logo-img

लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ । मर्मतका लागि भन्दै बिहीबारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो । विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुला गरेको थियो । 

तर, छ महिनापछि आवेदन खुलेसँगै एकैचोटि चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए । उनले लाइसेन्स आवेदन खुला गर्नासाथ करिब ९–१० लाख मानिसले एकैचोटि फारम भर्ने प्रयास गर्दा बुधबारदेखि सर्भर पूर्ण रुपमा बन्द रहेको बताए । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जतिसक्दो चाँडो आवेदन खुलाउने उनले बताए । 



सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन् । यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ । उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । 

विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरुको पालो पहिले आउने बताए । उनले हालै आवेदन दिएकाहरुको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए । 

विभागले हाल नयाँ मापदण्डअनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १७:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया