के ओलीतिर लागेका पूर्व माओवादी नेता विप्लवसँग मिल्दैछन् ?

पूर्व खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाबीच भेटवार्ता भएको छ । थापालाई भेट्न शुक्रबार दिउँसो बास्तोला उनको निवासमा पुगेका थिए। 

एमाले ओली पक्षमा लागेका पूर्व माओवादी नेताहरु विप्लव नेतृत्वको नेकपामा सामेल हुन लागेको र त्यसबारे थापा र बास्तोला बीच छलफल भएको चर्चा चलेको छ। 

पूर्वमन्त्री थापाले भने त्यसलाई अस्वीकार गरेका छन् । शुक्रबार विप्लव नेकपामा नेता बास्तोला आफूलाई भेट्न आएको कुरा भने थापाले स्वीकार गरे । भेटमा सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनका विषयमा कुरा भएको थापाको दावी छ।

‘उहाँहरूसँग जुन ३ बुँदे सहमति भएको थियो, त्यसमा साथीहरु छाड्ने कुरा अलि ढिलाढाला भयो त्यसबारे प्रधानमन्त्रीसँग अलिकति कुराकानी गरिदिनु पर्यो भन्नुभयो’ थापाले फरकधारसँग भने।

नेपालमा संसदीय व्यवस्था असफल भएकोले अब पुरानै खालको संसदीय व्यवस्थाबाट नेपालको राजनीति अघि नबढ्ने कुरा पनि बास्तोलाले आफूसमक्ष बताएको थापाले जानकारी दिए। यसले नेपालको समस्या समाधान गर्न सक्दैन तपाईहरुले यसलाई कसरी हेरिरहनु भएको छ ? भन्ने खालको प्रश्न थियो उहाँको थापाले भने। 

अब नेपालका कम्युनिस्ट आन्दोलनको नयाँ किसिमबाट ध्रुवीकरण हुन सम्भव छ कि छैन ? भनेर पनि बास्तोलाले आफूसमक्ष प्रश्न राखेको उनले बताए। 



‘तपाईहरु पूर्व माओवादीबाट ओलीसँगको सहकार्य कस्ता भइरहेको छ भन्ने जिज्ञासा पनि उहाँले राख्नुभयो’ थापाले जानकारी दियो ।

मुख्य विषय भने तीन बुँदे सहमति ढिला भएकाले आफूहरुलाई अप्ठेरो परेका भन्ने नै रहेको थापाको भनाइ छ । यस विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छ कि छैन भन्ने विषयमै केन्द्रीय रहेको थापाले बताए।



ओलीको साथ छाडेर विप्लव नेकपासँग मिल्न लागेको भन्ने कुरामा भने कुनै सत्यता नभएको थापाले बताए । ‘उहाँहरुको र हाम्रो बाटो नै अलग भयो, त्यो सम्भावना अहिले म देख्दिन’ थापाले भने, बाहिर हावा चलेको मात्रै हो।’

आफूहरु अहिले जहाँ रहेको त्यसैमा प्रतिवद्ध भएको थापाले स्पष्ट पारे। 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपामा स्पष्ट विभाजन देखिएको थियो । त्यतिबेला पूर्व माओवादी पक्षका केही नेताहरु प्रचण्डको साथ छाडेर ओलीतर्फ लागेका थिए । ओली पक्षमा लाग्ने पूर्व माओवादीतर्फका सबै स्थायी समिति सदस्यलाई ओलीले मन्त्री बनाएका थिए। 

सर्वाेच्च अदालतको फैसलाका पूर्व माओवादीतर्फका सबै मन्त्री एकै पटक पदबाट हट्न परेपछि पूर्व माओवादी खेमा ओलीसँग असन्तुष्ट रहेको चर्चा चल्ने गरेको छ। 

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १९:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया