बागमती सरकारले सुरु गर्यो एसियाकै पहिलो सुरुङ मार्गको पुनर्निर्माण

एसियाकै पहिलो सुरुङ मार्ग बागमती प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ । बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा रहेको एसियाकै पहिलो सुरुङमार्ग पुनर्निर्माणको शिलान्यास गरेका हुन् । 

नेपालको पहिलो इन्जिनियरको डिजाइनमा निर्माण 
आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा निर्माण भएको र एसियाकै पहिलो मानिएको सुरुङमार्गको पुनर्निर्माणको जिम्मा माउन्टेन इन्फ्रा कम्पनीले पाएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा .सहदेव बहादुर भण्डारीले प्रदेश सरकारले ३ करोड ३६ लाख १३ हजार ८७८ रुपैयाँ लागतमा पुनर्निर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको बताए । 

भण्डारीले पुनर्निर्माण कार्य २०७९ वैशाखसम्म सम्पन्न हुने बताए । प्रदेश दुईको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग विसं १९७५ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा निर्माण भएको हो । उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको स्थानीय  अगुवाहरु बताउँछन् । 

सुरुङ नेपालको पहिलो त थियो नै, त्यतिखेर एसियामै सुरुङमार्ग नभएकोले एसियाकै पहिलो भएको त्यस समय नेपाल आएका भूगर्वविद् टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा समेत उल्लेख गरेका छन् ।  स्विट्जरल्यान्डबाट नेपालको खानीलगायतका भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम् अफ नेपाल’ मा यो सुरुङ मार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।  

चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विसं १९७४ मा चन्द्र शम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो थियो । हाल पहिरोले एकापट्टीको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ । नेपालका पहिलो इन्जिनियर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ ।



पर्यटन प्रवद्र्धन र अध्ययन थलो बनाउँछौं : मुख्यमन्त्री    
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको चुरियामाई सुरुङले इतिहासलाई बचाउने मात्र नभएर पर्यटन प्रवद्र्धनको कामसँगै अध्ययनको विषय पनि बनाउने बताएका छन् । उनले सुरुङमार्ग पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै पर्यटकीय क्षेत्रको विकास र अध्ययनको थलो बनाइने बताए । 


 
आफू पनि यही सुरुङबाट गाडीमै धेरै वर्ष अगाडि हिँडेको स्मरण गर्दै पौडेलले प्रदेश सरकार सुरुङ मार्गको विकासको पक्षमा रहेको बताए । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सुरुङको पुनर्निर्माण गुणस्तरीय र सुन्दरताका साथ निर्माण गरिने उनले दाबी गरेका छन् । प्रदेशलाई नै हरित बागमती प्रदेश बनाउने अभियानमा लागेको बताउँदै उनले सडक निर्माण र पुल निर्माणको कामले तीव्रता पाएको बताए । 



शिलान्यास कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले ऐतिहासिक चुरियामाई सुरुङ निर्माण गर्न लागिएकोमा खुसी व्यक्त गरे । सुरुङ निर्माण भएपछि हेटौंडा उपमहानगरमा पर्यटक पनि बढ्ने मेयर महतको भनाइ छ । 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १५:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया