कानुनबाट रुँदै बाहिरिएका शेरबहादुर तामाङ बने स्वास्थ्य मन्त्री

बंगलादेशमा पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर सुम्पिनुपर्ने बाध्यता रहेको भनेर टिप्पणी गरेपछि राजीनामा दिएर बाहिरिएका तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ स्वास्थ्यमन्त्रीका रुपमा सरकारमा फर्किएका छन् 

बंगलादेशमा पढ्ने नेपाली छात्राहरुबारे गरेको टिप्पणीले चर्को आलोचना भएपछि तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ८ साउन २०७५ मा पदबाट राजीनामा दिएका थिए। तामाङले यसअघि पनि कानुनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि सम्हालेका थिए।

बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो। त्यसपछि उले त्यो टिप्पणीको नैतिक जिम्मेवारी लिँदै पद छाडेका थिए। पद छाड्ने क्रममा गरिएको पत्रकार सम्मेलनमा तामाङ रोएका थिए। 

उनले आफूले गलत आशयले नबोलेको बताए पनि सामाजिक सञ्जालमा चर्को आलोचनाको शिकार भएका थिए। पार्टी राजनीतिमा सक्रिय उनी पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहमा लागेका थिए।

तर उनले त्यो निर्णयमा हेरफेर गर्दै ओली समूहमै फर्किने निर्णय लिएका थिए। संकटका बेला आफूलाई साथ दिएको भन्दै ओलीले उनलाई अहिले एमालेको केन्द्रीय कार्यालयको सचिवालयको जिम्मेवारी दिएका छन्। 

यसअघि एमालेको सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र सांसद हृदयश त्रिपाठीले स्वास्थ्य मन्त्रालय सम्हालेका थिए। कोरोनाको यो संकटपूर्ण घडीमा तामाङले आफूलाई इमानका साथ प्रस्तुत गरेर खरो रुपमा उत्रिनुपर्ने जिम्मेवारी आएको छ।



नेपाल समूह छाडेपछि अहिले उनकी पत्नी एवम् सांसद उषाकला राई पनि प्रदेश १ मा सामाजिक विकास मन्त्रीको भूमिकामा रहेकी छन्। 



  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १८:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया