logo-img

नेप्सेले पुनः बनायो अलटाइम हाइ रेकर्ड, ३ हजार बिन्दु नजिक परिसूचक

साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचकले पुनः नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ । मंगलबार नेप्सेले गत आइतबारको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो । 

नेप्से दैनिक उकालो लाग्दा ३००० बिन्दु नजिक पुगेको छ । नेप्से परिसूचक ३००० बिन्दुसम्म पुग्छ भन्ने आंकलन लगानीकर्ताहरू केही समय अघिदेखि नै गर्दै आएका थिए । सोही कारण लगानीकर्ताहरूको मनोबल र नेप्से दुबै उकालो लागिरहेको छ । लकडाउनका कारण अन्य क्षेत्रको लगानी पूँजी बजारमा भित्रिएकाले बजार बढिरहेको विश्लेषण पनि लगानीकर्ताहरूले गरिरहेका छन् ।

आज नेप्से परिसूचक ५३.४४ अंक अर्थात १.८४ प्रतिशतले बढेर २९६०.१४ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । त्यसै गरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.४७ अंक बढेर ५२८.१० बिन्दुमा पुगेको छ । मंगलबार फ्लोट इण्डेक्स ३.९४ अंक बढेर २०५.२२ बिन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक बढेर १७६.०८ बिन्दुमा पुगेको छ ।

कारोबारको क्रममा सोमबार २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर कुल १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँमा खरिद बिक्री भएको थियो । जबकि मंगलबार २१७ कम्पनीको ३ करोड ५४ लाख ४४ हजार कित्ता सेयर कुल १६ अर्ब ८३ करोड ३४ लाख ५८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ९.०४ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक ८.७१ प्रतिशत बढेको छ । निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादनमूलक, अन्य र म्युचुअल फण्डको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको दिन ३० भन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, जेबिल्स फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै, कारोबारमा आएको मेरो माइक्रोफाइनान्सको सेयर मूल्य भने सर्वाधिक ४.९७ प्रतिशत घटेको छ ।
 





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १६:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया