logo-img

मौद्रिक नीतिको तेस्रो समीक्षामा कोरोनाको दोस्रो लहरले पार्ने क्षतिको पनि मूल्यांकन गरिने

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको दोस्रो लहरले पार्न सक्ने क्षतिको मूल्यांकन समेत गरेर मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक र अर्ध वार्षिक समीक्षा यसअघि नै गरिसकेको छ । अहिले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्न लागेको हो ।

राष्ट्र बैंकले ढिलोमा जेठको पहिलो सातासम्म मौद्रिक नीतिको तेस्रो समीक्षा गरिसक्ने प्रवक्ता देवकुमार ढकालले बताए । ‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी हुन थालेको छ,’ उनले भने, ‘जेठको पहिलो सातासम्म समीक्षा गरिसक्ने योजनामा छौं ।’

राष्ट्र बैंकले गत आर्थिक वर्षमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जेठ १३ मा गरेको थियो । तर, यसपालि भने त्योभन्दा अगाडि नै गर्ने योजना बनाएको ढकालले बताए ।

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर सुरु भएको र त्यसले अर्थतन्त्रमा पार्ने असरको मूल्यांकन समेत गरेर मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति गत साउन २ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका थिए ।

राष्ट्र बैंकले कोराना भाइरसले थला पारेको अर्थतन्त्रलाई उकास्ने मौद्रिक नीति ल्याएको थियो । कोरोना भाइरसले पारेको असरलाई कम गर्ने उपाय सहितको मौद्रिक नीति ल्याएको भन्दै त्यतिबेला गभर्नर अधिकारीको प्रशंसा गरिएको थियो ।

पहिलो चरणमा देखिएको कोरोना भाइरसको असर क्रमशः न्यून हुँदै गइरहेको समयमा पुनः दोस्रो चरणको कोरोना भाइरसको संक्रमण फैलिएको छ । अहिले दैनिक ३ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् । कोरोना भाइरसको संक्रमण उच्च दरले वृद्धि भइरहेका बेलामा राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्न थालेको छ । विज्ञहरूले भने यस्तो अवस्थामा मौद्रिक नीतिको समीक्षा गर्नु निकै चुनौतीपूर्ण रहेको बताउँदै आएका छन् ।



कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सेयर बजार निरन्तर ओरालो लाग्दै गएको छ । उता पेट्रोलियम पदार्थको मूल्य भने निरन्तर बढ्दै गएको छ । यस्तो अवस्थामा मूल्य वृद्धि ७ प्रतिशतमा सीमित गर्ने योजना केन्द्रीय बैंकको रहेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा कोरोना भाइरसले पारेको असरलाई कम गर्ने उपायको खोजी गरिने भएको छ ।

अर्थ मन्त्रालयले बजेटले लिएको लक्ष्य हासिल हुने गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्न राष्ट्र बैंकलाई दबाब दिँदै आएको छ । राष्ट्र बैंकले कोरोना भाइरसबाट अर्थतन्त्रमा पारेको प्रभाव कसरी कम गर्ने र मूल्यवृद्धि नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने उपायको खोजी गर्नु मुख्य चुनौती रहेको बताउँदै आएको छ ।



बजेट घोषणासँगै आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने र मूल्यवृद्धि पनि ७ प्रतिशत कायम राख्ने लक्ष्य लिएपछि यतिबेला राष्ट्र बैंकलाई मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्न समस्या परेको छ ।

मौद्रिक नीतिका तीन उद्देश्यमध्ये महँगी नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई आवश्यक मुद्रा प्रवाह गर्ने दायित्व राष्ट्र बैंकको हो । सरकारको आर्थिक सल्लाहकार भएको नाताले बजेट लक्ष्यसँग मेल खाने गरी मौद्रिक नीतिको समीक्षा गर्नु राष्ट्र बैंकको जिम्मेवारी भए पनि अहिलेको अवस्थामा मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्न समस्या रहेको बताइन्छ ।

स्वास्थ्य संकटको भयावह अवस्थामा अर्थतन्त्रको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, कोभिड महामारीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित घटनाक्रम, मौद्रिक नीतिमा उल्लेखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, आगामी कार्यदिशा तथा मौद्रिक एवम वित्तीय उपायहरू समावेश गरी केन्द्रीय बैंकले त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेको छ ।

  • प्रकाशित मिति : वैशाख १३, २०७८ साेमबार १८:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया