कोभिड संकटमा विद्यालय खोल्ने ११ जना सञ्चालक पक्राउ

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवं प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । 

अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।

विद्यालय सञ्चालन गरेको आरोपमा सिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्डरी स्कुलका सञ्चालक डा. कामानन्द देव, एञ्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव र राजविराज–१ स्थित सिर्जना सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालक रिमा झालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पिस जोन स्कुलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–३ स्थित ह्यापील्याण्ड माविका अनुशासन प्रमुख  शैलेन्द्रकुमार ठाकुर, राजविराज–८स्थित लक्ष्मी अङ्ग्रेजी बोर्डिङ स्कुलका सञ्चालक राजेशकुमार यादव, वैधनाथकुमार झा र बुलन्द साह, ग्रिन अङ्ग्रेजी बोर्डिङ स्कुलका शिक्षक मनोज यादव र राजविराज–५ स्थित जानकी सेकेन्डरी स्कुलका शिक्षक हरिकिसुन रामसमेत नियन्त्रणमा परेका छन् ।

जिप्रका, नगरपालिका र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले एक साताअघि भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक शिक्षण सिकाइका विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेकामा कार्यान्वयन गराउन थालिएको अनुगमनका क्रममा केही निजी विद्यालयले अवज्ञा गरेर विद्यालय सञ्चालन गरिएको पाइएपछि नियन्त्रणमा लिनुपरेको प्रजिअ पोखरेलले बताए ।

कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रमा यही वैशाख मसान्तसम्म भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको थियो । 



आइतबार मात्रै सरकारले आजदेखि सबै प्रकारको परीक्षासमेत स्थगन गर्ने निर्णय गरेको छ । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि सङ्क्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रजिअ पोखरेलले बताए ।



  • प्रकाशित मिति : वैशाख १३, २०७८ साेमबार १७:४४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया