logo-img

‘द फर्च्युन मेन : केही काल्पनिक लेपसहितको मेरो आफ्नै कथा हो’

सोमालियामा जन्मिएकी लेखक नादिफा मोहम्मदले उनको उपन्यास २०२१ को बुकर प्राइजका लागि ‘सर्ट लिस्टेड’ भएको विषयमा कुरा गरेकी छन् । ‘द फर्च्युन मेन’ उनको तेस्रो उपन्यास हो । यो उपन्यासमा उनले पानीजहाजमा काम गर्ने कर्मचारी महमुद माटनको कथालाई उतारेकी छन् । माटनमाथि १९५२ मा कार्डिफमा भएको एक घटनामा हत्याको आरोप लागेको हुन्छ । लेखिका नादिफा १९८१ मा हार्गेसामा जन्मेकी हुन् । उनी पहिलो ब्रिटिस-सोमाली लेखक हुन्, जसले बुकर सर्टलिस्टमा आफ्नो नाम चढाउन सफल भयो । उनका अघिल्ला दुई उपन्यासमा ‘ब्ल्याक माम्बा ब्वाई’ (२०१०) र ‘द अर्कार्ड अफ लस्ट सोल्स’ (२०१३ रहेका छन् ।

तपाईंको उपन्यास बुकरको सर्टलिस्टमा परेको थाहा पाउँदा तपाईं के गरिरहनुभएको थियो ? 

म त्यसबखत मेरी आमासँग बसिरहेकी थिएँ, उनको हेरचाह गरेर । मेरो सम्पादकले फोन गरिन् र ठूलो समाचार छ भनिन् । त्यो सुनेपछि हामी दुवै झट्टपट्ट नाच्यौं । केहीबेरमा त म पुनः आमाको हेरचाह गर्न थालिहालेँ ।



द फर्च्युन मेन बेलायतको सेरोफेरोमा लेखिएको तपाईंको पहिलो उपन्यास हो, जहाँ तपाईंले आफ्नो जीवनको ठूलो हिस्सा बिताउनुभएको छ । के त्यो १९३० को दशकमा यमन र सोमालियामा भएको गृहयुद्धको बयानलाई अलग ढंगमा भन्न खोजिएको हो ?

निश्चित रूपमा । यो देशको सेरोफेरोमा एउटा उपन्यासको ‘सेटिङ’ गर्दा धेरैथोक नजिक भएको महसुस हुने रहेछ । मलाई लाग्छ, सोमाली जनता आफ्नो व्यक्तिगत जीवनका कुरा बाहिर ल्याउन चाहँदेनन् । यसले गर्दा गम्भीर रूपमा घटना पस्कन गाह्रो पर्छ । यहाँ (बेलायत) मलाई चरित्रहरूका बारेमा बुझ्न सहज छ, पहिलाको तुलनामा ।

तपाईंले टिप्नु भएको पात्र महमुदको आन्तरिक संसार विश्वसनीय र स्पष्ट थिएन, एउटा त्रासदीको कथा थियो त्यो ?



के म त्यसो गर्ने कार्यबाट चुकेको थिएँ र ? जानेर होइन । तर, मेरा बाबुसमान रहेका कारण महमुदलाई म राम्ररी चिन्छु । उनीहरू एउटै सहरमा जन्मिएका थिए । उनीहरू यो देशमा एकै समय आइपुगेका थिए, पानीजहाज चलाउने व्यक्तिका रूपमा । जब म उपन्यास लेख्नका निम्ति अनुसन्धान गर्न लन्डन र कार्डिफको वृद्ध नाविकहरूको समाजमा पुगेँ, तब मलाई तातो पानीमा फर्किएको अनुभूति भयो । उनीहरू हरेक ढंगमा एकै थिए, छडी लिएर हिँड्नुपर्ने, उस्तै आत्मा र उत्साह पनि उस्तै थियो । तिनीहरू विशेषखालका मानिस थिए । तिनीहरू विद्रोही थिए । नत्र त तिनीहरू आफ्नै घरमा परिवारसँगै पशुपालन गरेर बसिरहेका हुन्थे, महमुदले जस्तै हार्गेसामा पसल चलाएर बसिरहेका हुन्थे । ती खतरासँग खेल्न रुचाउँथे, मेरा बुवाजस्तै । तिनलाई प्रभाव पार्न पनि सजिलो थियो । यो उनीहरूको भ्रमणकारी आदतका बारेमा रहेको छ । यो त्यो रहस्यका बारेमा रहेको छ, आफ्नै शर्तमा जीवन बिताउनेका बारेमा रहेको छ । मेरो पनि त्यस्तै आन्तरिक चाहना थियो, त्यसैले मैले आफ्नै कथा लेख्ने प्रयत्न गरेको हुँ ।

तपाईंका बारेमा थप केही बताइदिनुस् न !



म हार्गेसामा जन्मिएँ र चार वर्षमा लन्डन पुगेँ । मेरा बुवालाई सोमालिया देश डुब्दै गएको महसुस भयो । त्यो समय, त्यहाँ निरंकुशतन्त्र थियो । केही वर्षपछि गृहयुद्ध सकियो र हाम्रो घर भएको सहरमा दक्षिण अफ्रिकाका भाडाका सिपाही र सोमाली सेनाले अतिक्रमण गरे । हामीले गृहयुद्ध सुरु हुनुभन्दा केही समयअघि नै सोमालिया छाड्यौं । म त्यसबखत बीच बाटोमा थिएँ, न त शरणार्थी न त आप्रवासी ! त्यहाँ मेरा सबै स्मृति हराएका थिए । बाहिर निस्कने बाटो थिएन । मलाई लाग्थ्यो, हामी फर्कनुपर्नेछ । त्यसपछिका दिनहरूमा समाचारहरूमा सोमालिया खुबै छाउन थाल्यो । त्यहाँको आतंक र अस्थिरताले हामीलाई फर्कन दिएन । द फर्च्युन मेनमा मैले पहिलो पटक सोमालिया छाड्दाको समयलाई स्मरणमा ल्याउने र कल्पनाको लेप लगाउने प्रयास गरेको छु ।

तपाईंलाई साहित्यमा प्रभाव पार्ने मुख्य लेखक को हो ?

टोनी मरिसन एक प्रमुख लेखिका हुन् । मलाई लाग्छ, अरुन्धती रोयले शक्तिशाली र शक्तिहीनहरूको जीवनका बारेमा लेखेका कुरा अनि उनको जीवनशैलीले पनि मभित्र बलियो प्रभाव पारेको छ । मलाई पुस्किन पनि मन पर्छन् । मलाई आध्यात्मिक (मेटाफिजिकल) कविता पनि मन पर्छ- जोन डन, साम सेल्भनका कविता । निकै प्रभाव परेको छ क्लाउडी म्याककेको पनि, जसले १९२० र ३० को दशकमा लेखे । उनी कम्युनिस्ट थिए र उग्र बोहेमियन थिए । उनको पहिलो उपन्यास ‘होम टु हार्लेम’ (१९२८), उनले ट्रोट्स्कीले अफ्रिकन-अमेरिकनको सामाजिक राजनीतिबारे लेख्न प्रेरणा दिएपछि लेखेका थिए । तर उनले यसमा मिठासपूर्ण कुरा, रमाइलोमात्र होइन अश्लीलतासमेत लेखेका छन् । त्यसले मलाई निकै प्रभाव पार्‍याे । 

हाल के लेख्दै हुनुहुन्छ ?

म बेलायतमा अड्किएकी छु । केही समकालीन, केही फरक द फर्च्युन मेनभन्दा, केही महिलाका बारेमा, किशोरीका बारेमा र सोमाली परिवार, जो त्यहाँबाट भौतिक रूपमा बाहिरिए पनि अन्तरहृदयमा त्यहीँ छ । बेलायतको आधुनिक समय निकै तीव्र र कठोर छ । केही अनौठा कुरा र उत्तरऔपनिवेशिक मनोविज्ञानबारे सोचिरहेको छु । एक कालोजाति, एक मुस्लिम हुनुका नाताले देशलाई हेर्ने र बुझ्ने अनि आगामी दिन कस्तो हुँदै छ भन्ने हिसाब पनि फरक छ । बाल आप्रवासीलाई कुनै च्यानलमा धकेल्न खोजिँदा हामीले रोकिएर सोच्नु जरुरी हुन्छ । मेरा बाबुजस्तै सोमालिया कता जाँदै छ र बेलायत कता हिँड्दै छ भन्नेबारे पनि मलाई चिन्ता लाग्छ । सायद म एक अलग देशबाट आएको हुनाले पनि यस्ता तथ्यसँग मेरो सम्बद्धता बढी हुन पुगेको छ ।

तपाईंको नयाँ पुस्तकले शीर्षक पाइसकेको छ ?

छैन ।

तपाईं भन्दै जानुस् न, हामी समाचार ‘ब्रेक’ गर्छौं... !

यसलाई ‘ब्रोकन हार्ट सिन्ड्रोम’ भन्छन् ।

‘ब्रोकन हार्ट सिन्ड्रोम’ बारे केही बताइदिनुस् न !

मलाई लाग्छ, हामी सबैले यसलाई अनुभव गरेका छौं, विशेषगरी आप्रवासीले र शरणार्थीहरूले । यो भौतिक र स्वास्थ्य अवस्थाको कुरा हो । विभिन्न दबाबयुक्त कारणले कुनै ठूलो विपद् आइपर्दा हार्टअट्याक हुन सक्छ । उपन्यासको नायक (प्रोटागोनिस्ट) बालचिकित्सक हुन्छ, उनकी आमा पनि हुन्छिन् । उनीहरु विभिन्नखाले ब्रोकन हार्ट सिन्ड्रोमको सिकार भइरहेका हुन्छन्, हामी सबैमा त्यो समस्या हुन सक्छ । म बेलायतका बारेमा सोच्ने गर्छु, त्यो ब्रोकन हार्टको अवस्थाले कहाँ पुर्‍याउला...!

यतिखेर तपाईं के पढिरहनु भएको छ ?

सोफी क्याम्पबेलको ‘ब्रेकफास्ट एट ब्रोन्जेफिल्ड’ (खासमा यो उपनाम हो) । यो ब्रोन्जेफिल्डको महिला कैदखानाका बारेमा छ, जहाँ हालै एकजना किशोरीले हेलचेक्राइँमै जन्म दिएकाले मरेको बच्चाको कथा छ ।

तपाईंले हालैका समयमा पढेको लेखकको पहिलो (डेब्यु) र राम्रो लागेको पुस्तक कुन हो ?

आयन्ना लोयड बान्वोको ‘ह्वेन वी वेर बर्ड्स’ । यसको सेरोफेरो ट्रिनिडाड हो, तर यसको आख्यानात्मकता र लेखनशैली भव्य छ । यो कसरी लेखिएको छ भन्ने कुरा नै अद्भूत छ । जादुमय शैली छ यसमा ।

(द गार्जियनबाट अनूदित तथा सम्पादित ।)

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ८:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया