प्रदेश सांसदको आक्रोश : के अब धरहरा–रानीपोखरी भत्काउने ? सगरमाथाको उचाइ घटाउने ?

सरकारले भूमिहीन तथा सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेकोमा प्रदेशसभामा सांसदले आपत्ति जनाएका छन् । 

प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको बाइसौँ बैठकको शून्य समयमा बोल्दै संखुवासाभाका प्रदेशसभा सदस्य तुल्सीप्रसाद न्यौपानेले भूमिहीन तथा सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेर सकुम्वासीको पेटमा लात हान्ने काम गरेको आरोप लगाए । 

उनले अघिल्लो सरकारले गरेका राम्रा काम पचाउन नसकेको भन्दै सरकारलाई अघिल्ला सरकारले बनाएका संरचना समेत भत्काएर देखाउन चुनौती दिएका छन् । 

उनले भने, भूमि समस्या समाधानका लागि बनाइएको आयोगले काम गरिरहेको अवस्थामा खारेज गरेर जनविरोधी कार्यको जतिससुकै निन्दा गरे पनि कम हुन्छ ।’ 
जनताका लागि भनेर गरिएका निर्णय धमाधम खारेज गरेर के गर्न खोजेको भन्दै प्रश्न गरे । ‘जनताको लागि बनेको धरहरा भत्काउने ? रानीपोखरी भत्काउने ? सगरमाथाको उचाइ घटाउन सकिन्छ ?’ न्यौपानेको प्रश्न थियो । 

राम्रा काम उल्ट्याउँदै जाने हो भने देश कालो सुरुङमा जाने उनको टिप्पणी छ । उनले सबै निर्णय उल्ट्याउने र खारेज गर्दै जाने हो भने अरुण तेस्रो फोड्न र उत्तरी नाकालाई कहिल्यै निस्कन नसक्ने गरी नाकाबन्दीको कालोयुगमा धकेल्न चुनौती दिए ।
 
जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बूले भारतको हेपाहा प्रवृत्तिका कारण जनताले दुःख पाएको बताए । भारतीय पक्षले दक्षिणी सिमानामा नेपालीलाई दुःख दिँदै आएको स्मरण गराउँदै उनले धम्क्याउने, तर्साउने र गोली हान्नेसम्मको काम गरेकोमा विरोध जनाए । लिम्बूले जयसिंह धामी तुइन तर्दै गरेको अवस्थामा एसएसबीले तुइन काटेको बारेमा सरकारले नबोलेकोमा आक्रोश व्यक्त गरे । 

सदनमा बोल्दै लिम्बूले जयसिंह धामीको बारेमा नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गर्न पनि आग्रह गरे । संघीय तथा प्रदेश सरकार र संवैधानिक क्षेत्रबाट पनि यसको विरोध हुनुपर्ने उनले बताए ।



खोप चाहियो

प्रदेश सभामा बोल्दै प्रदेशसभा सदस्यहरुले कोरोनाविरुद्धको खोपमा अनियमितता भएको आरोप लगाएका छन् । प्रदेशसभा सदस्यहरुले व्यवस्थित रुपमा खोप कार्यक्रम सञ्चालन नभएको भन्दै अभियान व्यवस्थित बनाउनसमेत माग गरेका छन् ।



राप्रपाकी सांसद इन्दिरा राईले सरकारले उपलब्ध गराएको खोपमा पनि स्वेच्छाचारी र कालोबजारी भएको आरोप लगाइन् ।   

पहिलो डोज खोप लगाएर अर्को डोज नआएको अवस्थामा तत्काल त्यस्ता व्यक्तिलाई खोपको व्यवस्था गर्न राईले आग्रह गरिन् । उनले सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था मिलाउन पनि आग्रह गरिन् । 

नागरिकमा कोरोनाको संक्रमण बढ्दै जाँदा पनि उपचार नपाउने अवस्था आएको स्मरण गराउँदै उनले कोरोनाको उपचार अत्यन्त महँगो भएकाले आमनागरिक उपचारबाट वञ्चित हुँदै गएको सभामा जानकारी गराइन् । खोप आए पनि कतिपय नागरिकमा खोपसम्बन्धी ज्ञान नै नभएको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् ।
 
सुनसरीकी सांसद ज्योति सुब्बाले जनचेतनाको अभावले गर्दा कतिपय पालिकामा नागरिकले खोप लगाउन नपाएको बताइन्  । 

सहर–बजारका नागरिकले खोप लगाएको भए पनि ग्रामीण क्षेत्रका नागरिकमा खोपसम्बन्धी ज्ञान नहुँदा खोप नै नलगाउने गरेको सांसद सुब्बाको भनाइ छ । विद्यार्थीलाई लक्षित गरी खोप कार्यक्रम ल्याउन पनि उनले माग गरिन् ।

शून्य समयमा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले जातका आधारमा भन्दा वर्गका आधारमा आरक्षण हुने भनेर अदालतले दिएको आदेशप्रति आपत्ति जनाइन् ।
 

  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १९:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया