प्रदेश २ का प्रमुखलाई सरकारका प्रवक्ताको चुनौती : दलितलाई प्रदेश प्रमुख बनाउनका लागि मार्गप्रशस्त गर्नुस्

प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन सुझाब दिएपछि प्रदेश २ सरकार प्रवक्ताले उनको सो सुझाबलाई चुनौती दिएका छन् ।  

सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रमुख अहिराजलाई तत्काल राजीनामा दिएर दलित समुदायको व्यक्तिलाई प्रदेश प्रमुख बनाउन चुनौती दिएका हुन् । 

मन्त्री यादवले प्रदेश प्रमुखको कदम सकारात्मक रहे पनि उनले ‘समावेशी कार्ड’को प्रयोग गर्न खोजेको आरोप लगाए । प्रदेश प्रमुखको हैसियतमा रहेका व्यक्तिलाई राजनीतिक गर्ने अधिकार नरहेको भन्दै उनले कानुनबमोजिमको अधिकार मात्र प्रयोग गर्न सुझाब दिएका छन् ।

मन्त्री यादवले विगतमा प्रदेश प्रमुख झा संघीयता विरोधीको रुपमा अभियानमा रहेको हेक्का राख्नसमेत उनले चेतावनी दिएका छन् । उनले प्रदेश सरकारले समावेशी समानुपातिकलाई ख्याल गर्दै हरेक वर्ग, क्षेत्र, लिंग, समुदाय र सीमान्तकृत समेतकालाई राज्यको हरेक निकायमा पहुँचका लागि विभिन्न ऐन समेत ल्याएको बताए । 

उनले भने, ‘दलित सशक्तीकरण ऐन, महिला सशक्तीकरण ऐन, महिलालाई शिक्षामा पहुँचको लागि लोकसेवा आयोगको तयारी कक्षा, बेटी पढाऊ बेटी बचाऊ अभियान, दलितको पहुँच, अधिकार र सबै क्षेत्रमा समावेशी समानुपातिक कार्यान्वयनका लागि हामी लागिपरेका छौँ ।’

प्रदेश प्रमुख अहिराजले आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई चार पृष्ठको स्मरण पत्र लेख्दै गैरमधेसी र महिलालाई सरकारमा सहभागी गराउन भन्दै स्मरण गराएका थिए ।



प्रदेश २ ले लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउँदै उनले प्रदेश २ मा मधेसी आदिवासी, गैरमधेसीलगायत पक्षलाई सरकारमा समेट्न सुझाब दिएका थिए ।



  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १६:२४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया