किन हरेक दिन नेताको घरदैलो चहारिरहेका छन् विप्लव ?

मूलधारको राजनीतिमा आएर खेतीकिसानी गर्न नवलपरासी पुगेका नेत्रविक्रम चन्द विप्लव पछिल्ला दिनमा काठमाडौंको राजनीतिक माहोलमा बाक्लै देखिन थालेका छन्। कहिले उनी सत्तारुढ नेताको घरमा पुगेका छन् त कहिले पूर्वप्रधानमन्त्री कहाँ। 

यसको राजनीतिक अर्थ र उनको अभिष्ट फरक होला तर, विप्लव नेतृत्वको नेकपालाई जेलमा रहेका आफ्ना कार्यकर्ता कहिले छुट्ने हुन भन्ने चिन्ताले सताइरहेको छ। 

२१ फागुन ०७७ मा सार्वजनिक भएका विप्लव लगत्तै लगातार केहीदिन सार्वजनिक कार्यक्रममा देखिए। २५ फागुनसम्म सार्वजनिक कार्यक्रममा देखा परेका उनी करिब २ हप्तासम्म गुमनाम रहे। कपिलवस्तुको शिवगढीमा आयोजित सार्वजनिक कार्यक्रमपछि उनी सुस्ताएका थिए।

चैत्र ९ गते काठमाडौं आएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका विप्लवले त्यतिबेला तत्कालीन मन्त्रिमण्डलका सदस्यदेखि आफ्ना पूर्व सहयात्री हरूसँग भेट गरेका थिए। त्यसको झण्डै ३ महिनापछि विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनेबित्तिकै उनी काठमाडौं भित्रिए र भेटघाट बाक्लो बनाए। 

भेटघाट श्रृङ्खला

२८ असारमा प्रतिनिधिसभा पुनःस्थापना हुनेबित्तिकै उनी कपिलवस्तुबाट काठमाडौं भित्रिए। भोलिपल्ट आफ्ना नेता कार्यकर्तालाई भेटेका उनले त्यसपछि पूर्वसहयात्रीहरूसँग भेटे सुरु गरे। १० वर्षे जनयुद्धमा उनका नेता रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनी ३० असारमा खुमलटार पुगे।



प्रचण्डको सचिवालयका अनुसार उनीहरूबीच प्रचण्ड निवासमा झण्डै डेढ घन्टा समसामयिक राजनीतिका बारेमा छलफल भएको थियो। करिब ५ वर्षदेखि भेट नभएका उनीहरूबीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको थियो। 

२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट तत्कालीन उपाध्यक्ष मोहन वैद्यसँगै छुट्टिएका थिए विप्लव। त्यसयता प्रचण्ड र विप्लवबीच बिरलै भेट भएको थियो। उनले सीता दाहालसँग भलाकुसारी गरेको मार्मिक तस्बिर सार्वजनिक भएको थियो।



उनी काठमाडौं भित्रनेबित्तिकै विप्लव निकट एक नेताले फरकधारलाई भनेका थिए, ‘अबको केही समय उहाँ (विप्लव) विभिन्न राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ।’

ती नेताले भनेजस्तै विप्लवले त्यसयता विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट बाक्लो बनाए। ३१ असारमा उनी पूर्वप्रधानमन्त्री तथा एमाले असन्तुष्ट पक्षका नेता माधव कुमार नेपाललाई भेटे। नेपाललाई भेट्न उनी कोटेश्वरस्थित उनको निवास पुगेका थिए। 

जुन भेटमा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी थिए। एकातिर एमालेमा बढ्दो विवाद त अर्कोतिर प्रचण्डसहित विप्लव नेपाल निवास पुगेपछि विभिन्न कोणबाट चर्चा भयो। विवादको भूमरीमा रुमल्लिएको एमालेमा पनि यसले केही तरंग ल्यायो।

विभाजनको डिलमा पुगेको एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेपाल, विप्लव र प्रचण्डको भेटलाई एकीकृत नयाँ दल गठनको प्रयासका रुपमा समेत हेरियो। 

त्यसको भोलिपल्टै उनी आफ्ना पूर्व सहयात्री डा. बाबुराम भट्टराईलाई भेट्न उनको निवास टोखा पुगे। पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईसँगको उक्त छलफलमा पनि समसामयिक राजनीतिकै बारेमा छलफल भएको जानकारी बाहिर आएको छ। 

त्यसपछि उनले साउन २ गते अर्का पूर्व सहयात्री मोहन वैद्यसँग भेटघाट गरे। नेकपा क्रान्तिकारी माओवादीका महासचिव समेत रहेका वैद्यसँग उनले यसअघि पनि भेटवार्ता गरेका थिए। गत १४ पुसमा विप्लवसहितका ४ साना दलले रणनीतिक मोर्चा बनाएका थिए। वैद्यसँगको भेटमा उनले रणनीतिक संयुक्त मोर्चाको आगामी जिम्मेवारी र कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेको जानकारी उनी निकट नेताहरूले दिएका छन्।  

भेट यत्तिमै मात्र सीमित रहेन। सर्वोच्चको २३ फागुनको फैसलापछि माओवादी केद्र छाडेर एमाले बनेका नेताहरू टोप बहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाहसँग भेटे साउन ४ गते विप्लवले भेटे। यसमा पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिइएको छ।

त्यसपछि उनले ५ साउनमा जनयुद्धका घाइते तथा परिवारसँग भेटवार्ता गरे। उक्त भेटघाटमा उनले वैज्ञानिक समाजवाद नल्याएसम्म आफूहरू सँगै रहने बताएका थिए। ‘क्रान्ति नजितेसम्म हामी सँगै हिडौँला वैज्ञानिक समाजवाद नल्याएसम्म सँगै लडौँला, हामी क्रान्तिमा बलिदान गर्न तयार छौँ बरु हामी खरानी बन्छौँ तर सहिदका सपना मर्न दिदैनौँ।’ उनले हिजोको भेटघाटमा भनेका थिए। 

त्यसपछि उनी मंगलबार(आज) बिहानै पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि बालकोट पुगे। केही दिनअघि मात्र बालुवाटार छाडेर बालकोट पुगेका ओलीलाई भेट्न उनीसहित  खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धमेन्द्र बस्तोला पनि बालकोट पुगेका थिए।

जहाँ ओली पक्षका नेता तथा विप्लवसँगको वार्ता टोलीका संयोजक राजन भट्टराई पनि थिए।ओलीसँगको आजको भेटघाटमा पनि पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको भनिएको छ।

के चाहन्छन विप्लव ?

विप्लवले ओली नेतृत्वको सरकारसँग गरेको ३ बुँदे सम्झौतामा राजनीतिक कार्यदिशा बारेमा प्रष्ट उल्लेख छैन्। विप्लव निकट नेताका अनुसार यी सबै भेटघाटमा जनमत संग्रह हुनुपर्ने मागलाई उनले जोड दिएका छन्। 

सरकारसँगको तीन बुँदे सहमतिमा दुवै पक्ष देशको राजनीतिक समस्याहरू वार्ता र संवादबाट समाधान गर्न सहमत, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत र सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको उल्लेख थियो।

तर बेलाबखत सार्वजनिक हुने विज्ञप्तिमा उनीहरूले वैज्ञानिक समाजवाद भन्ने गरेका छन्। जनमत संग्रह हुनुपर्ने माग अगाडि सारिरहेका छन्। दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि पनि विप्लवले पाँच बुँदे धारणा राख्दै ‘वैज्ञानिक समाजवाद’ वा ‘दलाल पुँजीवाद’ रोज्ने अधिकार जनमत संग्रहदद्धारा जनतालाई प्रदान गर्नुपर्ने भनेका थिए।
खास के हो त ?

विप्लवले एकाएक बढाएको भेटघाट र छलफललाई शान्तिपूर्ण राजनीतिमा आएपछि छिन्नभिन्न बनेका पूर्व माओवादी शक्तिलाई एकीकृत गर्ने प्रयासको रुपमा पनि धेरैले अर्थ्याए।

विश्लेषक मीना पौडेल यसलाई वाम एकताका लागि गरिएको प्रयास पो हो कि ? भन्दै शंका व्यक्त गर्छिन्। ‘एउटा त उहाँहरूले गर्नुभएका मागहरूको सम्बोधनका लागि प्रयास पनि होला’ पौडेलले फरकधारसँग भनिन्, ‘बाहिरबाट हेर्दा के देखिन्छ भने वाम एकता रियलाइजेसन भएको हो कि ?’ 

‘१०/१५ वर्ष शान्ति प्रक्रिया हुँदापनि केही प्रगति नभएको र फर्केर भूमिगत हुने प्रयत्न गर्दा पनि सम्भावना नयाँ बाटोका लागि भौतारिएको विश्लेषक पौडेलको धारणा छ। ‘चिन्तन मनन गरेर खुल्ला राजनीतिमा आएर वाम एकता वा एलायन्सका लागि हो जस्तो देखिन्छ’ उनी भन्छिन्। 

विप्लव नेकपाको यस प्रकारको भेटघाटको खास ध्येय के हो ? त्यसले के नतिजा दिन्छ भन्ने कुरा भने भविष्यले देखाउला  

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १९:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया