logo-img

तिंकरमा सशस्त्रको बिओपी भवन निर्माण सुरु

दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) सम्झौता सकिन लागेपछि बल्ल निर्माण सुरु भएको छ । असारको अन्त्यमा आएर बिओपी भवन निर्माण सुरु भएको हो । 

त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बिओपी निर्माणका लागि समान ढुवानी गरिएको छ । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको छ । हेलिकोप्टरमार्फत समान ढुवानी गरेर निर्माण कार्य सुरु भएको हो ।

भवन निर्माणका लागि धुलिखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । निर्माण व्यवसायी लालबहादुर बमले तिंकरमा यसअघि हिमपातका कारण समयमै सामान ढुवानी गर्न नसकिएको बताए । ‘मंसिर–पुसदेखि चैत–वैशाखसम्मै हिमपात भयो । हिउँ परेको बेला त्यो क्षेत्रमा ढुवानीमा अप्ठ्यारो भएको हुँदा निर्माण कार्य ढिलाइ भएको हो,’ उनले भने, ‘सामान ढँवानी भएसँगै तिंकरमा बिओपी निर्माणको काम अघि बढेको छ ।’ 



व्यास गाउँपालिका १ को तिंकर गाउँभन्दा माथिको छायालेकमा भने सशस्त्र प्रहरीको बिओपी राख्ने यसअघि नै निर्णय भएको थियो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिंकरमा पनि सशस्त्र प्रहरीको बिओपी राख्न लागेको हो ।

६ महिनाभित्रै प्रिफ्याबको एंगलसहितको भवन निर्माण हुनेछ । अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छांगरुमा भाडाकै घरमा बसेको छ । छांगरुमा अहिले निर्माणको काम भइरहे पनि तिंकरमा भने काम नै सुचारु हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ । छांगरुको गागामा पनि सशस्त्र प्रहरी भवन एक वर्षमा भुई तला मात्रै निर्माण भएको छ ।

दार्चुलाको तिंकर छायालेक समुद्री सतहबाट ३८ सय मिटर उचाइमा पर्दछ । यो क्षेत्रमा निकै चिसो हुने गर्दछ । यही क्षेत्रमा नेपाल प्रहरी पनि विगतदेखि बस्दै आएको छ । सशस्त्र प्रहरी पनि सँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो । सरकारले व्यासको तिंकरमा बोर्डर आउट पोस्ट बनाउनकाा लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । 



व्यासको छांगरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म रहेको छ । गुल्मअन्तर्गत माथिल्लो कौवा र तिंकरमा बिओपी राख्ने तयारी छ भने व्यास गाउँपालिका २ दुम्लिङमा बिओपी स्थापना भइसकेको छ । 

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र बाह्रैमास व्यासमा बसेको हो । भारतसँग सीमा जोडिएको जोलजिवीमा बिओपी भवन निर्माण अन्तिम चरणमा छ ।



मालिकार्जुन गाउँपालिकाको जोलजिवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा नयाँ प्रिफ्याबको एंगलसहितको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसै असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो । 

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १९:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया