ओलम्पिकमा खेलाडीभन्दा दोब्बरको संख्यामा पदाधिकारी किन ?

लगभग ५५ वर्षयता निरन्तर ओलम्पिकमा भाग लिइरहेको नेपालले प्रत्येक वर्ष खेलाडी पठाउँछ । खेलाडीसँगै जोडिएर सम्बन्धित खेलका प्रशिक्षक, व्यवस्थापकका नाममा खेलाडीको संख्याभन्दा दोब्बरको संख्यामा नेपालका खेल पदाधिकारीहरु ओलम्पिकमा सहभागिताका लागि जाने गरेका छन् । 

यस वर्ष पनि नेपालबाट मात्रै ५ जना खेलाडी ओलम्पिकमा सहभागी हुन गइरहेका छन् । उनीहरुसँग ४ जना प्रशिक्षक पनि सहभागी हुँदैछन् । पौडीमा २ खेलाडीका लागि एक जना मात्र प्रशिक्षक गएका हुन् । ओलम्पिक कमिटीबाट तथा अन्य क्षेत्रका पदाधिकारी भने खेलाडीको संख्याभन्दा दोब्बर संख्यामा गएका छन् । 

अहिले ५ जना खेलाडीको साथमा टोकियो ओलम्पिकका लागि १७ जना पदाधिकारी गएका छन् । ‘ती पदाधिकारीले ओलम्पिक हेर्ने भन्दा केही काम गर्दैनन्’, एक पूर्व खेलाडीले बताए । उनले थपे, ‘उनीहरु गएर हामीलाई केही कुरामा पनि सहयोग हुँदैन । उनीहरु केही खेल हेर्न मात्रै जाने हुन् । कोही त झन नतिजा राम्रो नल्याए उल्टै कराउँछन्’, उनले थपे ।
 
टोकियो ओलम्पिकमा छनोट भएका ३ जना नेपाली खेलाडी अनिवार्य कोटामा गएका हुन् । २ जना खेलाडी भने वाइल्ड कार्डबाट छनोट भएर गएका हुन् । हालसम्म ४ खेलाडी जापान पुगिसकेका छन् । सरस्वती चौधरी भने जुलाई २४ मा प्रस्थान गर्ने भएकी छन् । उनकी प्रशिक्षक इन्द्र कुमारी मल्ललाई कोभिड पोजेटिभ देखिएपछि चौधरीको प्रशिक्षकको रुपमा सन्तोष श्रेष्ठ जाने भएका छन् । 

त्यस्तै, पौडीका लागि प्रशिक्षक शंकर कार्की, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, सुटिङका प्रशिक्षक असिम यादव जापान पुगिसकेका छन् । 

पदाधिकारी टोलीमा को को छन् ?
पदाधिकारी टोलीमा भने मेडिकल टोलीतर्फ डाक्टर नविस मानसिंह प्रधान छन् । कोभिडको समय भएकाले कोभिड विज्ञलाई पनि टोलीमा राखिएको छ । खेल पदाधिकारीहरु पनि विभिन्न कोटामा ओलम्पिकका लागि जापान प्रस्थान गरेका छन् ।

जसमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीको निमन्त्रणामा २ जना नेपाली पदाधिकारी टोकियो पुगेका छन् । आधिकारिक निमन्त्रणामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्र राज श्रेष्ठ गएका हुन् । 



त्यस्तै, नेपाल ओलम्पिक कमिटीका तर्फबाट ७ जना अधिकारी प्रस्थान गर्ने टुङ्गो लागेको हो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरनाथ नन्दराज वैद्य, उपाध्यक्षद्वय तेज बहादुर गुरुङ र सुनिलकुमार श्रेष्ठ, सहसचिव पिताम्बर तिमल्सिना, सचिव तुलसी थापा, सदस्य प्रकाश शम्शेर राणा र राम आले उक्त टोलीमा रहेका छन् । 

युवा तथा खेलकुद मन्त्रालयबाट सचिव केदार न्यौपाने पनि यस टोलीमा समावेश भएका छन् । राष्ट्रिय खेलकुद परिषदबाट उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेश कुमार सिलवाल, सदस्य सुभाष श्रेष्ठ र अर्का सदस्य सम्पन्न श्रेष्ठ पनि टोकियो गएका छन् । 



टोकियोस्थित नेपाली दूतावासको कर्मचारी प्रेम बराल पनि त्यस टोलीमा समावेश रहेका छन् । नेपाली पदाधिकारीहरुको टोलीमा टोकियोस्थित नेपाली स्वयंसेवक रुपेश डंगोल पनि नेपालको प्रतिनिधित्व गर्दै समावेश भएका छन् । 

पाँच खेलाडी समावेश खेलमा यति धेरै पदाधिकारी किन जान्छन् भन्ने प्रश्नमा पूर्व खेलाडीहरुले केही प्रष्ट पारेका छन् । खेलमा सहभागी हुने खेलाडीका लागि अत्यावश्यक मानिएको फिजियो भने टोलीमा छैनन् । पाँच खेलाडीका लागि एक मात्र डाक्टर टोलीमा समावेश गरिएको छ ।  ओलम्पिक कमिटी तथा अन्य पदाधिकारी भने १६ जना रहेका छन् । 

किन जान्छन् त यत्ति धेरै पदाधिकारी ?
ओलम्पिकमा सहभागी हुने टोलीमा किन धेरै पदाधिकारी जान्छन् भन्ने विषयमा अहिले चर्को बहस भइरहेको छ । यसै विषयमा फरकधारले गरेको प्रश्नमा ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुव बहादुर प्रधान भन्छन्, ‘केही काम अफिसियलको पनि हुन्छ । तर, अफिसियल छान्दा खेलसँग सम्बन्धित मानिसहरु राख्नुपर्छ ।’ 

खेलसँग सम्बन्धित खेलाडी तथा प्रशिक्षक अनि फिजियो अत्यावश्यक पक्ष भएको प्रधानको बुझाइ रहेको छ । नेपालमा भने यसको प्रचलन खासै नभएको उनले बताए । नेपालका खेलाडीले ओलम्पिकमा हालसम्म कुनै पनि पदक हात पार्न सकेका छैनन् । 

ओलम्पिकको लागि एक जना खेलाडी पछाडि कति जना पदाधिकारी जान पाउने भन्ने नियम रहेको हुन्छ । ‘नेपालबाट पनि सीमित कोटामा नै अफिसियलहरु जान पाउने हुन्छ’, उनले भने । 
प्रशिक्षक र व्यवस्थापक तथा सम्बन्धित फिजियो अत्यावश्यक हो । नेपालबाट ओलम्पिकमा जाने खेलाडीहरु एउटा खेलमा एकजना मात्रै भएकाले अफिसियलहरु धेरै देखिएको हो । 

‘समूह खेल भएको भए अफिसियल कम देखिने थिए । पदाधिकारीहरु ८ दिनको कोटामा जान्छन् । केही पदाधिकारीहरु पूरै दिन बस्न पाउने हुन्छन् भने कोही ८ दिन मात्रै बस्छन्’, प्रधानले स्पष्ट पारे । 
केही खेलहरुको व्यवस्थापकीय पक्ष ओलम्पिक कमिटीले नै व्यवस्था गरेको हुन्छ । जस्तै, पौडीका लागि व्यवस्थापकीय पक्षको सम्पूर्ण काम आयोजकले नै गरिसकेको हुन्छ । 

आठ वर्ष लामो अध्यक्ष कार्यकालमा प्रधानले पनि पदाधिकारी सम्बन्धित धेरै आलोचना सुनेका छन् । उनी भन्छन्, ‘अफिसियल चयन गर्दा धेरै नै संयमता अपनाउनुपर्छ । यो विवादास्पद कुरा हो ।’ प्रधानले भने ।
कुनै पनि खेलमा खेलाडीभन्दा पदाधिकारी बढी जाने कारणहरुले गर्दा चाहिने पदाधिकारी जाँदा पनि विवादमा फस्ने गरेको उनको भनाइ रहेको छ । 

‘ओलम्पिक जाँदा व्यवस्थापकीय पक्ष तथा समय तालिका र खेलाडीको समय स्थान सबै पदाधिकारीहरुले नै गर्नुपर्छ’, प्रधानले भने, ‘सबै पदाधिकारी काम हुने पनि होइनन् । सबै काम नभएका पनि होइनन् ।’
पदाधिकारीले आफ्नो कार्यभार राम्रोसँग सम्हाल्नुपर्ने तर विवादमा आउने गरी अत्याधिक पदाधिकारी लान भने नहुने प्रधानको भनाइ छ । उनले भने, ‘पदाधिकारी अत्याधिक समयमा खेलकुदमा नै सम्बन्धित हुने चयन गर्नुपर्छ ।’ 

‘सधै र सबै अवस्थामा खेलकुदसँग नै सम्बन्धित व्यक्ति मात्रै लान सकिँदैन । कहिले काहिँ राजनीतिक कार्यकर्ता पनि नलगी नहुने बाध्यता आउँछ’, ओलम्पिक कमिटीका एक पदाधिकारीले भने । 
‘नेपालमा शुद्ध खेलकुद पदाधिकारी मात्रै सबै खेलमा जान नसक्ने अवस्था आउँछ । तर, सोही खेलमा राजनीतिक कार्यकर्ता गएकै हुन्छन्’, उनले थपे । 

यसपटकको ओलम्पिक अत्यधिक विवादमा
खेलकुदका कार्यक्रमहरुमा चरम राजनीतिकरण हुँदा नेपाली खेलकुदमा बारम्बार प्रश्न चिन्ह उठ्ने गरेको छ । यस वर्षको ओलम्पिक भने टोकियो पुग्ने खेल पदाधिकारीको जम्बो टोलीका कारण नेपाली खेलकुद क्षेत्रको लागि अत्याधिक विवादयुक्त बन्न पुगेको छ । 

यसपटक गोपीचन्द्र पार्कीको नाम खारेजको विषय पनि निकै चर्चामा रह्यो । उनको नाम अन्तिम चरणमा आएर खारेज भयो । ‘टेक्निकल फल्ट’को कारण देखाई उनको नाम हटाएर १०० मिटर दौडको लागि सरस्वती चौधरीको नाम पठाइएपछि चर्चाको विषय बनेको हो ।
 
एथ्लेटिक्स प्रशिक्षक इन्द्र कुमारी मल्लको कोरोना परीक्षण तथा उनको नाम हटाइएको विषय पनि निकै चर्चामा आएको छ । उनको अघिल्लो दिन गरेको कोरोना परीक्षण पोजेटिभ आएको थियो भने एक दिनपछि उनैको रिर्पोट नेगेटिभ आएको हो । उनको अघिल्लो दिनको रिर्पोटलाई आधार मानेर उनको ठाउँमा सन्तोष श्रेष्ठलाई प्रशिक्षक नियुक्त गराई पठाइएको हो । 

यस वर्षको ओलम्पिकका लागि गरिएको पदाधिकारी छनोट पनि विवादमा मज्जाले घटेचियो । एमाले नेता वामदेव गौतमकी श्रीमती तुलसा थापा कबड्डी संघसँग सम्बन्धित रहे पनि यस वर्ष उनलाई जुडोको व्यवस्थापक टोलीमा नाम दर्ता गराई टोकियो पठाइएको छ । 

सांसद समेत रहेकी थापा जुडोको व्यवस्थापकीय टोलीमा रहेर जापान प्रस्थान गर्ने टुङ्गो लाग्नासाथ उक्त विषय अत्यधिक चर्चामा आएको थियो । उनी ओलम्पिक कमिटीको सचिव समेत रहेकी छन् । उनको यसपटकको ओलम्पिक यात्रा र उनलाई जुडो टोलीको व्यवस्थापक बनाएर जापान लैजाने कुरा नेपाली खेल जगतमा अपाच्य जस्तै बन्न पुग्यो । 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १५:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया