‘जबर्जस्ती प्रधानन्यायाधीश हट्न सक्दैन, प्रधानन्यायाधीशले पनि संविधानमाथि  ज्यादती गर्न पाइँदैन’

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूमाथि लागेको अवाञ्छित लाञ्छनाको जवाफ इजलासबाट पन्छिएर दिनुपर्ने बताएका छन् । 

पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको उनले औंल्याए । 

अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको समेत उनले बताए । प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने उनले जनाए । 

प्रधानन्यायाधीश पनि आफ्नो आचारसंहिता भित्र बस्नुपर्ने भन्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले भने, ‘हुल र गुटले हुँदैन, विधिसम्मत चल्नुपर्छ, न्यायसम्मत चल्नुपर्छ । अहिले राजनीतिक पार्टीले बुझ्नुपर्ने के हो भने यो पात्रले गरिरहेको कुरा जायज हो कि होइन भन्ने कुरा हेर्नुपर्छ । कसैले म पीडित हुन्छु भनेर, केपी अथवा गठबन्धन सरकारले भन्ने कुरा हो ? उहाँको कार्यहरु वस्तुनिष्ठ तवरबाट ठीक हो कि होइन भन्ने कुराको कि निष्पक्ष जाँच गरेर हेर्नुपर्यो, कि त्यो कुराको गहिराइमा पुग्नुपर्यो ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई हटाएका कुराहरु कानूनसम्मत नभएको र ती न्यायाधीशहरूले कानूनसम्मत काम नगरेको बताउँदै उनले प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादती गर्न नपाइने बताए । 

‘लोकमानलाई हटाएका फैसलाहरू कानूनसम्मत थिए ? ति न्यायाधीशले गरेका कामहरु विधिसम्मत भन्न मिल्छ ? त्यस्ता फैसलाहरू सर्वोच्चमा राखेर लोकमानलाई संसदले हटाउनु पथ्र्यो की अदालतको फैसलाले हटाउनुपर्थ्यो ? जबर्जस्ती कसैले पनि हटाएर प्रधानन्यायाधीश हट्न सक्दैन, तर प्रधानन्यायाधीशले संविधान, कानूनमाथि ज्यादती गर्न पाइँदैन, प्रधानन्यायाधीश आफ्नो आचारसंहिता भित्र बस्नुपर्छ । प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य मान्यता, नैतिकताका बारेमा सोच्नुपर्छ, त्यसको रिप्लेक्शन देखिनुपर्छ,’ उनले भने । 



पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने बताए । रावणको अहंकारका कारण रामायणको युद्ध भएको प्रसंग निकाल्दै उनले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्ने जनाए । 

‘रावणको अहंकारका कारण रामायणको युद्ध भएको हो, तर अहिले त्यो अहंकारको बेला होइन । अहिले सुझबुझको बेला हो,’ उनले भने । 



प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने जनाउँदै उनले गल्तीहरु वस्तुनिष्ठ भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताए । 

‘राजनीतिक पार्टीहरुले प्रधानन्यायाधीशलाई हटाउने भनेको कुरा चानचुने कुरा होइन । प्रधानन्यायाधीशले गल्ती गर्नै पाउँदैन, प्रधानन्यायाधीशले गरेका गल्तीहरु वस्तुनिष्ठ छन् भने सबै राजनीतिक दलहरुले छलफल गरेर एउटा निकास लिन सक्नुपर्छ । महाअभियोगले केही गर्न सक्दैन भन्ने हो भने त्यसले निकास दिन सक्दैन,’ पूर्व प्रधानन्यायाधीश पराजुलीले भने । 

पूर्व प्रधानन्यायाधीश पराजुलीले निकासका दुई वटा उपाय रहेको बताए । पहिलो, आरोपको छिनोफानो नहुन्जेल बिदामा बस्ने र दोस्रो पन्छिएर अदालत सञ्चालन हुन दिने । 

अब पनि न्यायाधीशहरूले आफ्नो गल्ती महशुस गर्न नसके त्यो भन्दा ठूलो बिडम्बना अर्को नहुने बताउँदै पूर्वप्रधानन्यायाधीश पराजुलीले न्यूज एजेन्सी नेपालसँग भने, ‘न्यायाधीशले  पनि मेरो केही गल्ती छैन भनेर महशुस गर्न सकेन भने मूर्खता र विडम्बनापूर्ण हो । कहिले काहिँ न्यायाधीशले आफूमाथि अवाञ्छित लाञ्छना लाग्छ भने पन्छिएर त्यसको जवाफ दिनुपर्छ । न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी हुन्छ ।’ 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरूको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने तर्क उनले गरे । न्यायालय, पद्धति र अदालतको सेवा सु–सञ्चालन गर्नको लागि प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोपहरू चिरफार नहुँदासम्म इजलासमा बस्न नहुने उनले बताए ।


  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १४:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया