logo-img

उल्झनमा माधव नेपाल : संसददेखि सडकसम्म एक्लै !
अबको विकल्प पनि सहज छैन

सत्तारुढ नेकपा एमालेमा अहिले प्रष्ट दुई लाइन छ- एउटा सत्तापक्ष, अर्को प्रतिपक्ष । पार्टीको आधिकारिक अर्थात् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल सत्तापक्षका रुपमा छन् भने वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पार्टीभित्रै प्रतिपक्षको भूमिकामा छन् । 

तत्कालीन नेकपामा देखिएको विवाद साविकको एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि माधव समूह त्यही रुपमा एमालेमा प्रवेश गर्यो । गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गर्दै साविकका एमाले र माओवादीलाई पुनर्जीवन दिएपछि नेकपाको विवाद सर्लक्कै एमालेमा छिर्यो । 

एमाले ब्यूँतिए लगत्तै अध्यक्ष ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर केही निर्णय गराए । जसका कारण एमालेमा फर्कन पेरिस डाँडाबाट बिदा भएर हिँडेका खनाल-नेपाल समूहका नेताहरु बालुवाटार बाहिरै रहने पक्कापक्की भयो । 



फागुन २८ गते अध्यक्ष ओलीले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक राखेर नेकपा रहँदा आफ्नो समूहमा लागेका माओवादी नेताहरुलाई पार्टीमा नयाँ जिम्मेवारी दिँदै आफूविरुद्ध लागेका साविकका एमाले नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरे । 

जसमा वरिष्ठ नेता नेपालको विदेश विभाग प्रमुखको जिम्मेवारी पनि खोसियो । एमाले संस्थापनको उक्त निर्णयसँगै पार्टीमा फेरि नेकपाकै दुई समूह ब्यूँतियो । खनाल-नेपाल समूहले ओलीले फागुन २८ को निर्णय फिर्ता नलिएसम्म पार्टी एकमत हुन नसक्ने अडान लिएपछि एमालेमा पनि नेकपाकै गुटबन्दी ब्यूँतिएको छ । 

ओलीविरुद्ध समानान्तर कमिटी



फागुन २८ को निर्णयपछि एमालेमा अध्यक्ष ओली संस्थापन समूह र खनाल-नेपाल संस्थापन इतरको कित्तामा पुगे । एमालेको बैठक भनेर ओलीले बोलाएको बैठकमा सहभागी हुनका लागि नजाने खनाल-नेपालको निर्णयसँगै बालुवाटार र खनाल-नेपाल समूहबीचको दूरी अझै बढ्यो । 

बालुवाटार र कोटेश्वरबीचको राजनीतिक दूरी बढेसँगै एमालेमा संस्थापनले पार्टीका सबै तहमा आफू अनुकुल संरचना बनाउँदै नेताहरुको पद तथा जिम्मेवारी हेरफेर गरिसकेको छ । त्यसको काउण्टरमा खनाल-नेपाल समूहले पार्टीका सबै संरचनामा समानान्तर कमिटी बनाउने निर्णय गर्यो । 



जसअनुसार खनाल-नेपाल समूहले युवा, विद्यार्थी र महिलाको केन्द्रीय स्तरमा नै समानान्तर कमिटी बनाइसकेको छ। त्यसको निरन्तरता स्वरुप उक्त समूहले ६४ भन्दा बढी जिल्लामा पनि समानान्तर समिति बनाइसकेको छ । प्रदेश इन्चार्जसहित प्रदेशका पदाधिकारी पनि खनाल नेपाल समूहले तोकिसकेको छ । 

प्रचण्डसँगको राजनीतिक लभ

अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएसँगै राजनीतिक रुपमा जुगलबन्दीमा रहेका तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीचको सहयात्रा पूर्णविराम वा कम्तिमा कमा मात्रै भएपनि लाग्न पुग्यो । जसको असर पछिल्लो समयमा नेपाल र प्रचण्डको भाषणहरूमा देखिन थालेको छ । 

पछिल्ला केही भाषणहरूमा नेपाल र प्रचण्ड दुवै नेताहरुले आफूहरुको तत्कालीन नेकपामा रहँदा लभ परेको तर अदालतले बाध्यात्मक अवस्था सिर्जना गराएर डिभोर्स गरिदिएको बताउँदै आएका छन् । प्रचण्डले सर्वोच्चको फैसला लभ परेका श्रीमान श्रीमतीको डिभोर्स गरिदिएको जस्तै भएको बताए । 

‘हाम्रो बडो लभ परिरहेको थियो’ भाषणका क्रममा प्रचण्डले भनेका छन्,  ‘तपाईंहरूले देख्नुभयो नि, २८ गतेको आमसभामा म कसरी बोलेँ, माधवजी कसरी बोल्नुभयो, झलनाथ जी कसरी बोल्नुभयो । लभ नपरेको भए त्यसरी बोलिने थिएन नि त । लभ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ ?’

लभ परिरहेकोलाई डिभोर्स गरिदिनु प्राकृतिक रुपमा पनि अन्याय भएको टिप्पणी प्रचण्डको थियो । उनले भनेका थिए, ‘अहिले दुलहा दुलही रुँदै रुँदै आआफ्नो घरमा छन् ।’

यता आइतबारको एक कार्यक्रममा माधव नेपालले पनि प्रचण्डकै आशयको भाषण गरे । फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई विवाह र बच्चासँग तुलना गर्दै नेता नेपालले पनि आफू अन्यायमा परेको गुनासो गरेका छन् ।  

‘केटाकेटीले प्रेम गरेर आपसी सहमतिमा बिहे गर्छन् । एक वर्षपछि छोरो जन्मिन्छ’, नेता नेपालले भने, ’तर, जन्मिसकेको त्यो छोरोलाई सर्वोच्च अदालतले फेरि आमाको गर्भमै पठाउने गरी फैसला दिएको छ। यो राजनीतिकसँगै अस्वभाविक निर्णय पनि हो ।’

संसददेखि सडकसम्म एक्लै

लामो समयसम्म नेपाली राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका नेता नेपाल अहिले भूमिकाविहीन जस्तै बन्न पुगेका छन् । एमालेलाई एकल र सामुहिक गरी करिब २ दशक नेतृत्व दिएका नेपाल अहिले त्यही एमालेमा भूमिकाविहीन बन्न पुगेका छन् । 

तत्कालीन नेकपामा रहँदा नेपालको लाइनमा रहेका केही प्रभावशाली नेता अहिले एमाले संस्थापन अर्थात ओलीकै समूहमा पुगिसकेका छन् । नेपालसँगै रहेका नेताहरु पनि केही समय शान्त रहनुपर्नेमा बढी जोड दिइरहेका छन् । घनश्याम भुसाल, योगेश भट्टराईहरु पार्टी फुटाउन नहुनेमा दृढ छन् । 

पार्टी फुटाउन नहुने र विरोधका लागि ओलीको विरोध गर्न नहुने भन्दै नेकपामा कुनै समूहमा नलागेका लालबाबु पण्डितकै लाइनमा अहिले भुसाल र भट्टराईहरुको मत मिल्न पुगेको देखिन्छ । यता नेता नेपालको सारथी बनेका विष्णु रिजालले त ओलीप्रति केही नरम दृष्टि राख्न सुरु गरिसकेका छन् । 

अब माधव नेपाल पार्टीभित्रको संघर्षबाहेक सबै कुरामा एक्लो भएको परिस्थिति निर्माण हुँदै गइरहेको छ । ओलीलाई सरकारबाट हटाएर जानेमा पनि नेपालको मत एक्लिने संकेत देखिएका छन् । अब सडकमा उत्रने कुरामा पनि उनी एक्लो बन्न पुगेका छन् । 

नयाँ विकल्प के ?

वर्तमान राजनीति र नेपालको राजनीतिक लाइनलाई हेर्दा अब उनीसँग दुई विकल्प छन्, एउटा ओलीसँग एमालेमै रहेर लड्ने अथवा आफ्नो समूहमा रहेका नेताहरुलाई लिएर नयाँ पार्टी बनाएर लड्ने । तर, अहिलेका लागि दुवै विकल्प सहज भने देखिँदैन । 

पार्टी फुटाउन उनीसँग अहिलेको संविधानअनुसार ४० प्रतिशत सांसद छैनन् । एमालेभित्रै बसेर लड्नका लागि ओलीले सबै संरचना आफूअनुकुल बनाइसकेकाले फलामको चिउरा चपाउनुसरह रहेको छ । एमालेमा ओलीले महाधिवेशन नै तोकिसकेको अवस्थामा अब महाधिवेशनमा लड्नेबाहेक पार्टीको आन्तरिक संघर्षमा नेपालको भूमिका खासै देखिन्न । 

नेपालका लागि अबको सहज बाटो भनेको एमालेबाट आफू पक्षमा रहेका जति नेता लिएर अहिले बनिरहेको समानान्तर कमिटीलाई नयाँ पार्टीको रुप दिने नै हो । र आगामी चुनावसम्ममा माओवादी केन्द्रसहित अन्य बाम दलहरूसँग गठबन्धन अथवा पार्टी एकता गरेर पहिलो शक्ति बन्ने विकल्प भने नेपाल सामु खुल्ला रहेको छ । 

  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १५:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया