गोरखामा स्क्रब टाइफसका बिरामी बढ्दै

पछिल्लो समय गोरखामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । गोरखाको आरुघाट गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । 

गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् । गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । 

विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, ‘वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म स्क्रब टाइफसका २५ जना सङ्क्रमित पुष्टि भइसकेका छन् ।’

लामो समयसम्म ज्वरो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाका स्वास्थ्य शाखाले स्क्रब टाइफस आश‌कामा परीक्षण गराउँदा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उनले बताए । 

स्वास्थ्य चौकीमा नै आएर उपचार गर्दासमेत ज्वरो धेरै लामो समयमा निको नभएपछि स्वास्थ्य शाखाले स्क्रब टाइफसको किटको प्रयोग गरी परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ ।

सङ्क्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । पछिल्लो केही साता आरुघाट प्राथमिक स्वास्थ्यकेन्द्रमा ज्वरोका बिरामी बढ्न थालेको केन्द्रले जनाएको छ । 



ज्वरो आउने र निको नहुने समस्या बढी देखिएका बिरामीमा स्क्रब टाइफसको किट प्रयोग गरी परीक्षण भइरहेको केन्द्रले जनाएको छ ।

वर्षामा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका प्रमुख श्रेष्ठको भनाइ छ । 



उनले भने, ‘पशु चौपाया घुलमिल हुँदा किर्नाले टोक्ने र त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ ।’

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार २१:३२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया