logo-img

कांग्रेसको १४ औं महाधिवेशन : पार्टी सुदृढ बनाउने देखिएनन् दाबेदार !

नेपाली कांग्रेसमा सभापतिका दाबेदारहरू पहिलोदेखि तेस्रो तहसम्मका नेताहरू छन् । 

उम्मेदवारी घोषणा गर्नेमा तेस्रो तहका नेता कल्याणकुमार गुरुङदेखि दोस्रो तहका विमलेन्द्र निधि, प्रकाशमान सिंह र पहिलो तहका गोपालमान श्रेष्ठसम्म छन् । 

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा.शेखर कोइराला लगायतले पनि सभापतिमा दाबेदारी पेस गरे पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ । 



कांग्रेसको महाधिवेशन पुसको ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । 

महाधिवेशन कार्यतालिका हेरफेर नभए १३ गते नै कांग्रेसको १४ औं सभापति चुनिने छन् । उनकै नेतृत्वमा कांग्रेस मुलुक संघीय संरचनामा गएपछिको दोस्रो पटक हुने स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने छ ।

निर्वाचन हुन करिब एक वर्ष बाँकी छ । जुन निर्वाचनमा पहिलो शक्ति बनाउनु निर्वाचित हुने सभापतिमाथि नैतिक दबाब पर्ने छ नै अर्कोतिर लोकतान्त्रिक समाजवादको विचारलाई कांग्रेसका प्रत्येक नेता कार्यकर्ताको मन मस्तिष्कमा स्थापित गराउनुपर्ने दायित्व छ ।



यी हुन् १४ औं सभापतिको मूल दायित्व

राजनीतिक विश्लेषक डा.विष्णु दाहालका अनुसार कांग्रेसको संगठनभित्र अनुशासनहीनता छ । पार्टीले अङ्गीकार गरेको समावेशीता र समानुपातिक राजनीतिक सिद्धान्तको सफल कार्यान्वयन हुन सकेको छैन । 



समय सापेक्ष मतदाता अनुकूल पार्टीको राजनीतिक कार्यदिशासँगै सांगठानिक संरचना बनाउन बाँकी छ । पञ्चायतकालदेखिको अर्थ नीति परिमार्जन भएको छैन । खुल्ला बजारको नीतिलाई चुनौति दिने गरी कांग्रेसभित्रै डन, ठेकेदार र दलालहरूको पहुँज फैलिँदो छ । 

कांग्रेस संस्थापक बिपी कोइरालाको विचारलाई २१औं शताब्दिमा खाली जमिनसँग मात्रै जोडेर ब्याख्या गरिने गरिएको छ । जबकि, जल, जंगल र जडिबुटीलाई पर्यावरणमा आधारित उत्पादन अर्थव्यवस्था जोड्नुपर्ने दायित्व रहेको डा.दाहाल बताउँछन् । 

यससँगै लोकतान्त्रिक समाजवादको विचारधारालाई बोक्ने क्षमतावान नेतृत्वलाई पार्टी र संसद्मा देख्न पाउने गरी व्यवस्थापन गर्नुपर्ने पनि भएको छ ।

अर्का राजनीतिक विश्लेषक डा.रमेश ढुंगेल राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने शक्तिशाली दलको रूपमा स्थापित गर्नु १४औं सभापतिको कर्तव्य हुने बताउँछन् । 

उनका अनुसार अहिले कांग्रेस प्रभावहीन दल देखिएको छ । ‘कांग्रेसको १४औं महाधिवेशनको गतिविधि भइरहेको छ, फेरि कांग्रेस सत्ताको नेतृत्व गरिरहेको दल पनि हो । तर प्रतिपक्षी दल नेकपा एमालेको विधान अधिवेशनको सर्वत्र चर्चा छ । कांग्रेस के गर्दैछ भन्ने थाहा नहुने गरी भयो’, डा.ढुंगेलले फरकधारसँग भने, ‘राष्ट्रिय राजनीतिमा प्रभावशाली दलको रूपमा स्थापित गर्नु त पर्‍यो ।’

मुलुकको ठूलो लोकतान्त्रिक दलको परिचय कांग्रेसको हो । तर, वैचारिक रूपमा कांग्रेसको धरातल कमजोर रहेको चर्चा छ ।

अग्रज राजनीतिज्ञ कृष्णविक्रम नेम्बाङलाई त कमजोर मात्रै होइन, कांग्रेस नेता कार्यकर्ताहरू वैचारिक रूपमा शून्य लाग्छ । 

उनी भन्छन्, ‘जति वैचारिक रूपमा नेता कार्यकर्ता परिपक्व हुन्छन्, त्यति पार्टी संगठन बलियो र मजबुत हुन्छ ।’ तर, त्यस्तो नभएकोप्रति उनको चिन्ता छ ।

दायित्व पूरा गर्नेमा सभापतिका दाबेदारहरूमाथि शंका

कांग्रेसमा अनुशासनहीनता देखिने निर्वाचनको समयमा हो । पार्टीकै आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने चलन सामान्य जस्तै छ । मत पनि प्रतिस्पर्धी उम्मेदवारलाई दिने पनि हुने गरेको कांग्रेसकै अनुशासन समितिले जनाएको छ । जसलाई अन्तर्घात भनिँदै आएको छ ।

सभापति पदमा उम्मेदवारी घोषणा गरेकामध्येका नेता गोपालमान श्रेष्ठका अनुसार पार्टीमा अन्तर्घातको सुरुवातकर्ता गिरिजाप्रसाद कोइराला हुन् । जसले आफ्नै पार्टी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद भट्टराई हराउन एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत दिन आह्वान गरेर अन्ततः पराजित गराएर छाडेको श्रेष्ठ बताउँछन् ।  
यसरी सुरु भएको अन्तर्घात हाल कांग्रेसमा व्याप्त छ । यसलाई हटाउनु १४औं सभापतिको दायित्व छ ।  

तर, राजनीतिक विश्लेषक डा.दाहाल भन्छन्, ‘अहिले जति सभापति पदमा दाबेदार देखिए, उनीहरू औंल्याएका दायित्वहरू निर्वाह गर्न सक्ने क्षमताका देखिन्नन् ।’
वर्तमान सभापति देउवामा पनि क्षमता नदेखिएको उनको टिप्पणी छ । 

१४औं महाधिवेशनमा सभापतिको दौडमा श्रेष्ठ, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ देखिएका छन् । देउवासहित पौडेल, कोइराला, सिंहलगायतका नेताहरू पनि सभापति पदको दौडमा देखिने भएका छन् । 

यी अनुहारहरूबाट सक्षम, सबल र सुदृढ कांग्रेस बनाउन गर्नुपर्ने दायित्वहरू पूरा नहुने डा.दाहालको ठम्याइ छ ।

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १०:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया