त उहाँकै भाषामा आफूलाई ‘धकेलेर निकाल्न’ खोजिएको भनिरहनु भएको छ। महाधिवेशन कुरेर बिदा गर्दा पनि हुन्थ्यो होला नि ?



केपी ओलीलाई धकेलेर निकाल्ने हाम्रो कुरै छैन। बरु, विचार केपी ओलीसँग कमजोर भयो। हामी त्यहाँ बसिरहँदा पनि धकेल्याधकेल्यै त थियो नि। विभिन्न हिसाबले हामीलाई छेउछाउमा पार्दै लगिएको त थियो नि। हिजो पार्टीभित्र बसिरहँदा पनि धेरै पीडा सहेरै बसिरहेका थियौं हामी। धेरै वैचारिक संघर्ष गरेरै बसिरहेका थियौं। नीतिगत हिसाबले पनि विधान विपरित भयो, विधि विपरीत भयो भने लडेरै बसिरहेका थियौं नि त। पार्टी एकीकरण त उहाँकै प्रस्ताव भएको हो नि।

एमाले र माओवादी मिल्नुपर्यो, एकीकरण गर्नुपर्‍यो भनेर उहाँले नै पहल गरेर २०७५ जेठ ३ गते घोषणा त उहाँले नै गरेको हो। हामीले धेरै हिसाबले त्यसलाई स्वीकार्यौँ। कम्युनिष्ट पार्टी विशाल हुने भयो, शक्तिशाली हुने भयो भने हामीले त केही पनि होइन भनेर उपाध्यक्ष पद पनि छाडेका पनि हौं। अर्को, शान्तिपूर्ण बाटोमा देश अगाडि बढ्ने भयो, राम्रो वातावरण बन्ने भयो भनेर छाडेकै हौँ। माधव नेपाल, झलनाथ खनाल लगायत हामी सबैले त्यसलाई सहर्ष स्वीकारेका हौं। 

तर, उहाँ यसकै भर्‍याङ चढेर प्रधानमन्त्री बन्नुभयो र एकता प्रक्रिया जिरोमा झार्नुभयो। त्यहाँभन्दा केही गर्नुभएन, उहाँ (प्रधानमन्त्री) ले। जति पनि एकीकरण गरे मिलाउनपर्ने त्यो केही पनि गर्नुभएन। ढाँटिराख्नुभयो। त्यसकारण उहाँ पनि अत्यन्तै आफ्नो स्वार्थ हेर्ने मान्छे हुनुभयो। पहिलेदेखि पनि उहाँ त्यस्तै हो। तर, हामी भित्रै लडेका थियौं। त्यसपछि उहाँले छाडेपछि हामी अलग-अलग भयौं। उहाँकै कारणले अलग हुनपर्ने बाध्यता आयो। अलग भएर गइराख्दा पनि उहाँले प्रतिगमन गर्नुभयो। 

अहिले उहाँभित्र कम्युनिष्ट विचार मात्रै होइन, लोकतन्त्र नै छैन। लोकतन्त्र, गणतन्त्र नै उहाँले त सिध्याउन खोजेकै हो नि। संसद विघटन गरेर प्रतिगमन गरेकै हो नि त। उहाँ देशमा लोकतन्त्र नहोस्, गणतन्त्र नहोस्, संसद पनि नहोस्, संविधान नहोस्, पूरै निरङ्कुशताको फेरि झझल्को दिनेगरी सम्पूर्ण गतिविधि गरिराख्नुभएको छ। त्यसैले हामी भनिरहेका छौं, केपी ओलीमा कम्युनिष्ट चरित्र देखिएन, उहाँले तानाशाही चरित्र बोक्नुभयो, एकलौटी सोच बोक्नुभयो। 

यही कारणले आज यो अवस्था पुगेको छ। हामीलाई मिल्न गाह्रो पनि कहाँनिर भएको छ भन्दा, वैचारिक संघर्ष भइदिएको भए, त्यो अनुसार अघि बढिराख्ने स्थिति भएको भए त, यो अवस्था आउने थिएन। तर, पूरै प्रतिगामी, लोकतन्त्र, गणतन्त्र धरापमा पारिराखेको अवस्था छ। उहाँले कम्युनिष्ट आन्दोलन सिद्याइराखेको अवस्था, कम्युनिष्ट पार्टीको अन्त्य नै होस भनेर गइराखेको अवस्था छ। उहाँ जसरी हिँडि राख्नुभएको छ, हामी त्यसको विपरीतमा छौं। कम्युनिष्ट पार्टी जोगाउनु पर्‍यो, लोकतन्त्र जोगाउनु पर्‍यो, गणतन्त्र जोगाउनु पर्‍यो, संविधान जोगाउनु पर्छ भनेर हामी त्यो दिशामा गइराखेका छौं। त्यसकारण, यही अन्तरविरोधले मिल्ने अवस्था नभएको हो। 

२८ फागुनमा बालुवाटारबाट केपी ओलीले गरेका निर्णयपछि असन्तुष्टि चुलिएको देखिन्छ। अहिले तपाईंहरु समानान्तर कमिटी गठन प्रक्रियामा हुनुहुन्छ। समानान्तर कमिटीको अभ्यासका लागि पनि केन्द्रीय कमिटी र संसदीय दलमा ४०/४० प्रतिशत हुनुपर्ने देखिन्छ। कुन हैसियतमा पार्टीका समानान्तर गतिविधि गर्न मिल्छ ? यसले त पार्टी झन ध्वस्त हुने अवस्था आउँदैन र ?

होइन, समानान्तर भनेर हामीले त्यो ढंगले गरिराखेका छैनौं। केपी ओलीसँग जान नसक्ने, ओलीले गलत बाटो रोज्नुभयो भन्ने शक्तिहरूलाई अलपत्र पारेर जेसुकै होस भन्न सकिन्न नि त। उहाँहरु पनि त युवा पुस्ताकै कुरा गर्दा लगातार पार्टीमा लाग्नुभएको छ। कम्तीमा देशमा केही हुन्छ कि, पार्टीले केही गर्छ कि भनेर आशाका साथ लागिरहनुभएको छ। अनि त्यो भावनालाई कुल्चिन मिल्दैन नि त ? त्यो भावना त देश विकास र लोकतन्त्र र गणतन्त्र जोगाउन पनि आवश्यक छ। 

त्यसकारण हामीसँगको सम्पूर्ण शक्तिलाई एकताबद्ध बनाइराख्न जरुरी छ। हाम्रो कुरा त्यो हो। हामी ओलीसँग बिमत्ति राख्नेहरूलाई अभिभावकविहीन बन्न दिँदैनौँ, त्यो मिल्दैन पनि। हाम्रो सिंगो पंक्ति भनेको लोकतन्त्र प्रेमीहरूको पंक्ति हो। गणतन्त्र प्रेमीहरूको पंक्ति हो। यो पङ्क्तिलाई जोगाउने एउटै आधार भनेको संगठन हो। त्यसैले यो संगठनको आवश्यकता भएको हो। आ-आफ्नो ठाउँमा आवद्ध भएर गतिविधि गर्न सकियोस् भन्ने कुरा हो नि। हामीले वैचारिक संघर्ष गरिरहँदा जब हामी चाहिँ एउटा सम्पूर्ण शक्तिलाई आवद्ध गर्छौं, त्यो शक्तिले हामीलाई आवद्ध गर्छ, त्यो शक्तिले नै राजनीतिक संघर्ष गर्छ। 

केपी ओलीजीसँग राजनीतिक, वैचारिक संघर्ष गरिरहँदा त्यो शक्ति बलियो हुनुपर्छ। नभए, केपी ओली आफ्नै ढंगले अनेकौं षड्यन्त्र, जालझेल गरेर अघि बढ्नु भएको छ। उहाँ षड्यन्त्र गर्न माहिर हुनुहुन्छ। गुट चलाएर बस्नु भएको छ। कोही चुइँक्क बोल्न सक्ने अवस्था बनाएको छैन। यत्रो गलत काम गरिरहँदा त्यो ढंगले नै आवाज उठिरहेको देखिँदैन नि। यो हुँदै गएपछि हामी र सिंगो देशको राजनीतिक अवस्था पनि पछाडि धकेलिएको छ। 

देश गलत दिशामा जान्छ। र, हामीले सोच्दा नसोच्दै फेरि पनि पुरानै निरंकुश शासनतर्फ जान्छ। हामीले ल्याएको लोकतन्त्र, गणतन्त्र र धरापमा पर्दै, कमजोर हुँदै जान्छ। त्यसो भएकाले हामीले गरेको संगठन निर्माण समानान्तर भन्दा राजनीतिक वैचारिक, संगठनात्मक हिसाबले सुदृढ गरे लानुपर्छ भनेर बनाइएको हो। सिंगो देशलाई असजिलो परेको बेला उभिने शक्ति हो संगठन भनेको। केपी ओलीको गतल प्रवृत्तिविरुद्ध जुध्न पनि यो आवश्यक छ। 

ओलीविरुद्ध जुध्नैका लागि समानान्तर संगठन बनाइराख्नु भएको उसो भए ?

आफ्नो घरमा झगडा पर्‍यो भनेर कुनै पनि साथीलाई नभेट्ने भन्ने कुरा आउँछ र ? मन मिल्ने साथीहरुसँग त बस्नैपर्छ नि। एक्लै बसेर रोएर त चल्दैन नि। दिक्क मानेर वा निराश भए चल्दैन नि। परिवर्तनका लागि संघर्ष गरिरहँदा कहिले के हुने, कहिले के हुने। कहिले प्लस, कहिले माइनस हुन्छ। त्यसमा आत्तिएर पनि हुँदैन। हामीले कम्युनिष्ट आन्दोलनमा लाग्दा २०५४ सालमा त प्रशिक्षित नै थियौं, विभाजनको। त्यो भन्दा अगाडि पनि हामीले धेरै कुरा झेल्यौँ। विभिन्न अप्ठेरो झेल्दै यो ठाउँसम्म आइपुग्यौँ। यसलाई बचाउन कमिटीको आवश्यकता छ यतिबेला। 

अब कसरी बुझ्ने, एमालेको लडाइँ वैचारिक हो या जुँगाको लडाइँ ?

यो वैचारिक लडाइँ हो। केपी ओलीसँग हामी अलग्गै बसेर लडिरहेका छौं। त्यो वैचारिक, सैद्धान्तिक र राजनीतिक लडाइँ नै हो। किनभने, केपी ओली विचारबाट च्युत हुनुभयो, कम्युनिष्ट सिद्धान्त, कम्युनिष्ट विचार, कम्युनिष्ट आचरण, कम्युनिष्ट भावना उहाँमा रहेन। यदि रहेको भए वा त्यो थोरैमात्र बाँकी भएको भए उहाँले प्रतिगमन गर्ने थिएन। 

अहिले पार्टीभित्र सम्पूर्ण शक्ति लिन विधान कुल्चिँदै ओली अघि बढेका छन्। अरु सबै कुरा केही होइन, अरु पंक्ति केही होइन भन्ने तहबाट सबै निर्णय गर्न सक्ने, पार्टीभित्र पनि निर्णय गर्न सक्ने त्यो खालको विधान कुल्चिएर विधिहरु तय गरिएको छ। सत्तामा पनि त्यही ढंगले कदम चालिरहेको अवस्था छ, पार्टीभित्र पनि त्यही ढंगले एकलौटी निरंकुश शैलीबाट ओली चल्नुभएको छ। कम्युनिष्ट पार्टीभित्र पनि निरंकुश शासक हुन्छ र ?उहाँले आफू त्यस्तो बन्न विधान नै कुल्चिरहनु भएको छ। 

यदि तपाईंहरुबीच वैचारिक लडाइँ हो भने, जनताको बहुदलीय जनवाद, जनताको जनवाद, एक्काइसौं शताब्दीको जनवाद वा कुनै एउटा मुद्दा यतिबेला उठेको हुनसक्थ्यो होला नि ? वा ओलीले भनेजस्तै समाजवादको प्रस्थान विन्दु हुनसक्थ्यो होला नि ?

बाहिर देख्दा पदको लडाइँ वा जुँगाको लडाइँ जस्तो देखिन्छ। हामीसँग केपी ओलीको प्रष्ट लडाइँ भनेको वैचारिक लडाइँ नै हो। उहाँ गुट गर्न चाहने, एकलौटी गर्न चाहने, निरंकुश ढंगले लाद्न चाहने, तपाईंहरु केही होइन, म नै सर्वेसर्वा हो भन्न चाहने। अनि हामी चाहिँ कम्युनिष्ट पार्टी विधिसम्मत ढंगले चलाउनु पर्‍यो, विचारबाट चलाउनु पर्‍यो भनेर सुरु गरेका छौं। 

विधि र विधानकै कुरा गरिरहँदा २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि पेरिस डाँडाबाट तपाईंहरु धुम्बाराही वा बालुवाटार जानुपर्ने हो। तर, तपाईंहरु होटल अर्यालतिरै अलमलिनु भयो। यसले त अध्यक्ष ओलीलाई बिच्काउने काम गरेन र ?

बालुवाटार जाने कुरै छैन। बालुवाटार बस्दा बस्दा पेलिएर अपमानित भएर फर्केका हौँ। बालुवाटारमा केपी ओलीलाई सजिलो होस्, बिरामी मान्छे भनेर गएका मात्रै हौँ। अझ, डाक्टरले वरपर नजानु भनेकोले ठीकै छ यो मर्म हामीले बुझ्नुपर्छ भनेर आलोचना हुँदाहुँदै पनि बसेका हौं नि। तर, उहाँ त्यहीँ कोठामा हुँदा पनि बैठकमा ओर्लनुभएन। त्यो अपमान गरेको घटना त ताजै छ। त्यसरी अपमानित भएर बालुवाटारबाट निस्किएको हामी फेरि बालुवाटारमै गएर बैठक बस्ने कुरा त आउँदै आउँदैन। 

धुम्बाराहीमा त झन् हाम्रा लागि ताला नै बन्द। त्यहाँ हामीलाई छिर्नै दिइएको थिएन। अहिले पनि छिर्नै दिइँदैन, तालाबन्दी छ। एकलौटी गरिएको छ क्या। त्यसकारण  बाध्य भएर हामी बाहिर बस्नुपर्ने स्थिति आएको हो। उहाँ (प्रधानमन्त्री) त अभिभावक हो नि। परिवार मिलाउन पनि आमाबुवा नै चाहिन्छ। आमाबुवाले नै हो नि, कहाँ बिग्रियो, कहाँ भत्कियो, कसरी पुनर्मिलन गर्ने, परिवार कसरी मिलेर अगाडि बढाउने भन्ने त। अभिभावकले चाहिँ वास्तै नगरी हेपेर व्यवहार गरेपछि चल्दैन नि। 

प्रस्ट भन्दा यो वैचारिक लडाइँ नै हो, यो विधिका लागि लडाइँ हो, यो आचरण, व्यवहारको लडाइँ हो। जबज र समाजवादको त ओलीलाई मतलब नै छैन। कसरी समाजवादमा पुग्ने ? के हो समाजवाद ? राजतन्त्रात्मक व्यवस्था अन्त्य गरेर गणतन्त्र ल्याइरहँदा हामी कुन चरणमा पुग्यौं ? नयाँ ढंगले आर्थिक रुपान्तरण कसरी गर्ने ? राष्ट्रको विकास कसरी गर्ने ? दलाल पूँजीवादलाई कसरी विस्थापित गर्ने ? सामाजिक सांस्कृतिक रुपान्तरण आवश्यक छ। हाम्रो सामन्ती व्यवस्थाका कारण संस्कृति र संस्कार अत्यन्तै विभेदकारी छ, त्यसलाई रुपान्तरित गर्ने कुराका लागि उहाँले कहिल्यै बैठक चलाउनु भएन। उहाँ त विचार नै शून्य भएको मान्छे हो नि त। यो हिसाबले समाजवादमा पुगिँदैन।

जबजको विषयमा त्यसको विरोधी नै हो नि केपी ओली त। देखाउन मात्रै जबजको कुरा उठाउनु भएको हो उहाँले। दुनियाँलाई देखाउन। जबज पारित गराउने सवालमा त जति माधव नेपालको भूमिका रह्यो, जसरी हामीले मदन कमरेड मदन भण्डारीलाई सहयोग गर्‍यौं। तर, उहाँले त त्यो गर्नुभएन। अहिले दुनियाँलाई देखाउन जबजको सहयोगी जस्तो देखाउनुभएको छ, त्यो गलत हो। जबजले हामीलाई ०६२/६३ सालको आन्दोलनसम्म पुर्‍याएको हो। २०४६ सालको आन्दोलन भइसकेपछि हामीले मार्क्सवाद, लेनिनवादलाई आँखा चिम्लेर पनि लागु गर्न हुँदैन। किनभने, रुसको घटनाबाट हामी प्रभावित भयौं, सिक्यौँ। त्यो मार्क्सवाद, लेनिनवादलाई सिक्न प्रयोग गर्नुपर्छ। त्यो माध्यम भनेको जनताको बहुदलीय जनवाद हो। जबजलाई प्रयोग गरेर नयाँ परिवेशमा जानुपर्छ भन्यौं। 

अहिले त जबजले पनि नबोकेका धेरै कुरा प्राप्त भयो। संघीयतादेखि समानुपातिक समावेशीतासम्मका धेरै कुराहरु छन्। गणतन्त्र आइरहँदा धेरै उचाइमा हामी पुगिसक्यौँ। जबजलाई पनि धेरै रुपान्तरित गर्नुपर्ने, नयाँ कुरा प्रवेश गर्नुपर्ने हुँदा ख्याल गर्नुपर्छ। त्यसकारण जबजविरुद्धको मान्यतालाई हामीले स्थापित गर्दै अझै नयाँ उचाइका साथ अघि बढ्नुपर्छ भन्ने राष्ट्रिय भेलाको नारा पनि भयो। 

केपी ओली विचारमा कमजोर मान्छे हो। उहाँ वैचारिक छलफल गर्नै चाहनुहुन्न। वास्तवमा उहाँ राजनीतिक, वैचारिक र सैद्धान्तिक हिसाबले कमजोर मान्छे भएकाले जानी जानी गलत बाटोमा जानुभएको छ। उहाँलाई कम्युनिष्टहरुको उद्धेश्य प्राप्त गर्नु छैन। गणतन्त्र विरोधी मान्छे नै सत्ता प्रमुख छ, प्रधानमन्त्री भएको छ, त्यो ठाउँमा हामीले नै पुर्‍याएको छ। हुन त हाम्रो पनि कमजोरी भएको छ यसबीचमा, तर आज पनि सिंगै देशका लागि यो दुर्भाग्य हो। 

एमालेलाई कम्युनिष्ट आन्दोलनको अभिभावक मानिरहँदा ओलीले पेलेरै जाने र तपाईंहरु प्रतिरोध गरिरहने अनि कसरी कम्युनिष्टहरुको मिलनबिन्दु भेटिन्छ ?

मिलनबिन्दु एकपक्षीय ढंगबाट मात्र भेटिँदैन। हामी मिल्न चाहन्छौं, उहाँ परपर जान चाहनुहुन्छ। तर पनि हामीले उहाँलाई कम्तीमा सच्याउन प्रयास गरिरहेका छौं। यत्रो आलोचना भइरहँदा थोरै थोरै मात्रै आशा लाग्छ। किनभने, केपी ओली दम्भ भएको मान्छे हो। जब विचार शुन्य हुन्छ, एउटा राजनीतिक वैचारिक रुपबाट कमजोर हुन्छ, त्यो मान्छेमा घमण्ड नै हुन्छ। त्यो पनि प्रधानमन्त्री जस्तो ठाउँमा बसेर यति दम्भ पालेको छ, त्यो अवस्थामा सबैलाई पेलेर एकलौटी शासक बन्न खोजिएको देखिन्छ। यसले उहाँलाई ठीक ठाउँमा पुर्‍याउँदैन र मिल्ने बिन्दु पनि कमजोर हुँदै जान्छ। हामीले कम्युनिष्ट आन्दोलनलाई बचाउनै पर्छ, नेपाल कम्युनिष्ट पार्टीलाई बचाउनै पर्छ, हाम्रो त्याग, बलिदान दुःख कष्ट सम्झिएर यो मुलुकबाट कम्युनिष्ट पार्टी सिद्धियो रे, कमजोर भयो रे भन्ने अवस्थामा पुर्‍याउन हुँदैन। त्यसलाई जोगाउन पनि अन्तिमसम्म लड्नै पर्छ। हामी लड्छौँ। 

तपाईंहरुसँगै आन्दोलनमा हुनुभएका सांसद कृष्णभक्त पोखरेल माफी पाऊँ भन्दै बालुवाटार पुग्नुभयो। तपाईंहरुले आफ्नै सांसदलाई होल्ड गर्न सक्नुभएको छैन। यो अवस्थामा मिलनबिन्दु खोजिरहँदा उहाँ जस्ता सांसद त रोक्न सक्नुपर्थ्यो नि होइन?

व्यक्ति-व्यक्तिलाई जोगाइराख्ने कुरा कस्तो हुँदोरहेछ भने, सबै मान्छेलाई साँच्चै म ठीक बाटोमा लागेको छु भन्ने नलाग्न सक्छ। उहाँ (कृष्णभक्त पोखरेल) त आन्दोलनमा पनि सबै हिसाबले केपी ओली गलत छन् भनेर लाग्नुभयो। तर, उहाँलाई अन्तिममा डर पनि लाग्यो होला, पद कसरी जोगाउने भनेर। सत्ता उतै छ। त्यो सत्तासँग लडिरहँदा निर्मम नै हुन्छ यी सबै कुरा जोगाउन। 

प्रत्येक लडाइँको मोर्चामा त्यो उचाइमा आफूलाई उभ्याउन सक्नुपर्छ सबैले। म प्रतिगमनविरुद्ध लडिरहेको छु, म निरङ्कुशतासँग लडिरहेको छु, म ओलीको एकलौटी प्रवृत्तिविरुद्ध लड्न तयार छु भनेर अडिग हुनुपर्यो। सत्तासँग लड्नुपर्छ, फेरि उता पद छ, मान्छेलाई पदले तानिरहेको देखाउँछन्। परिवारदेखि समाजसम्म देखाउने एउटा महत्वपूर्ण चिज भएकाले मान्छेलाई अनेकौं कुराले छुन्छ। अरु साथीहरुमा मनस्थिति कमजोर भएको म देख्दिनँ। 

पार्टी जोगियो भने, लोकतन्त्र, गणतन्त्र जोगियो भने सबै कुरा हुन्छ भन्ने बुझ्नुपर्यो। केपी ओली सत्तामा र हामी बाहिरबाट लड्दा पद, सुविधा लगायतका सबै कुरासँग पनि लड्नुपर्यो नि। यो कम्युनिष्ट पार्टी आन्दोलनसँग मात्रै जोडिएको छैन। मैले भनेको, सत्ता र पदसँगको लडाइँ पनि हो। त्यो सँग लडिरहँदा मोर्चाका प्रत्येक सदस्यले पद र सुविधा त्याग्न सक्छु भन्न सक्नुपर्छ। लोकतन्त्र, गणतन्त्र जोगियो, कम्युनिष्ट आन्दोलन जोगियो भने त नेपाली जनताले माया गर्न सक्छन्। जनतासँग माफी मागेर फेरि पनि जनताको विश्वास जित्न सक्छौं। गणतन्त्र, लोकतन्त्र भएन भने त पार्टी नै हुँदैन। यसविरुद्धको लडाइँ हो भनेर बुझ्न उहाँहरुमा समस्या भएको पनि हुनसक्छ। 

दलको नेता प्रतिनिधिसभा सदस्यले मात्रै चुन्न पाउने निर्णय भएको छ। कसरी हेर्नु भएको छ यो निर्णयलाई ?

यो जथाभावी र आफ्नो खुसीले मनलाग्दी ढंगले गरिएको निर्णय हो। त्यो आफ्नो अनुकुल बनाउने निर्णय मात्रै हो। यो गलत हो। जे गर्न पनि विधि छ त्यो अनुसार चले भैगो नि। आफूलाई अनुकुल बनाएर त्यसरी निर्णय फेर्न पाइन्छ ? केपी ओली आफूलाई अनुकुल हुने जहाँ जहाँ जे जे मिलाउन पर्छ, त्यो मिलाउँदै गइरहेका छन्। 

अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन पनि गर्छु भन्नुभएको छ। महाधिवेशन हुनसक्ने सम्भावना छ ?

यति जाबो विवाद त मिलाउन सक्नुभएको छैन, ओलीले। कसरी महाधिवेशन गर्न सक्नुहुन्छ ? यत्रो पङ्क्तिलाई बाहिर राखेर कसरी महाधिवेशन गर्छु भन्नु भएको हो? यदि गर्नुहुन्छ भने त्यो ओली गुटको महाधिवेशन मात्रै हुनेछ। 

  • प्रकाशित मिति : चैत १३, २०७७ शुक्रबार १४:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया