कर्णालीपछि प्रदेश २ मा पनि कांग्रेस अब सत्तामा, तीन मन्त्रीले लिए सपथ
जसपा र एमाले विभाजनको फाइदा उठाउँदै

नेकपा एमाले र जनता समाजवादी पार्टीमा आएको विभाजनको फाइदा प्रमुख प्रतिपक्षी कांग्रेसले लिन थालेको छ। पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने जनमत पाएको कांग्रेस साढे ३ वर्षमै  सत्ताधारी दल बन्न पुगेको छ।

आइतवार कर्णालीमा कांग्रेसका दुई सांसद मन्त्री बनेको चार दिनपछि प्रदेश २ मा तीनजना सांसद मन्त्री बन्न पुगेका छन्। नेकपामा जस्तै जनता समाजवादीमा पनि आएको विभाजनको फाइदा कांग्रेसले उठाएको हो। 

जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहका चार मन्त्रीलाई बर्खास्त गरेको दुई दिनपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिपक्षी दल कांग्रेसका तीन सांसदलाई मन्त्री बनाएका हुन्। 

मन्त्री बनेका कांग्रेसका तीन सांसदले बुधबार राति नै प्रदेश प्रमुख डा. राजेश अहिराजबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। जसपा विभाजनको फाइदा लिएर कांग्रेस सत्तामा जाँदा माओवादी भने अन्तिममा जिल्लिएको छ।

माओवादीका दुईजनालाई मन्त्री बनाउने तयारी भए पनि मुख्यमन्त्री लालबाबु राउतले अन्तिममा एउटा मात्रै दिने अडान लिएपछि कांग्रेस मात्रै सत्तामा गएको हो।

राउतले भौतिक प्रविधि तथा विकास मन्त्रालयको जिम्मेवारी कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई दिएका छन्। कांग्रेसकै सांसद ओमप्रकाश शर्मालाई खानेपानी तथा ऊर्जा विकास मन्त्री बनाइएको छ। कांग्रेसका अर्का सांसद वीरेन्द्र सिंहलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। 



उता माओ‌वादी केन्द्रबाट दुईजना नेता मन्त्री बनाउने तयारी थियो। तर अन्तिममा माओवादीसँगको वार्ता भाँडिएको छ। माओवादी दलका नेता भरत साह र जगत यादव मन्त्री हुने तयारीमा थिए तर मुख्यमन्त्रीले एउटा मात्रै मन्त्रालय दिने भनेपछि माओवादी जिल्लिएको हो। 

राउतले यसअघि सोमबार आफ्नै पार्टीका चार मन्त्रीलाई बर्खास्त गरेका थिए। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले नेता चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए।



राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका थिए।

पार्टीभित्र चर्को विवादपछि ठाकुर पक्ष गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारमा सहभागी भएको थियो । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित ठाकुर समूह संघीय सरकारमा गएपछि उपेन्द्र यादवको निर्देशनमा राउतले प्रदेश २ मा कदम चालेका थिए। 

यसअघि कर्णालीमा साढे तीन वर्षयता पहिलो पटक कांग्रेस सत्तामा फर्किएको थियो। आइतवार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसीलाई नियुक्त गरेका थिए।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार २२:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया