काठमाडौं उपत्यकामा दसैँलक्षित खसी–बोका भित्रिन थालेका छन् । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी–बोका किन्नेको भीड बढ्न थालेको छ ।
कोरोना संक्रमण फैलिनुअघिका वर्षझैँ पर्याप्त मात्रामा खसी–बोका नआएका कारण यस वर्ष मासुको मूल्यमा वृद्धि आउने देखिएको छ ।
हिमाली जिल्लाबाट भेडा–च्यांग्रा पर्याप्त नआए पनि खसी–बोका काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।
अघिल्ला वर्षमा जिउँदो च्यांग्रा ७–८ सय रुपैयाँमा पाइने गरेकोमा अहिले १३–१४ सय रुपैयाँ मूल्य पर्न थालेका उपभोक्ताले गुनासो गरेका छन् ।
नेपालमा आउने च्यांग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सीमावर्ती गाउँबाट पनि आउँछ । कोरोना संक्रमणको जोखिमको कारण सीमानाका नखुल्दा च्यांग्राको मूल्य बढेको छ ।
काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी–बोका आउन थालेको छ । जिउँदो खसी–बोका सरदरमा ७ सय रुपैयाँदेखि ८ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीले बताएका छन् ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसी–बोका बिक्री गर्दै आएको छ । कम्पनीले भोलि शुक्रबारबाट खसी–बोका बिक्री गर्ने बताइसकेको छ ।
यसबाहेक फुलपातीको दिनदेखि काठमाडौंका चोकहरुमा किसान आफैँ आएरसमेत खसी–बोका बेच्ने गर्छन् । काठमाडौंमा दसैँको बेला खसी–बोकाको मासु ११ लाख किलोभन्दा बढी खपत हुने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।