अस्पताल चहार्दा चहार्दै मृत्युवरण गर्न बाध्य छन् कोरोना संक्रमित

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया की ३८ वर्षीया मीना पाललाई कोभिड–१९ संक्रमण देखियो । केहीदिन घरमा आइसोलेट भएर बसेकी उनलाई अवस्था जटिल बन्न थालेपछि स्थानीय मालाखेती अस्पतालमा भर्ना गरियो । उनलाई त्यहाँ उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरियो । उपचारकै क्रममा वैशाख २९ गते उनको मृत्यु भयो । उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि ज्यान गएको अस्पतालले जनाएको छ । 

धनगढी उपमहानगरपालिका–७ का व्यवसायी नारायण लम्साललाई कोभिड–१९ संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि र स्वास्थ्यमा थप समस्या देखिएपछि धनगढीको माया मेट्रो पुर्याए । त्यहाँ बेड खाली थिएन । त्यसपछि धनगढीकै कैलाली अस्पताल पुर्याइए । त्यहाँ पनि बेड खाली पाएनन् । 

लम्सालकी बहिनी राधाले भनिन्, ‘दुवै अस्पतालमा बेड खाली नभएपछि धनगढीकै अर्को अस्पताल निसर्गमा भर्ना गर्यौँ । त्यहाँ केही घण्टा उपचार गरेपछि सोही दिन सेती प्रदेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना ग¥यौँ ।’ उनको अस्पताल चहार्दा चहार्दै झन् झन् स्वास्थ्यमा समस्या थपिँदै गयो । 

राधाका अनुसार धनगढीकै सेती प्रादेशिक अस्पतालमा पनि आइसियू भरिएको थियो । ‘तीन दिनसम्म उपचार गर्दा पनि दाइको स्वास्थ्यमा सुधार भएन’, उनले भनिन्, ‘अस्पतालमा आइसियू र भेन्टिलेटर पनि खाली थिएन । एयर एम्बुलेन्समार्फत वैशाख २५ गते काठमाडौं लगेका थियौँ । उपचारकै क्रममा वैशाख २७ गते ज्यान गयो ।’ 

एयर एम्बुलेन्समार्फत काठमाडौँ लैजान १० लाख खर्च गरेको लम्साल परिवारले घरको अभिभावकलाई गुमाए । राधा भन्छिन्, ‘धनगढीमा भरपर्दो उपचार सेवा उपलब्ध भएको भए सायद जोगाउन सकिने थियो । तर, यहाँ उपचार त परै जाओस्, भर्ना पाउन पनि मुस्किल भयो ।’

धनगढीकै हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठलाई वैशाख दोस्रो साता कोभिड–१९ पुष्टि भयो । उनको श्वासप्रश्वासमा समस्या भएपछि उनलाई धनगढीकै नवजीवन अस्पताल भर्ना गरियो । दुई दिनसम्म अक्सिजनको व्यवस्था गरेका परिवारका सदस्यले त्यसपछि थप अक्सिजनको जोहो गर्न सकेनन् ।
 
त्यसपछि, उनलाई सेती प्रादेशिक अस्पतालमा लगियो । राजुका आफन्त बाबुराजा श्रेष्ठका अनुसार सेती अस्पतालमा पनि आवश्यकताअनुसार अक्सिजनको व्यवस्था भएन भने आइसियू र भेन्टिलेटर सपोर्टको सुविधा पनि उपलब्ध भएन । १० लाख खर्च गरेर संक्रमित राजुलाई पनि हेलिकोप्टरमार्फत काठमाडौं लगे । तर, उनको काठमाडौं नपुग्दै आकाशमै उनको ज्यान गयो ।



आफ्नै प्रदेशमा भरपर्दो उपचार सेवा नहुँदा धेरैको अकालमै ज्यान जाने गरेको छ । सुदूरपश्चिम प्रदेशमा अक्सिजन, भेन्टिलेटर र आइसियूको चरम अभाव छ । दोस्रो चरणको ३ महिनामा मात्रै ११५ जनाले उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो ३ महिनामा एक दर्जन बढी संक्रमितको घरमै मृत्यु भएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय कटिसकेको छ ।

‘दिन प्रतिदिन मृत्युदर बढ्न थालेको छ’, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘कैलालीमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर गइसक्यो ।’
धनगढीमा मात्रै अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा सबै भन्दा धेरै सक्रिय संक्रमित धनगढीमै छन् । हाल धनगढीमा १ हजार ४१० जना सक्रिय संक्रमित रहेका धामीले बताए । 



कैलालीको गोदावरीमा २२ जनाको मृत्यु भएको छ । लम्कीचुहामा १२ जनाको मृत्यु भएको छ । टिकापुरमा ११ जना, बर्दगोरीमा ७, गौरीगङ्गा भजनी र घोडाघोडीमा ५ ÷५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, जोशीपुरमा ३ जना, जानकारीमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यकालले जनाएको छ । उपचारको क्रममा कैलालीमा अन्य जिल्लाका ३४ जनाको ज्यान गएको छ ।

प्रदेशभर रहेका सक्रिय संक्रमितमध्ये तीन प्रतिशत पनि संक्रमित अस्पतालमा छैनन् । आफन्तलाई जोगाउन लाखौँ रुपैयाँ खर्च गरेर यहाँका नागरिक काठमाडौं पुर्याउने गरेका छन् । दैनिक कैलालीबाट काठमाडौंमा हेलिकोप्टरमार्फत संक्रमितहरुलाई उपचारका लागि काठमाडौं पुर्याउने गरिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा ६ हजार ७ सय बढी सक्रिय संक्रमित रहेकोमा अहिले १९७ जना संक्रमितको मात्रै अस्पतालमा उपचार भइरहेको छ । अहिले पनि प्रदेशभरका अस्पतालमा ५३ जना गम्भीर प्रकृतिका संक्रमितको उपचार सम्भव छ । 

प्रदेशका पाँच वटा अस्पतालमा ५३ शैय्या आइसियू र २२ वटा भेन्टिलेटर मात्रै उपलब्ध रहेको निर्देशनालयले जनाएको छ । अक्सिजन, आइसियू र भेन्टिलेटरको अभावकै कारण पछिल्लो दुई सातामा प्रदेशमा मृत्युदर बढेको छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका ९ जिल्लामा २७० जना संक्रमितले ज्यान गुमाएका छन् । त्यसमा होम आइसोलेसन र प्रदेशका अन्य अस्पतालमा ज्यान गुमाउनेको संख्या जोडिएको छैन ।

  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार १०:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया