logo-img

सञ्चारमन्त्री बनेपछि एकाएक चर्चामा बादल पत्नी, यस्तो छ उनको इतिहास

दोस्रो पटक संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । बिहीबार ओलीले आफ्नो सरकारमा ७ जना मन्त्री र एक राज्यमन्त्री थपेका छन् । 


केहीदिनअघि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा भित्र्याउँदा आफूसँगै राखेमा मन्त्रालयहरूमा ओलीले बिहीबार नयाँ मन्त्रीहरु नियुक्ति गरेका हुन् । 

आज नियुक्त भएका मन्त्रीहरु मध्ये एक मन्त्रीको निकै चर्चा छ । ती पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा । 



सर्वाेच्च अदालतको फैसलाबाट गृहमन्त्रीको पद थापाकी पत्नीलाई ओलीले सञ्चार तथा सूचना प्रविधि जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएका हुन्। 

राजनीतिक वृत्तमा नामै नसुनिएका थापालाई एकाएक महत्वपूर्ण मन्त्रालयको जिम्मा सहित सरकारमा ल्याउँदा बिहीबार बिहानै देखि थापाका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा छ । 



धेरैलाई नैनकलाको अनुुहार पनि याद थिएन । उनी मन्त्री बन्ने भएपछि बिहीबार बिहान इन्टरनेटमा सर्च गर्दा उनको एउटा तस्बिर समेत फेला परेको थिएन । 

को हुन् त सञ्चार मन्त्रालयको जिम्मा पाएकी बादल पत्नी नैनकला ?



रुपन्देहीको बुटवलमा जन्मिएकी नैनकला २०३५–२०३६ सालतिर विद्यार्थी संगठन मार्फत राजनीतिमा प्रवेश गरेकी थिइन् । 

२०३८ सालमा उनी मोहनविक्रम सिंह नेतृत्वको नेकपा(चौथो महाधिवेशन) मार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएकी थिइन् । ४० सालमा उनले चितवनका रामबहादुर थापासँग बिहे गरेकी थिइन । 

बिए र बिएड अध्ययन गरेकी थापाले बुटवलस्थित कालिका मा.वि.र चितवन नारायणी मावि मा शिक्षिका भएर काम गरिन् । 

उनी पार्टीको महिला संगठनको नेतृत्व तहमा समेत पुगेकी थिइन । २०३८ सालमै अखिल नेपाल महिला संघको चितवन जिल्ला सचिव बनेकी नैनकला २०४२ सालमा यसै संगठनको केन्द्रीय महासचिव बनेकी थिइन् । 

त्यसपछि विभिन्न वाम घटकको एकताबाट नेकपा एकता केन्द्र बनेपछिको एकीकृत अखिल नेपाल महिला संघको पनि उनी महासचिव बनिन २०५० सालमा । २०५१ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष सुरू गरेपछि उनी पति रामबहादुर थापासँग भूमिगत भएर पार्टीमा लागेकी थिइन् । 

माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा गइसकेपछि नैनकला २०६४ देखि २०६८ सालसम्म राष्ट्रिय महिला आयोगको अध्यक्ष समेत रहिन् । 

माओवादी केन्द्रमा रहँदा उनलाई केन्द्रीय सल्लाहकारको पद दिइएको थियो । मन्त्री बन्नुअघि सम्म पनि उनी  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा महिला विज्ञ समूहको सदस्य थिइन । 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १८:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया