गंगाप्रसाद यादव : हिजोका संघीयता विरोधी, आज संघीयता सम्हाल्ने जिम्मेवारी
ओलीले प्रचण्डसँग बदला लिँदै तीनै प्रदेश प्रमुख हटाइदिए

सरकारले सप्तरीका गंगाप्रसाद यादवलाई सुदूरपश्‍चिम प्रदेश प्रमुखमा नियुक्त गरेको छ। सप्तरीका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी दिएका हुन्।

लामो समयदेखि सरकारबाट हटाउने सूचीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समस्यामा पार्ने गरी ओलीले यादवलाई त्यहाँ पठाउन लागेका हुन्। त्यहाँ रहेकी शर्मिला त्रिपाठीलाई हटाएर यादवलाई पठाइएको हो। शर्मिला माओवादी केन्द्ननिकट थिइन्। 

सुदूरपश्चिम प्रदेश प्रमुख बनेका यादव दोस्रो संविधान सभाका उपाध्यक्ष थिए। उनी त्यसबेला राप्रपा नेपालबाट उपसभामुख बनेका थिए। उनी कमल थापा नेतृत्वका राप्रपा नेपालबाट प्रतिनिधित्व गर्दै उपसभामुख बनेका थिए।

केही वर्षअघिसम्म संघीयता विरोधी र राजावादी नेताका रुपमा परिचित उनी आजदेखि दौरा सुरूवाल लगाएर संघीयता कार्यान्वयनको जिम्मेवारीमा अघि बढेका छन्। 

उनी राप्रपा छाडेर २०७४ सालको निर्वाचनअघि एमालेमा प्रवेश गरेका थिए। यादवलाई एमालेले संघीय संसदमा लैजान समानुपातिक सूचीमा राखेको थियो। तर उनी त्यसबेला सांसद बन्‍न पाएका थिएनन्। 

प्रधानमन्त्री ओलीले समस्यामा परेका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूलाई सहयोग जुटाउने रणनीति अनुसार प्रदेश प्रमुख फेरेका हुन्। अविश्वास प्रस्तावका कारण समस्यामा परेका पृथ्वी सुब्बा गुरुङलाई सहयोग पुग्ने गरी ओलीले चितवनकी सीता पौडेललाई प्रदेश प्रमुख बनाएका छन्। 



त्यहाँ माओवादी नेतासमेत रहेका अमिक शेरचन प्रदेश प्रमुख थिए। त्यहाँका मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख र सभामुख मिलेर आफूलाई असफल बनाउने खेल रचेको बताउँदै आएका थिए। 

उता सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई अफ्ठेरो पार्ने गरी प्रदेश प्रमुखमा ओलीले यादवलाई पठाएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका नेता लालबाबु राउत मुख्यमन्त्री रहेको प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर राजेश अहिराज झालाई नियुक्त गरेका थिए। त्यहाँका तिलक परियार माओवादीनिकट थिए। 



झा प्रदेश २ प्रमुख भएर गएपछि मुख्यमन्त्री राउतको स्वेच्छाचारी कदममा लगाम लगाउन सफल भएका छन्। झाले प्रदेश सरकारबाट आएका चारवटा विधेयक रीत नपुगेको भन्दै फर्काइदिएका छन्। उनले त्यहाँ मुख्यमन्त्री भन्दा आफूलाई सक्रिय बनाइरहेका छन्। 

प्रदेश प्रमुख फेरेर ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि राजनीतिक सन्देश दिएका छन्। आफूलाई हटाउन हरेक प्रयास गरिरहेका प्रचण्डसँग ओलीले उनीनिकट प्रदेश प्रमुख हटाएर बदला पनि लिइरहेका छन्। ओलीले पछिल्लो पटक शेरचन, त्रिपाठी र परियारलाई प्रदेश प्रमुखबाट हटाइदिएका छन्। 

फागुन २३ मा खारेजीमा परेको नेकपाको सरकार हुँदा ओलीले एमाले र माओवादी पृष्ठभूमिकालाई प्रदेश प्रमुख बनाएका थिए। कांग्रेसले राखेका सबै प्रदेश प्रमुख हटाएर ओलीले २०७६ कात्तिकमा सातै वटा प्रदेशको प्रदेश प्रमुख नेकपानिकटलाई बनाएका थिए। 

त्यसबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्रनिकटलाई नियुक्त गरिएको थियो। तर, नेकपा खारेजीमा परेर माओवादी केन्द्र र एमाले ब्यूँतिएपछि ओलीले प्रचण्डसँग बदला लिने गरी प्रदेश-२ का प्रदेश २, गण्डकी र सुदूरपश्चिमबाट माओवादीनिकटलाई बिदा गरिदिएका हुन्। 

  • प्रकाशित मिति : वैशाख २०, २०७८ साेमबार २१:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया