logo-img

भाइरससँगै बिरामीका आफन्तको त्रास : किन बढिरहेछ चिकित्सक/स्वास्थ्यकर्मीमाथि आक्रमण ?

गए राति भेरी अस्पतालमा आक्रमण भयो । कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा स्वास्थ्यकर्मीलाई लखेट्दै कुटपिट गर्न खोज्दा ज्यान जोगाउन ४ जना नर्सले अस्पतालको २ तलामाथिबाट हाम फाले ।

दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले मान्छे मार्‍यो भन्दै स्वास्थ्यकर्मीलाई लखेट्दै हातपात गर्न खोजेपछि स्वास्थ्यकर्मी हाम फालेका हुन् । दुई तलामाथिबाट हाम फाल्दा केही स्वास्थ्यकर्मी घाइते भएका छन् । 

०००



जेठ ३ गते राति विराट मेडिकल कलेजमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भयो । अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । 

कुटपटिबाट डा. सुदीप रेग्मी, हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत लगायतका व्यक्ति घाइते भएका थिए । सडक दुर्घटनामा घाइते भएका र स्वासप्रश्वासमा समस्या भएका दुई जना गम्भीर बिरामीको उपचार भइरहेको थियो । 

त्यही बेला आफ्नो बिरामीको उपचारमा ढिलाइ तथा लापरबाही भएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थाले । घटनापछि कुटपिट गर्नेहरूको आफन्तको केही समयमै डिस्चार्ज गरिएको थियो भने गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भयो । 



०००

गत वर्षको जेठमा डोटीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भयो । गाउँको बाटो हिँड्ने क्रममा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीयले अहेब रमेश कुँवरमाथि कुटपिट गरेका थिए । शिखर नगरपालिका-९ मा रहेको दानकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब कुँवरमाथि गालीगलौज गर्नुका साथै ढुंगामुढा समेत प्रहार गरेका थिए ।



कुटपिटबाट गम्भीर घाइते बनेका कुँवरको थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । शिखर नगरपालिका-७ का नवीन खत्री, रोशन खत्री र तेज लुहारले उनीमाथि कुटपिट गरेका थिए । 

०००

२०७७ भदौ २२ गते बैतडीमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट भयो । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि कुटपिट भएको थियो । स्वाब संकलन गर्न हिँडेका उनीमाथि स्थानीय भानसिंह बोहराले कुटपिट गरेका थिए । 

०००

२०७७ असारमा बाजुराको हिमाली गाउँपालिका-५ कवाडीको क्वारेन्टिनमा बसेकाहरूले आरडिटी परीक्षण गर्न आएका स्वास्थ्यकर्मीमाथि कुटपिट गरे । भारत लगायतका विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाहरूले आरडिटी रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए । 

स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आरडिटी टेस्ट गर्दै गर्दा एक जना महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि किन आरडिटी रिपोर्ट पोजिटिभ निकालिस् भन्दै स्वास्थ्यकर्मी माथि ढुंगामुढा प्रहार भएको थियो । ढुंगामुढा प्रहारबाट संयोजक भण्डारीको छातीमा गम्भीर चोट लागेको थियो । 

०००

२०७७ जेठमा रौतहटको एक क्वारेन्टिनमा दुई स्वास्थ्यकर्मीमाथि कुटपिट भयो । राजपुर नगरपालिका-९ स्थित क्वारेन्टिनमा सिनियर अहेब खुर्सीद आलम र रामनरेश शाहमाथि कुटपिट भएको थियो । पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि संक्रमितसँगै केही दिन बसेकाले आरडिटी परीक्षण गराएपछि घर पठाउने तयारी भएपछि त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण भएको थियो । 

क्वारेन्टिनमा बसेकाहरूले परीक्षणबिनै घर जान पाउनुपर्ने भन्दै आरडिटी परीक्षण चलिरहेकै समयमा उनीहरूमाथि कुटपिट गरेका थिए । कुटपिटबाट दुवै जनाको टाउकोमा गम्भीर चोट लागेको थियो । भने उनीहरूका मोटरसाइकलमा समेत तोडफोड गरेका थिए । 

०००

वीरगञ्जमा अस्पतालभित्रै पसेर स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुव्र्यवहार भएको थियो । त्यस्तै भरतपुरमा डाक्टर र नर्सको घरमै पुगेर कोरोना संक्रमितको घर हो भन्ने बोर्ड नै झन्ड्याउने प्रयास गरिएको थियो । त्यस्तै गत वर्ष नै नयाँ बानेश्वर क्षेत्रमा स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै उक्त घर छोड्न दबाब दिइएको थियो । 

पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढेका छन् । विशेष गरी कोरोना महामारीको समयमा अहोरात्र खटिएर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मी नै आक्रमणको जोखिममा परिरहेका छन् । उनीहरू एकातिर बिरामीको उपचारलाई लिएर तनावमा हुने गरेका छन् भने अर्कोतिर आफूमाथि कतिबेला कुटपिट हुन्छ भने त्रासमा हुन्छन् । 

२०६३ सालदेखि स्वास्थ्यकर्मी आक्रमणको निशानामा

२०६३ सालमा बुटवलमा पहिलो पटक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । त्यहींबाट यो शृङ्खला बढ्दो छ । त्यसपछि चिकित्सकहरू सुरक्षाको माग गर्दै बेला बेला आन्दोलित बन्दै आएका छन् । 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण बढ्न थालेपछि सरकारले २०६६ सालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ जारी गर्‍यो । ऐन आएको तीन वर्षपछि नियमावली आयो । यो ऐनले उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्ने, संस्थामा तोडफोड र आगजनी गर्ने कार्यलाई अपराध मानेको छ । उक्त ऐनले चिकित्सकमाथि आक्रमण गर्नेलाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्मको जरिवाना, कसुरको आधारमा ३ लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ । 

चिकित्सकहरूले भने ऐन परिमार्जन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग राख्दै आएका छन् । तर, अहिलेसम्म मागको सुनुवाइ हुन सकेको छैन । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले आफूहरूले दोषीलाई बिना धरौटी जेल चलान गर्नेगरी कानुन ल्याउनुपर्ने माग राख्दै आएको बताउँछन् । 

अहिले कानुन नै नभएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि यस्ता खालका घटना भइरहेको भन्दै त्यसका लागि कडा कानुन ल्याउनुपर्नेमा उनको जोड छ । 

नेपालमा कोरोना महामारी सुरु भएसँगै सरकारले २०७६ साल चैत २२ गते स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि हातपात गरेसरह कानुन लाग्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म धेरै जनामाथि यस्ता खालका घटना घटे पनि त्यही अनुसार कारबाही नभएको महासचिव रिजाल बताउँछन् । 

चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो बिरामीलाई जसरी भए पनि निको बनाउने गरी उपचार गर्ने गरेको भन्दै कहिलेकाहीं मृत्यु हुनसक्ने रिजालको भनाइ छ । ‘डाक्टर भनेको भगवान त होइनन् । बिरामीको उपचार गर्दा दुईवटा कुरा हुन्छ । एउटा निको भएर घर फर्किन्छ भने अर्कोतिर निको नभएर मर्न सक्छन् । कुनै पनि डाक्टरले बिरामी मरोस् भनेर उपचार गर्दैनन्’, डा. रिजालले भने । 

लापरबाही भएको खण्डमा वा कमजोरी भएको खण्डमा कानुनअनुसार कारबाही गर्ने निकाय रहेको उनको भनाइ छ । 

डाक्टरप्रति भरोसा टुटेपछि...

मनोविद् गोपाल ढकाल यस्ता घटना हुनुमा डाक्टरप्रतिको भरोसा तथा विश्वास टुट्नु रहेको बताउँछन् । ‘बिरामीले डाक्टरलाई भगवान् नै मान्छन् । त्यही भगवानबाट बिरामी निको नभएर मर्न गएमा मानिसहरूमा आक्रोशपूर्ण भाव पैदा हुन्छ’, मनोविद् ढकालले भने । बिरामीका आफन्तहरू डर, त्रास तथा तनावमा रहने गरेको भन्दै आफ्नो मानिसको मृत्यु हुँदा सोच्ने क्षमता समेत कमजोर हुने उनको भनाइ छ । 

यस्तो अवस्था आउनुको पछाडि अस्पतालले बिरामीका आफन्तलाई बिरामीको अवस्थाबारे बुझाउन नसक्नु पनि रहेको भन्दै उनले भने, ‘स्वास्थ्यकर्मी तथा अस्पतालले आफन्तलाई बिरामीको अवस्थाबारे जानकारी गराउने, उनीहरूको मनमा उठ्ने अनेकन शंका मेटाउने प्रयास गर्न सकियो भने यस्ता घटना कम गर्न सकिन्छ ।’

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार २२:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया