पूर्वपर्यटन राज्यमन्त्री बुढाले ल्याएका थिए ‘एमआई-१७ हेलिकप्टर’
२१ हजार २०१ अमेरिकी डलर तिरेर फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७७ सालको पुस १७ गते ट्रान्जिटका लागि भनेर पार्किङ सुविधा दिइएकाे दुईवटा एमआइ-८ हेलिकप्टर झन्डै सात महिनापछि उडेका छन् । ट्रान्जिटका लागि विमानस्थलमा पार्किङ गरिए पनि यसको मुख्य उद्देश्य नेपालमा हेलिकप्टर बेच्नु थियो ।​

पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा किर्गिस्तानका २ वटा एमआई-१७ हेलिकप्टरले ट्रान्जिटको नाममा करिब सात महिना पार्किङ पाएको स्रोतले बताएको छ । बंगलादेशबाट उडेको हेलिकप्टर भारतको दिल्लीमा लैजाने भनिए तापनि खासमा नेपाली व्यवसायीलाई हेलिकप्टर बिक्री गर्ने लक्ष्य रहेको स्रोतले जनाएको छ ।

रसियाको कजान हेलिकप्टरले निर्माण गरेको एमआई-८ एमटिभी १ मोडलका एमआई-१७ हेलिकप्टरहरू इएक्स-०८०२३ र इएक्स-४०००७ कल साइनका थिए । यी हेलिकप्टर विमानस्थलमा राखिएसँगै केही व्यवसायीहरूले विरोधसमेत गरेका थिए । 

यी हेलिकप्टर नेपालका विमान कम्पनीले किन्ने हल्ला चलेपनि खासगरी कसले किन्दैछ भन्ने तथ्य खुलेको थिएन । तर पूर्वपर्यटन राज्यमन्त्री मगरको पहलमा सो हेलिकप्टर नेपालमा नै बिक्री गर्ने तयारी गरिएकाे नागरिक उड्यन प्राधिकरण(क्यान) को उच्च स्रोतले बताएको छ। यस विषयमा बुझ्न खोज्दा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाको फोन उठेन । 

को हुन्, धनबहादुर बुढा ?

धनबहादुर बुढा डोल्पाका सांसद हुन् । २०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । 



डोल्पामा राप्रपाको राजनीतिमा बलियो मानिएका बुढा २०७० मा एमाले प्रवेश गरेका थिए । यसपछि उनी दोस्रो संविधानसभामा सभासद बने ।

नेपालमा सञ्चालनमा रहेका हेलिकप्टर र जहाजहरू नियमित मर्मतसम्भार गरी चलाउन पाइने भए पनि २० वर्षभन्दा पुराना जहाजहरू खरिद गरी नेपालमा दर्ता गर्न प्रतिबन्ध छ । जसकारण ती हेलिकप्टरलाई नेपालमा दर्ता र सञ्चालन गर्न दिन नसकिएको क्यानले जनाएको छ । नेपालमा दर्ता पनि नहुने र सञ्चालनको अनुमति पनि नहुने भएपछि ६ महिनापछि ती हेलिकप्टर किर्गिस्तान फर्किएको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ३० वर्ष पुरानो थोत्रा हेलिकप्टर नेपालमा दर्ता नहुने भएपछि जुलाई ६ मा फिर्ता लगेको हो । 



लकडाउनको नाममा सेटिङ 

पार्किङको व्यवस्था मिलेपछि हेलिकप्टर बिक्रीका लागि विभिन्न सेटिङकाे प्रयास भएकाे थियाे ।  तर सेटिङ सफल नभएको स्रोतको दावी छ । हेलिकप्टर उडानका लागि लकडाउनले कुनै प्रभाव पारेको थिएन । स्रोतका अनुसार आरएफजी कम्पनीले हेलिकप्टर पार्किङका लागि अनुरोध गरेपछि राख्न दिइएको हो । नेपालमा यो सिरिजको हेलिकप्टर श्री एयरलाइन्ससँग मात्रै छ ।

पार्किङमा राखिएको हेलिकप्टरमा प्राविधिक समस्या भनिएता पनि यो सबै प्रोपोगाण्डा मात्रै भएको स्रोतले बताएको छ । 

यसरी थपियो पार्किङ समय 

ट्राजिन्टका लागि अनुमति सहितको पत्र आएपछि क्यानले २ दिनका लागि पार्किङ दिएको थियो । स्रोत भन्छ, ‘नेपाल आइपुगेका ती हेलिकप्टर पछि १० दिनको समय मागेर विमानस्थल थन्किए । त्यसपछि पनि १५ दिन समय थप गरी बसिरहेको थियो ।’

तर हेलिकप्टरमा समस्या भएको कारण मर्मत गर्नुपर्ने भन्दै पार्किङका लागि समय थप गरिदिन किर्गिस्तानको उड्डयन प्राधिकरणले आग्रह गरेको क्यानमा प्रवक्ता क्षेत्रीको भनाइ छ। 

किर्गिस्तानबाट ल्याइएका ती हेलिकप्टर नेपाली हेलिकप्टर कम्पनीलाई बिक्री गर्न भित्राइएको थियो । करिब १२ वर्षदेखि सेवा बन्द भएको एक नेपाली हेलिकप्टर कम्पनीले हेलिकप्टर खरिद गर्ने कुरा थियो । खासमा भित्री सेटिङ र कानुनी प्रक्रिया नमिलेपछि २१ हजार २०१ अमेरिकी डलर तिरेर उडेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

एमआई-१७ सैनिक अभ्यास

एमआई-१७ हेलिकप्टर सैनिक अभ्यासको लागि प्रयोग हुन्छ । केही स्थानमा यात्रु ओसारपसारका लागि पनि प्रयोग गरिएको पाइएको छ । तर अत्यधिक ध्वनिका कारण ती जहाजमा यात्रु ओसारपसार गर्न सहज छैन । 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार ११:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया