अब शक्तिको पछाडि विकास कुद्ने परम्परा अन्त्य हुन्छ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिशाली, बोली बिक्ने र कलम चल्नेका पछाडि मात्रै विकास कुदेकोले त्यसको प्रतिफल नआएको बताएकी छिन् । 

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले अब शक्तिको पछाडि विकास कुद्ने परम्परा अन्त्य हुने दाबी गरिन् ।  

शब्दकै आधारमा स्मार्ट सहर, बस्ती विकासको बहस हुने गरेको तर्क गर्दै उनले अनुसन्धान र आवश्यकताका आधारमा विकास हुनुपर्ने बताइन् । उनले भनिन्, ‘दमकमा ३–४ अर्बमा बनेको भ्युटावरको उपलब्धि के, गरिबी घटाउन त्यसको भूमिका के, जनताको जीवनस्तर उकास्न त्यसले के गर्छ ?’

दुई लाइन पनि अनुसन्धान नभई शक्तिकाे बलमा यस्ता कार्यक्रम आएको उल्लेख गर्दै झाँक्रीले भनिन्, ‘हाम्रो परम्परा पनि त्यस्तै छ, हामी ताली बजाउने पनि भइहाल्छौँ, तर त्यसको लाभांश राज्यले कति पाउँछ भन्ने हिसाब हुनुपर्छ ।’
 
केपी ओलीका पालामा देशभर एकसाथ शिलान्यास भएका ६० अर्बका योजनामा स्रोतको सुनिश्चितता नभएको दाबी गर्दै उनले भनिन्, ‘भ्रष्ट्राचार, अनियमितताकै लागि यस्ता काम हुन्छन्, ‘७० करोडकै’ लागि ती काम हुन्छन् ।’

उनले बनिबनाउ पार्टीमा विद्रोह गरेर कठिन यात्रा तय गरेको भन्दै उनले मुद्दाका आधारमा सफल हुने दाबी गरिन् । ओली एक्लै हिँड्ने सोचमा रहेको भन्दै उनले ओलीकै कारण पार्टीमा फुट आएको आरोप लगाइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, जिल्ला सचिव दीपक गौतम, नगर कमिटी अध्यक्ष दयासागर श्रेष्ठलगायतले मन्तव्य राख्दै एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउने दाबी गरे । 



कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा, उपकुलपति भोला थापा, कांग्रेस क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १७:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया