कर्णालीका मन्त्रीको सम्पत्ति : मुख्यमन्त्रीसँग पाँच हजार कुखुरा, आर्थिकमन्त्रीलाई दाइजोमा जग्गा

कर्णाली प्रदेश सरकारमा आठ मन्त्रीमध्ये केहीले मात्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण बुझाउनेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपाली, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् । अन्य चार मन्त्रीले हालसम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।

ऊर्जा तथा सिँचाइमन्त्री दिनबन्धु श्रेष्ठ, सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले सम्पत्ति विवरण बुझाएका छैनन् । मुख्यमन्त्री शाही र बुढाले ०७४ यता भने सम्पत्ति विवरण अद्यावधिक गरेका छैनन् । सम्पत्ति विवरणअनुसार कसैले दाइजो धेरै पाएका छन् भने कसैले पुर्ख्यौली सम्पत्तिबाहेक अन्य केही सम्पत्ति नै छैन । 

मुख्यमन्त्री शाहीको आम्दानी कुखुरापालन र तरकारी खेतीबाट 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री भएपछि ७ चैत ०७४ मा पेस गरेको सम्पत्ति विवरणमा पाँच हजार कुखुरापालन गरेको र त्यो १० लाखमा खरिद गरेको उल्लेख गरेका छन् । कुखुरापालन गर्ने ठाउँ र ठेगाना उल्लेख गरिएको छैन । त्यस्तै, दुई लाख ५० हजारमा फलफूल तथा तरकारी उत्पादन गर्ने गरेको उल्लेख गरेका छन्, त्यसको ठाउँ र ठेगाना उल्लेख गरिएको छैन ।

मुख्यमन्त्री शाहीको कालिकोटको पचाल झरना गाउँपालिका–९ मा पाँच रोपनी जग्गा रहेको, धनबहादुर शाहीका नाममा २५ हजार वर्गमिटर जग्गा रहेको (नाता उल्लेख नगरिएको), श्रीमती चन्द्राकुमारी शाही नाममा कैलालीको टीकापुरमा दुई लाख ३५ हजारमा १६ हजार ९५० वर्गमिटर जग्गा खरिद गरेको र सुन ६ तोला, चाँदी दुई सय तोला पुख्र्यौली सम्पत्ति रहेको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणअनुसार एभरेष्ट बैंकमा दुई लाख र राष्ट्रिय वाणिज्य बैंकमा पाँच लाख रहेको त्यो तलब तथा व्यापारबाट कमाएको उल्लेख गरिएको छ । त्यस्तै, कृषि सहकारी संस्था (ठाउँ र ठेगाना उल्लेख नभएको) मा संस्थापक सदस्य १० हजार सेयर रहेको, शाही नै अध्यक्ष रहेको सुर्जा मल्टीप्रपोज प्रालिमा १० लाख लगानी रहेको उल्लेख छ । आफ्नो नाममा मारुती कार रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरेका छन् ।



आर्थिक मामिला तथा योजनामन्त्रीलाई दाइजोमा जग्गा

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले श्रीमती अञ्जु दहितका नाममा दाइजो स्वरूपमा बर्दियामा जग्गा प्राप्त गरेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–६ मा पाँच लाखमा श्रीमती अञ्जुका नाममा ३३८ दशमलव ६३ वर्गमिटर जग्गा खरिद गरेका छन् । अञ्जुका नाममा सोही नगरपालिकाको वडा नम्बर ११ मा ३४० वर्गमिटर जग्गा अञ्जुको आमाबाट बकस पाएको सोही वडामा १३ सय ५५ वर्गमिटर अञ्जुको आमाबाट बकस पाएको सोही वडामा ३९३५ दशमलव ४८ वर्गमिटर जग्गा नौ लाख ६० हजारमा खरिद गरेको सोही नगरपालिका वडा नम्बर ५ मा ३३८६ दशमलव ३० वर्गमिटर जग्गा पाँच लाख ऋण सापटीमा खरिद गरेको, श्रीमतीको नाममा दुई तोला सुन माइतीबाट दाइजो प्राप्त भएको उल्लेख गरेका छन् ।



त्यस्तै, शर्माको एनआइसी एसिया बैंकमा नाममा एक लाख ५२ हजार ४२५ रुपैयाँ पारिश्रमिक बैंकमा बचत रहेको, अञ्जुको नाममा साइन रेसुंगा डेभलमेन्ट बैंकमा पाँच लाख ३९ हजार चार सय ५५ रुपैयाँ सेवासुविधा, जग्गा बिक्री तथा व्यावसायिक आय भएको, श्रीमतीकै नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ३३ हजार रुपैयाँ बचत रहेको त्यो पनि व्यावसायिक र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् । शर्माले श्रीमतीको नाममा आस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १० हजार कित्ता सेयर रहेको, श्रीमतीका नाममा बारबर्दिया नगरपालिका काष्ठ फर्निचर उद्योगसमेत रहेको उल्लेख गरेका छन् ।

मन्त्री नेपालीको बोयर ब्राखापालनदेखि फर्निचर उद्योग

आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले बुझाएको सम्पत्ति विवरणमा श्रीमान् रामबहादुर चपार्इंका नामका लेकबेसी नगरपालिका–४ मा आठ कठ्ठा जमिन रहेको, ऐलानी जग्गामा दुईतले घर बनाएको उल्लेख गरेकी छन् ।

सुर्खेतको लेकबेसी नगरपालिका–१ मा २७३२ दशमलव ४२ वर्गमिटर जग्गा रहेको, एनआइसी एसिया बैंकमा एक लाख ५० हजार रुपैयाँ नगद रहेको, प्राइम सहकारीमा ६ लाख ७१ हजार ८१२ रुपैयाँ बचत रहेको उल्लेख छ । १० हजार रुपैयाँमा नयाँ कृषि सहकारीमा एक कित्ता सेयर खरिद, प्राइम सहकारीमा एक लाख ४० हजार पाँच सय रुपैयाँमा १४ सय पाँच कित्ता सेयर खरिद, जलविद्युत तथा विकास कम्पनीमा पाँच हजार ६ सयमा ५६ कित्ता सेयर खरिद, प्राइम सहकारीबाट आठ लाख १० हजार रुपैयाँ ऋण लिएको, नव जनशक्ति सहकारीबाट एक लाख रुपैयाँ ऋण, व्यक्तिगत दुई लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेकी छन् ।

श्रीमान् रामबहादुरका नाममा एउटा ट्याक्टर, मोटरसाइकल, बोयर जातको ब्राखापालन, सुर्खेतको लेकबेसी नगरपालिकामा फर्निचर उद्योग रहेको उल्लेख छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्नसिंह बुढाले ०७४ सालमै बुझाएको सम्पत्ति विवरणमा डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा हजारौ वर्गमिटर जग्गा पुख्र्यौली सम्पत्ति, १५ तोला सुन र एक किलो चाँदी रहेको उल्लेख गरेका छन् ।

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १७:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया