logo-img

दार्चुला घटनाका दोषीमाथि कारबाहीको माग गर्दै भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेपाली नागरिक जयसिंह धामीको हत्यारालाई कारबाहीको माग गर्दै नेपालस्थित भारतीय 
दूतावासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

संगठनले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको युवा संगठनले जनाएकाे छ । ज्ञापनपज्ञमा भनिएको छ, ‘गत १५ गते नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा ३५ वर्षीया नेपाली नागरिक जयसिंह धामी तुइन तरिरहेका बेलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटेर नदीमा खसालिदिएको घटनाप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तुइन (तार) काटिदिएपछि नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएको भन्दै उक्त कायरतपूर्ण कार्यबाट जयसिंह नदीको बहावसँगै बेपत्ता भई मृत्यु भएको सो संगठनले उल्लेख गरेको छ । 



‘सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले छिमेकी मुलुकका एक नागरिकलाई हत्या गर्ने कार्यप्रति हामी नेपाली युवा घोर निन्दा र भत्सर्ना गर्दछौं,’ युवा संगठनले भनेको छ, ‘यसरी सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट पटक–पटक नेपाली नागरिकहरु प्रताडित हुनु दुःखद, विडम्बनापूर्ण र आपत्तिजनक छ ।’ 

भारतीय सुरक्षाकर्मीले पटकपटक नेपालको सिमा अतिक्रमण गर्ने, अनाधिकृत रुपमा नेपाल प्रवेश गर्ने, नेपाल–भारत आवतजावत गर्ने नेपालीलाई अवरोध गर्ने, कुटपिट गर्नेदेखि गोली हानी हत्या गर्नेसम्मको कार्यबाट मानवअधिकार र अन्तराष्ट्रिय कानुन समेतको ठाडो उल्घंन भएको ज्ञापनपत्रमा जनाइएको छ । 

‘विगतमा पनि गोविन्द गौतमजस्ता थुप्रै युवाहरुले भारतीय ज्यादतीबाट ज्यान गुमाउन पुगेका छन् भने आजसम्म कुनै हत्याराको भारत सरकारले कारबाही गरेको छैन्,’ यस्ता अमानवीय घटनाले दुई देश र दुई देशका नागरिकबीचको सम्बन्धमा समेत प्रतिकुल असर पर्ने उल्लेख गर्दै भनिएको छ, ‘आफ्नो देशको सुरक्षाकर्मीबाट कायरतापूर्ण रुपमा छिमेकी देशको युवालाई हत्या गरिँदा समेत कुनै कारबाही नहुनु, पीडितका परिवारले क्षतिपूर्ति नपाउनु भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकका लागि अत्यन्त लज्जास्पद विषय हो ।’ 



यस्ता घटना घटाउने अपराधीलाई भारतीय सरकारले अविलम्ब कारबाही गर्नुपर्ने सो संगठनको माग छ । 

पत्रमा भनिएको छ, ‘हामी नेपाली हाम्रो राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताप्रति सचेत र संवेदनशील छौँ भन्ने तथ्यलाई स्मरण गर्दै दोषीलाई कडा कारबाही गर्न, सीमा अतिक्रमण बन्द गर्न, सिमानामा हुने ज्यादतीको अन्त्य गर्न, पीडितलाई उचित क्षतिपूर्ति दिन समेत यस राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन भारत सरकारसँग जोडदार माग गर्दछ ।'




 

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार २०:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया