प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

बिहीबार पार्टी कामको शिलशिलामा धनगढीमा पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरूबीच कुनै छलफल नभएको स्पष्ट पारेका हुन् । 

उनले आफू निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरू पनि व्यस्त रहेका कारण पाँच दलको बैठकसमेत बस्न नसकेको उल्लेख गरे । 

‘हामीले त छलफल नै गरेका छैनौँ त्यसबारेमा हामीले । महाअभियोग बारेमा केही प्रवेश नै गरेको छैन । छलफल नै भएको छैन । केही भएको छैन । म त बाहिरको बाहिर नै छु । अहिले हाम्रो पाँच दलको बैठक नै बस्न सकेको छैन,’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आएको आरोप लगाए । ओलीले रिस साँध्नका लागि सबै न्यायाधीशहरूलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उनले बताए । ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उनको भनाइ छ । 

ओलीले नै सबैथोक बिगारेको उनले बताए । ‘केपी ओलीजीले साराथोक बिगार्नुभएको हो । र, उहाँले न्यायपालिकामाथि अनावश्यक रूपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो । न्यायपालिकालाई स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न दिनुपर्ने कुरामा उहाँले रिस आफ्नो साध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्ने उहाँले जुन ढंगले भूमिका खेलिरहनुभएको छ, उहाँको अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै सिस्टमलाई भत्काउने यो प्रवृतिकै उपज हो,’ नेपालले भने ।



आउने एकीकृत समाजवादीले चुनावमा अरू पार्टी सँग गठबन्धन गर्ने पनि बताए । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उनले बताए । 

अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श सुरु गर्ने पनि उनले उल्लेख गरे । नेपालले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गरे । उनले न्याय र सत्यको आवाज बुलन्द गर्नका लागि कलम चिन्ह नै जनताले रोज्नुपर्ने अवस्था बनिसकेको बताए । 




  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १३:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया