विश्वका घुम्‍नै पर्ने उत्कृष्ट १० गाउँको सूचीमा अझै छ त नाम्जे ?
आधुनिकतासँगै मासिँदै मौलिकता

बेग्लै खाले घरहरू। टाँडमा अनिवार्य देवताको थान। छुट्टै रहनसहन।  हँसमुख र फरासिला मान्छेहरू। रमाइलो पाराको रहनसहन र सँस्कृति ।  छिनमै उघ्रिने र छिनमै धुम्म हुने चिसो मौसम। हिमश्रृंखला छर्लङ्ग देखिने स्थान। अनि मौलिक पाराको खानपान। 

यो विशेषता हो धनकुटाको नाम्जे गाउँको। 

“यिनै कुराले मन छोयो होला र त पिस्कर भोलेन्टियर राजीव गोयलको पछि लागेर आएका सिएनएनका पत्रकारहरू नजरमा नाम्जे गाउँ पर्यो। अनि उनीहरूले विश्वका उत्कृष्ट १२ वटा घुम्न जाने गाउँको लिस्टमा नाम्जे गाउँलाई राख्न अथक मेहनत गरे’ धनकुटाको सँगुरी गढी गाउँपालिका स्थित थुम्की नाम्जे सामुदायिक होमस्टेका अध्यक्ष अनिलकुमार  राना एक दशक अघिको कुरा सम्झन्छन्। 

पहिलाको नाम्जे गाउँ । तस्विर : सौजन्य रमेशचन्द्र अधिकारी​

सिएनएनका पत्रकारहरू १७ दिन नाम्जेमा बसेर फर्किए। त्यसपछि अमेरिकी टेलिभिजन च्यानल सिएनएनले विश्वका १२ उत्कृष्ट घुम्न जाने गाउँको सूचीमा तयार पार्दा नाम्जे गाउँ ८औँ स्थानमा पर्यो। यो २०६७ सालको कुरा हो। 



यसपछि नाम्जेको चर्चा खूब भयो। पत्रिका, रेडियो र टेलिभिजनमा नाम्जे गाउँको समाचार आइरह्यो। घुम्न आउनेको लर्को लाग्यो। नेता र प्रशासकहरूको पनि बाक्लो उपस्थिति हुन थाल्यो नाम्जेमा। 

नयाँ नयाँ होटलहरू बने। खरको छानो भएको मगर बस्तीका घरहरूमा जस्ताको छाना लागे । घर बनाउन काठको खाँवा, माटो र ढुंगाको ठाँउमा सिमेन्ट र इँटाको प्रयोग हुनथाल्यो। चर्चासँग नाम्जे गाउँमा आधुनिकता भित्रियो। 



अहिले पनि नाम्जे विश्वका घुम्न जाने उत्कृष्ट गाउँको सूचीमा पर्ला त ?  फरकधारको जिज्ञासामा नाम्जेका अगुवा गुञ्जबहादुर मगर शंका व्यक्त गर्छन्।

आधुनिकताले नाम्जेको वास्तविक पहिचान मेटिएकोमा उनी चिन्तित छन्।

अहिलेको नाम्जे गाउँमा बनेका होटल

 ‘त्यो बेला र अहिलेको रहनसहन, चालचलनमा परिवर्तन भयो’ उनले भने,  घरको भित्र भित्रसम्म खिचेर लगेका थिए। हाम्रो कुल पितृ र देउताको थान हो नजाउ भन्दा पनि जान्थे। खाना खाएको र खानेकुराको धेरै याद गर्थे। मगरहरूको घर खूब खिचे”

सामुदायिक होम स्टेका अध्यक्ष अनिलकुमार राना नाम्जेको रहनसहनमा धेरै परिवर्तन भएको स्वीकार गर्छन्। नाम्जेको वास्तविक पहिचान बचाउन लागेको रानाको भनाइ छ। 

प्रकृतिको सुन्दरताले मात्रै नाम्जेलाई संसारभर चिनाएको नभई यहाँको रहनसहन र रीतिरिवाजले पनि उत्कृष्ट गाउँको सूचीमा परेको राना बताउछन्।  ‘हामी बचाउने प्रयत्नमा त लागेका छौँ। तर आधुनिकतासँगै मौलिकता हराएर जाँदो रहेछ’ रानाको गुनासो छ।  

आधुनिकताको प्रवेश

चर्चामा आउनुभन्दा अघि नाम्जेमा अहिलेका जस्ता होटल थिएनन्। चिया खाजा बेच्ने दीप होटल थियो। यसका सञ्चालक थिए गोविन्द मगर। सिएनएनले गरेको प्रचारपछि एक्कासी चहलपहल बढेको गोविन्दले बताए।

‘संसारकै उत्कृष्ट गाउँ कस्तो रैछ त ? भन्ने जिज्ञासाले तानेर मानिसहरू आउन थाले’ मगर सुनाउँछन् ‘त्यसपछि नाम्जेमा होटलहरू खुल्न थाले। सँगै व्यपार बढ्यो। सँगै आधुनिकता पनि भित्रियो।’

२०६८ सालदेखि ७२ को भूकम्प अघिसम्म नाम्जेमा घुम्न आउनेको भीड थामिनसक्नु थियो। पर्यटकलाई बस्ने ठाँउको समेत अभाव हुनथाल्यो। यस्तो अवस्था आएपछि भटाभट सुविधासम्पन्न होटलहरू खुल्दै गए। 

नाम्जे गाउँको एक होटल

नाम्जेमा नेपाली भन्दा भारतीय बढी आउँथे। भारतको बिहार, पश्चिम बंगालबाट नाम्जेको नाम सुनेर उनीहरू त्यहाँ पुग्ने गरेका थिए। 

ग्राहकको चाहना अनुसार नाम्जे परिवर्तन हुँदै गएको होटल व्यवसायी ललित थापा मगर बताउँछन्।

११० घरधुरी बसोबास रहेको नाम्जेमा अहिले सुविधा सम्पन्न १५ भन्दा बढी होटल र लज छन्। साना होटलहरूको संख्या ३० को हाराहारी छ। 

बसोवासमा मात्रै होइन। खानपानमा पनि परिवर्तन भयो। तपाएकोमा खाजा के छ ? जिज्ञासा राख्न नपाउँदै ललित थापा मगरले फटाफट भने- मम, चाउमिन, ब्रेड, थुक्पा।

खानपानमा समेत मौलिकता हराएको स्थानीय विद्यालयका प्रधानाध्यापक टंक  भुजेल बताउँछन्। तर यहाँ आउने पर्यटकले भने परम्परागत खानेकुरा खान चाहन्छन् होटल व्यवसायी ललति थापाको भनाइ छ। 

‘सिजन अनुसारका फलफूल, कोदो, फापरको रोटी, मकै–भटमास, हरियो मकै खाने चाहाना पाहुनाको हुन्छ’ थापा भन्छन्। 

यस्ता खानेकुरा बनाउन समय लाग्ने भएकाले छिटो जे बन्छ त्यही खाने माग गर्नेहरू पनि धेरै हुने गरेको उनी बताउँछन्। माग भएअनुसार स्थानीय र परम्परागत खानेकुरा पनि बनाउने गरेको थापा सुनाउँछन्। 

मौलिकता बचाउन संघर्ष गर्दै होमस्टे

थुम्की नाम्जे होम सामुदायिक होम स्टेका अध्यक्ष अनिल कुमार रानाको शब्द सापटी लिने हो भने नाम्जेको पुरानो सँस्कृति, परम्परा र खानपानको मौलिकता बचाउन होम स्टे संघर्ष गरिरहेका छन्। 

‘होम स्टेमा नाम्जेमा फल्ने खानेकुरा र उत्पादन भएका सामाग्री पाहुनालाई खुवाछौँ। बाहिरबाट आयतीत खानेकुरा हाम्रोमा पाइँदैन’ अनिल भन्छन्, ‘हामी यहीँ बनेको लोकल रक्सी खुवाउँछौ। पाहुनाका लागि कुखुरा पालेका छौँ।’ 

सिजन अनुसारको फलफूल समेत खुनाउने गरेको र बाहिरबाट ल्याएर रक्सी खान मनाइ गरेको छौ होम स्टे सञ्चालक गुञ्जबहादुर मगर सुनाउँछन्। उनका अनुसार होम स्टे सञ्चालकहरूले परम्परागत पहिरन र लवजमा समेत ध्यान दिने गरेका छन्। 

होमस्टे सञ्चालित गाउँ 

बाहिरका मानिसहरूको प्रवेश नहोस् भनेर होम स्टे सञ्चालन भएका क्षेत्रमा बाहिरका मानिसलाई जग्गा बेच्न प्रतिबन्ध लगाएको गुञ्ज बहादुरले जानकारी दिए।‘बाहिरका मानिसको प्रवेशले यहाँका परम्परा, पहिचान मासिने भएकाले २ यस्तो निर्णय भएको हो’ होम स्टेका अध्यक्ष अनिलकुमार रानाले भने, ‘गाउँले सबै मिलेर यस्तो निर्णय गर्यौ।’

नाम्जेको पहिचान जोगाउन निरन्तर लागि रहेको उनको दावी छ।  मान्छेहरू आधुनिकता हेर्न, विकास हेर्न पक्कै यहाँ आएका होइनन्’ उनी भन्छन्। अहिले कोभिडका कारण होम स्टे बन्द गरिएको छ। साउनबाट खोल्ने तयारीमा रहेको अनिल कुमारले सुनाए।

होमस्टे सञ्चालित घर ।

‘हामीले रसायनिक मल हाल्न छाडेको वर्षौँ भयो। पाहुनाका लागि अर्गानिक खानेकुरा खुवाउन यस्तो निर्णय गरेका हौँ’ उनको भनाइ छ। 

अध्यक्ष रानाले भने,“ होम स्टे क्षेत्रमा पक्की घर नबनाउने भन्ने सहमति गरेका छौ। खरको ठाँउमा जस्ता हालेका छौ। ”

आधुनिकता भित्रियो विकास भित्रिएन 

नाम्जेमा आधुनिकता भित्रिए पनि विकास भने भित्रिएको छैन। धनकुटाको भेडेटारबाट नाम्जेको दुरी ५ किलोमिटर मात्रै छ। तर त्यति दूरी पार गर्न ठूलै संघर्ष गर्नुपर्छ। ठाँउ–ठाँउमा झरेको पहिरो र हिलो बाटोका कारण नाम्जे पुग्न निकै कठिन छ।  

होटल कोठा बुक गरिसकेका ग्राहक पनि बाटोका कारण आउन नसकेका धेरै घटनाको अनुभव व्यवसायी ललित थापासँग छ। थापा सुनाउँछन् ‘हामी भेडेटारबाट हिँड्यौँ भन्नुहुन्छ। अलि माथि आएपछि बाटोका कारण आउन सकेनौ भन्नुहुन्छ।’ ​

भेडेटारबाट नाम्जे जाने सडकको ट्र्याक २०३७ साल तिर खुलेको हो। त्यही समयबाट सो सडकमा गाडी कुद्थे। ४० वर्ष बित्दा पनि यो सडक कालोपत्रे  छैन्। यो ५ किलोमिटर सडक एक पटक भने पिच भएको थियो तर ६ महिना नबित्दै भत्कियो। 

नाम्जे जाने बाटोको अवस्था।

भेडेटार, रावी राँके सडक अन्तरगत पर्ने नाम्जे जाने बाटो बनाउन ठेक्का लागेको छ। तर काम भने खासै भएको छैन। बाटो नबन्दा निकै समस्या परिरहेको होटल व्यवसायी संघ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन्। 

वर्षायाम सुरु हुनेबित्तिकै सडकमा पहिरो झर्ने र हटाउन समय लाग्ने भएकाले पनि समस्या हुने गरेको छ।

नाम्जेको अर्को समस्या खानेपानी हो। लिप्फ्टिङ सिस्टमबाट पानी ल्याइएको भएपनि माग अनुसार आपूर्ति नभएको विद्यालय सिञ्चाइ समुदाय खानेपानी आयोजनाका अध्यक्ष गुञ्जमान मगरले बताए। अहिले दैनिक १ लाख लिटर पानीको माग नाम्जेमा छ। तर आपूर्ति दैनिक ५० देखि ६९ हजार लिटर मात्रै छ।

खानेपानी ल्याउनका लागि चाहिने बिजुली नियमित नहुनु, मुहानमा जेनेरेटर तथा जनशक्ति समेत नभएका कारण नाम्जेमा खानेपानी व्यवस्थापनमा समस्या भएको मगरको गुनासो छ।


 

  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १६:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया