सहकारी विभागले विगत दुई वर्षमा एक सयभन्दा बढी सहकारी एकआपसमा समायोजन गरिएको जनाएको छ । दर्ता भएर लामो समयसम्म सेवा प्रदान गर्न नसकेका सहकारीलाई समायोजन गरिएको हो ।
समान उद्देश्य र एउटै कार्यक्षेत्र भएका काठमाडौं उपत्यका र उपत्यकाबाहिरका सयभन्दा बढी सहकारी समायोजन गरी ५० बनाइएको हो ।
एकीकरण तथा विभाजन निर्देशिका, २०७७ अनुसार फरक–फरक सहकारी एक हुन पाउँछन् । यसरी एक हुन चाहने सहकारीले विभागमा निवेदन पेस गर्नुपर्ने कानुनी प्रावधान छ । सोही निर्देशिकाको आधारमा सहकारी एकीकरण भएका हुन् ।
हाल देशभरि ३० हजार सहकारी छन् । समायोजन हुनेमा सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन् ।
संख्यात्मक रुपमा सहकारी खुल्ने, तर सेवा प्रवाहमा पारदर्शी नभएपछि विभागले संख्या घटाएर गुणस्तरीय सेवा दिने उद्देश्यका साथ एकीकरणको काम अघि बढाइएको विभागले जनाएको छ ।
बाध्यकारी बनाएर विभागले एकीकरण गर्न नमिल्ने हुँदा सहकारी नै एकआपसमा सहमति गराएर प्रक्रियामा आउनुपर्ने भएकाले दुई वर्षमा थोरै मात्र एकीकृत भएका हुन् ।
काठमाडौं महानगरपालिकाले पनि संवैधानिक व्यवस्थालाई आधार मान्दै आफ्नो अधिकार क्षेत्रभित्र रहेका सहकारीलाई एकआपसमा एकीकरण गरी संख्यात्मक रूपमा कम गर्ने काम अघि बढाएको छ ।
हाल कामपामा एक हजार ८४९ सहकारी संस्था छन् । उक्त संख्या घटाएर ७०० बनाउने योजनाका साथ कामपा लागिपरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।