कोरोना खोप वितरणमा चरम लापरबाही : एक डोज कोभिसिल्ड, अर्को डोज भेरोसेल

नयाँ सडक विशालबजारका एक व्यापारीले गत फागुनमा कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप लगाए । खोप लगाएको २८ दिनपछि दोस्रो डोजको प्रतीक्षा गर्न थाले, तर पाएनन् । एकातिर दोस्रो डोज कहिले पाउने भन्ने अन्योल रह्यो भने अर्कोतिर उनी चीनबाट सामान ल्याउन बेला–बेला गइराख्नुपर्छ ।

चीनले आफ्नो देशमा बनेको खोप लगाएकालाई मात्रै भिसा दिने प्रष्ट पारिसकेको थियो । भारतमा बनेको कोभिसिल्ड खोप लगाएकाले ती व्यापारीलाई चीनले प्रवेश नदिने प्रष्टै थियो । त्यसपछि उनले हालै मात्र दोस्रो डोजको रूपमा भेरोसेल लगाए ।  

‘कोभिसिल्ड दोस्रो डोज कहिले पाउने टुंगो छैन । म त व्यापारी चीन गइराख्नुपर्छ । चीनले पनि आफ्नो देशमा उत्पादन भएको खोप लगाएकालाई मात्र प्रवेश दिने भनेको छ । त्यही भएर मैले त दोस्रो डोज भेरोसेल लगाइदिएँ,’ उनले भने । 

उनलाई एक डोज कोभिसिल्ड र अर्को डोज भेरोसेल खोप लगाउनु हुँदैन भन्ने थाहा नै थिएन । खोप केन्द्रमा स्वास्थ्यकर्मीले पनि केही भनेनन् । डेढ घण्टाजति लाइनमा बसे । पालो आयो । पाखुरामा खोप लगाए, घर फर्किए । 

अचेल उनी निकै गर्वका साथ भन्छन्, ‘म त कडा मान्छे हो । एक डोज कोभिसिल्ड, अर्को भेरोसेल लगाएँ ।’

उनी मात्र हैन, उनीसँगै गएका साथीको पनि कथा त्यस्तै छ । गत चैतमा कोभिसिल्ड खोप लगाए । अहिले भेरोसेल लगाइदिए । खोप लगाउँदा कसैले पनि यो लगाउनु हुँदैन भनेर सम्झाएनन् । ‘यसमा मेरो त के गल्ती भयो र ! लगाउन नमिल्ने भएपछि खोप केन्द्रमा स्वास्थ्यकर्मीले भन्नुपथ्र्यो । हामीलाई त कसैले पनि केही भनेनन्,’ उनले भने । 



एक जना अर्का व्यापारी पनि उस्तै देखिए । केही दिनअघि उनले जोनसन एन्ड जोनसन खोप लगाए । त्यो पनि ठूलै नेताको पावर लगाएर । खोप लगाएपछि उनलाई थाहा भयो, चाइना जान त चीनमै उत्पादन भएको खोप लगाउनुपर्ने हुन्छ । त्यसपछि अब उनी भेरोसेल खोप लगाउने सोचमा छन् । 

उनी भन्छन्, ‘जोनसन एन्ड जोनसन खोप लगाएर चीन जान नपाइने रहेछ । अब भेरोसेल पनि लगाउँछु,’ फरकधारसँग उनले भने । ती व्यापारीलाई जोनसन एन्ड जोनसन खोप लगाएपछि अर्को खोप लगाउनु नपर्ने जानकारी गराइएको थियो । 



फरक–फरक डोज लगाउन हुँदैन ? 

फरकफरक कम्पनीका खोप लगाउँदा कस्तो असर पर्छ भन्ने विषयमा अहिलेसम्म अध्ययन भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले पनि यो विषयमा केही बताएको छैन । तर पनि जोखिम मोलेर फरकफरक डोज लगाउन नहुने विश्व स्वास्थ्य संगठनको प्रष्टोक्ति छ । 

स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो विषयमा अध्ययन गरिरहेको छ । अहिले नै के नतिजा आउँछ भन्न सकिने अवस्था नरहेको परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले बताए । दुईवटा फरकफरक खोप लगाउँदा के हुन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमै अध्ययन भइरहेको उनले बताए ।  

कुनै पनि कम्पनीले दुई खोप मिसाएर लगाउन नभनेको र खोप मिसिँदा के हुन्छ भन्ने विषयमा केही भनिहाल्न सकिने अवस्था नरहेको उनको भनाइ छ । उता, दुई फरक–फरक खोप लगाउन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् । फर्मुला नै फरकफरक हुने भएकाले एउटै कम्पनीको लगाउनुनर्पे उनको भनाइ छ । 

खोप अभियानको क्रममा यस्तो समस्या देखिएमा सम्बन्धित खोप केन्द्रले नै सचेत हुनुपर्ने उनले बताए । ‘अहिलेसम्म यस्तो दुई फरक डोज खोप लगाएको भन्ने जानकारी आएको छैन । यस्तो अवस्था आउन नदिन खोप केन्द्रका स्वास्थ्यकर्मी चनाखो हुनुपर्छ,’ प्रवक्ता पौडेलले भने । 

सुरुमा खोपमा समस्या देखिएको भन्दै केही समयभित्र नै उनीहरूलाई दोस्रो डोज खोप दिइने उनको भनाइ छ । जापानले ओलम्पिक सकिएपछि नेपालमा खोप पठाउने उनले जानकारी दिए । एस्ट्राजेनेकाको १६ लाख डोज यसअघि पहिलो डोज कोभिसिल्ड लगाएकालाई दिइने प्रवक्ता पौडेलले बताए । 

नेपालमा १३ लाख ४८ हजार नागरिक कोभिसिल्ड खोपको दोस्रो डोजको प्रतीक्षामा छन् । भेरोसेल लगाएकाले दुवै डोज नै भेरोसेल नै लगाउनुपर्ने उनको भनाइ छ । जोनसन एन्ड जोनसन एक डोज मात्र लगाउनुपर्ने भन्दै डोस्रो डोजको आवश्यकता नै नपर्ने उनले प्रष्ट पारे । 

विदेश जाने समस्यामा 

युरोप, अमेरिका, अस्ट्रेलिया, चीनलगायतका विकसित देशले आफ्नो देशमा उत्पादन भएको खोप लगाएकालाई मात्र प्रवेश दिइरहेका छन् । नेपालमा अहिलेसम्म भारतमा उत्पादित कोभिसिल्ड, चीनको भेरोसेल र अमेरिकामा उत्पादित जोनसन एन्ड जोनसन खोप लगाइएको छ । चीनले आफ्नो देशमा उत्पादित खोपबाहेक अन्य लगाएकालाई प्रवेश नदिने प्रष्ट पारिसकेको छ । 

त्यस्तै, युरोपियन युनियनले समेत आफ्नो क्षेत्रमा उत्पादित खोपलाई मात्र मान्यता दिएको छ । जसले गर्दा सम्बन्धित देश जानको त्यहीँ उत्पादित खोप नै लगाउनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारी तथा विभिन्न कामले विदेश जाने नेपाली यो नीतिका कारण चेपुवामा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने विश्व स्वास्थ्य संगठनले मान्यता दिएको जुनसुकै खोप लगाएपछि हुने बताउँदै आएको छ । संगठनले खोप पासपोर्ट र आफ्नो देशमा उत्पादित खोप लगाएकालाई मात्र प्रवेश दिने नीति नबनाउन सबै राष्ट्रहरूलाई अनुरोध गरेको छ । 

शक्ति राष्ट्रको यस्तो नीतिका कारण नेपालीहरू आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर थरिथरिका खोप लगाउन बाध्य भएका छन् । यसबारे विश्व स्वास्थ्य संगठनले कडा निर्देशन दिनुपर्ने आवाज उठिरहेको छ ।  

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १६:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया