स्याउ तस्करी प्रकरण : चार प्रहरी अधिकारीलाई कारबाही सिफारिस

स्याउ तस्करी प्रकरणमा गठित अनुसन्धान टोलीले चार जना प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ ।  

 स्याउ तस्करी गरेर भारततर्फ पुर्याएकाे भनी चार जना प्रहरीलाई कारबाही गर्नका लागि सिफारिस गरिने भएको हो ।

अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा तस्करी गराउन संलग्न देखिएकाले चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

अनुसन्धान टोलीले बुझाएको प्रतिवेदनमा सशस्त्र प्रहरीका विओपी इन्चार्ज महेश कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी तस्करीमा संलग्न रहेको उल्लेख छ ।

स्याउ तस्करी प्रकरणमा  सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा छानविन टोली गठन गरेको थियो ।

सो टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज प्रहरी निरीक्षक महेश कार्कीलाई दोषी ठहर गरेको छ ।



जेठ २९ गते राति हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चाइनिज स्याउ बोकेका तीनवटा नेपाली नम्बरका ट्रक भारतसम्म पुगेको पाइएको छ । स्याउ तस्करी प्रकरणमा उच्च पदस्थ अधिकारीको हात रहेको भनिए पनि प्रतिवेदनमा त्यसबारे उल्लेख छैन ।

भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगेको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।



भारतीय प्रहरीले १३ सय कार्टुन स्याउ पक्राउ परेको घटनापछि सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गङ्गा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरी निलम्बनमा परेका थिए ।

उनीहरूसँगै ४९ जना प्रहरीलाई संलग्नताको आशंकामा जिल्ला कार्यक्षेत्रबाट माथिल्लो निकायमा तानेर अनुसन्धान थालिएको थियो ।

 

  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १४:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया